मुगुमा सामूहिक हत्या

नजिककै व्यक्तिमाथि शङ्का, शङ्कास्पद प्रमाण भेटियो

नजिककै व्यक्तिमाथि शङ्का, शङ्कास्पद प्रमाण भेटियो

मुगु : दुधे बालक सहित एकै परिवारका चार जनाको बीभत्स हत्या भएपछि मुगुको छायाँनाथ नगरपालिका ६ स्थित मन्दु गाउँ पुरै शोकमा डुबेको छ।

कार्तिक ८ गते राती अज्ञात समूहले २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका दुधे बालक रहर बोहराको धारिलो हतियार प्रहार गरी हत्या भएसँगै पुरै गाउँ नै त्रसित बनेको छ।

हत्या ८ गते राती भए पनि शुक्रवार मात्रै घटनाबारे गाउँलेले जानकारी पाएका थिए। घटनाबारे जानकारी पाए लगत्तै कतारमा रहेका श्रीदेवीका श्रीमान् दीपक बोहरा शनिवार घर फर्केका छन्। दीपककै रोहबरमा मुचुल्का उठाएर मृतक चारै जनाको शव पोस्टमार्टम लागि सदरमुकाम गमगढी लगिएको छ।

हत्याराहरू उम्कन सक्ने भन्दै प्रहरीले गाउँलेहरूमाथि नै अनुसन्धान गर्नु पर्ने स्थानीहरूले माग गरेका छन्। श्रीदेवीका श्रीमान् दीपकले पनि आफू बाहिर रहेकाले घटनाबारे सत्य तथ्य सार्वजनिक नभएसम्म पोस्टमार्टम गरे पनि शव नबुझ्ने बताएका छन्।

छायाँनाथ नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलले अनुसन्धानका क्रममा निर्दोष नफस्ने र दोषी नउम्कने गरी प्रहरीले अनुसन्धान गर्नुपर्ने बताए। गाउँ नै त्रसित रहेको बताउँदै उनले हत्यामा नजिक नजिककै मान्छेको संलग्नता हुने शङ्का व्यक्त गरे। ‘नजिकै नजिकैको मान्छेको शङ्का हो,’उनले भने,‘अनुसन्धानले के भन्छ त्यसपछि थाहा हुन्छ।’

मुगुमा हत्या : बाहिरबाट ताल्चा लगाएर हत्यारा फरार

उनले अनुसन्धानका क्रममा पुरै गाउँ पनि जान सक्ने बताए। ‘गाउँकै मान्छेलाई नसोधेर बाहिरको मान्छेलाई अनुसन्धान गर्न पनि गाह्रो भइरहेको छ,’उनले भने,‘मृतकका श्रीमानले सत्य तथ्य बाहिर नआए पोस्टमार्टम गरे पनि शव नबुझ्ने भन्नु भएको छ।’

घटना स्थलमा कुकुर सहित प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ। घटनास्थलबाट प्रहरीले केही शङ्कास्पद प्रमाण भेटिएको जनाएको छ। मुगुका डिएसपी वीरेन्द्र थापाले अनुसन्धान नै प्रभावित हुन सक्ने भएकाले भेटिएका सबै कुरा अहिले नै सार्वजनिक गर्न नमिल्ने बताए।

घटनाको प्रकृति हेर्दा एक देखि दुई जनाको संलग्नता हुन सक्ने उनले बताए। ‘केही भन्न सकिने अवस्था छैन,रातिको समयमा एक्लै श्रीमतीलाई मारे पछि एउटै मान्छेले पनि तीन जनालाई मारेको हुन सक्छ,’डिएसपी थापाले भने,‘सामूहिक भनेर आठ दश जना हुने सम्भावना छैन,एक जना या दुई जना हुन सक्ने सम्भावना छ, अनुसन्धान गर्दै छौ।’

उनले कुकुरको एक चरणको अनुसन्धान सकिएको बताए। शनिवार साँझ मात्रै शव उठाएर जिल्ला अस्पताल लैजाँदै गरेकाले शवको पोस्टमार्टम आइतबार मात्रै हुन नसक्ने प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा संलग्नले पहिले मृतक श्रीदेवीलाई स्लीपिङ ट्याब्लेट खुवाएर धारिलो हतियार प्रहार गरी हत्या गरिसकेपछि छोरा, छोरीको पनि हत्या गरेको खुल्न आएको प्रहरीको अनुमान छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.