मुगुमा हत्या : बाहिरबाट ताल्चा लगाएर हत्यारा फरार

मुगुमा हत्या : बाहिरबाट ताल्चा लगाएर हत्यारा फरार

काठमाडौं : मुगुको छायाँनाथ नगरपालिकामा दुधे बालक सहित एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ।

छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँका २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।

घटनामा सामूहिक संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरे पनि हत्या कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उनले बताए। हत्याराहरूले घर भित्रै हत्या गरिसकेपछि बाहिर चाबी लगाएर हिँडेको अनुसन्धानका क्रममा खुल्न आएको डिएसपी थापाले जानकारी दिए।

घटना बुधवार रातीको भए पनि शुक्रवार बिहान मात्रै गाउँलेले थाहा पाए लगत्तै प्रहरीलाई खबर गरेका थिए। छायाँनाथ नगरपालिका ६ का वडा अध्यक्ष खेमबहादुर रावलका अनुसार घटना निकै विक्षिप्त प्रकृतिको रहेको बताए।

मृतक श्रीदेवीको शव भान्छा कोठामा भेटिएको छ भने दुई जना छोरा, छोरीको शव ओछ्यानमा र अर्का दुधे बालकको शव डोकाले छोपेको अवस्था भेटिएको छ। बस्ती बाक्लो रहे पनि मृतक श्रीदेवीको घर छेउमा रहेकाले घटनाबारे तत्कालै थाहा पाउन नसकिएको वडा अध्यक्ष रावलले बताए।

हत्यामा संलग्नहरूले गरगहनासहित मोबाइल र केही नगद समेत लिएर गएको उनले बताए। उनले कतारमा रहेका मृतकका श्रीमानलाई नेपाल आउन खबर गरेको र भोलिसम्म आइपुग्ने बताए। आफन्त र परिवारले घटनाबारे अनुसन्धान नसकिएसम्म शव उठाउन नदिने बताएका छन्। प्रहरीले शव चलाएको छैन। भोलि शनिवार बिहानबाट थप अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ।

दैलेखमा ग्याङ फाइट

दैलेखमा युवाहरुबीच ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ। केही घाइते भएका छन्। नारायण नगरपालिका ७ र भैरवी गाउँपालिकाको सिलंगी बजारमा भएका छुट्टाछुट्टै ग्याङ फाइटमा दुई जना युवाको मृत्यु भएको हो।

दुवै घटना मादक पदार्थ सेवनका कारण भएको प्रहरीले जनाएको छ। दसैमा घर पुगेकाहरूबाट उच्छृङ्खल गतिविधि हुँदा घटना भएको पाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

भैरवीको घटनामा संलग्न सबै तीन जनालाई र नारायण नगरपालिकाको घटनाका ४ जनालाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार फरार तीन जनाको खोजी जारी रहेको छ।

बिहीबार राति भैरवी गाउँपालिका–४ मा दुई समुहबीच झडप हुँदा ससुराली गएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको घाइते भएका थिए। उनको उपचारकै क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही झडपमा परी अन्य एक जना घाइते भएका छन्। घाइते भएका भैरवी गाउँपालिका–५ सैनचौरका २१ वर्षीय सुमन शाहीलाई प्रहरीले दुल्लु अस्पताल पुर्‍याएकोमा सामान्य उपचारपछि फर्किएका छन्।

नारायण नगरपालिका–७ मा दशमीको राति युवाहरूसँग झगडा गरेर घाइते भएका स्थानीय २५ वर्षीय रोहन शाहीको पनि उपचारकै क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.