निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रमुख दलहरू एकै ठाउँमा उभिने, बाइबाइ गर्ने रविको उद्घोष

प्रमुख दलहरू एकै ठाउँमा उभिने, बाइबाइ गर्ने रविको उद्घोष

368
SHARES

काठमाडौं : पुराना राजनीतिक दलहरूलाई नयाँ दलले अबको चुनावमा विस्थापित गर्ने चुनौती दिएका छन्। ०८४ को चुनावमा चौरासी नै गर्ने योजना सहित नयाँ दल रणनीतिक रूपमा लागेपछि पुराना दलहरू एकै ठाउँमा उभिने तयारीमा लागेका छन्।

काँग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्वले नयाँ दलको चुनौती सामना गर्न एकै ठाउँमा उभिने तयारीमा रहेको बताए। शीर्ष नेताहरूले पुराना दल र दलीय व्यवस्थाप्रति उठेका प्रश्नहरूलाई ठुलो चुनौतीका रूपमा भने नहेरेको दाबी गरे।

काँग्रेसले गरेको चियापान कार्यक्रममा सहभागी नेताहरूले प्रमुख दलहरू एकताबद्ध भएरै आफूहरूको भूमिकाप्रति उठेका प्रश्नहरूको जवाफ दिने बताए। सधैँ जसो राजनीतिक घोचपेच र आरोप–प्रत्यारोपमा उत्रिरहने नेताहरूबीच काँग्रेसको चियापान आपसी जमघट बन्यो।

चियापानपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले अहिले पुराना राजनीतिक दल र व्यवस्थाविरुद्ध उठिरहेका प्रश्नहरू राष्ट्र जनता र लोकतन्त्रको हितमा नरहेको सुनाए। त्यस्ता प्रश्नहरू समाजमा अराजकता पैदा गर्ने उद्देश्यले मात्रै उठाइएको प्रधानमन्त्री प्रचण्डले आरोप लगाए।

उनले प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जवाफ दिने बताए। ‘छिट्टै प्रमुख दलहरू एकै ठाउँमा उभिएर त्यसको जवाफ दिने तयारी भइरहेको छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘जवाफ दिन्छौ, पुराना दल, नेताले जवाफ दिने समय आउँदै छ।’

काँग्रेसको चियापान कार्यक्रममा शीर्ष नेताहरू जम्मा हुनुअघि शनिवार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ०८४ को चुनावमा सबै पुराना दलहरूलाई बाइबाइ गर्ने बताएका थिए।

‘हाम्रो आँखै अगाडि नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आएका छन्। स्थानीय तहमा एक सय एक होनहार मानिसहरू आएका छन्। तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ल के गर्न सक्छौँ? भनेर हामीलाई चुनौती दिए ठाडै। हेर्दा हेर्दै,’उनले भने,‘यस्ता कैयौँ बेथितिका चुनौतीहरू दिएका छन्। भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन्। तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केहीले भन्ने गर्नुहुन्छ। चर्को बोल्नुपर्छ भन्नुहुन्छ। के मा दिने, कति दरो बोल्ने, के भन्ने? अब ठुलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकै पटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने। एक सिट पनि नदिने हो, ख्याल गर्नुहोला।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेसम्म आफूप्रति त्यस्तो प्रश्नै नउठेको दाबी गरे। काँग्रेस सभापति देउवाले अहिले जवाफ फर्काउने बेला नभएको बताए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने पुराना राजनीतिक दलहरू सच्चिएर अघि बढ्न आवश्यक रहेको बताए।

समाचार शेयर गर्नुहोस्
368
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.