मुगुमा सामूहिक हत्या : शङ्कास्पद व्यक्ति निगरानीमा

मुगुमा सामूहिक हत्या : शङ्कास्पद व्यक्ति निगरानीमा

मुगु : मुगुमा भएको सामूहिक हत्या थप रहस्यमय बन्दै गएको छ। गत कार्त्तिक ८ गते एकै परिवारका चार जनाको सामूहिक हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले घटनामा संलग्नहरूको बारेका कुनै प्रमाण नभेटिएको जनाएको छ।

घटनास्थलबाट प्रहरीले कुनै क्लु नभेटिएपछि अनुसन्धानका लागि डिआइजी भीम ढकाल आफैँ घटनास्थल पुगेका छन्। घटनास्थलमा प्रदेश, जिल्ला, ब्युरो र अनुसन्धानको संयुक्त टोलीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी वीरेन्द्र थापाले घटनाबारे अनुसन्धान भइरहेकोले प्रमाण सहित व्यक्ति समातिएपछि पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताए। जिल्ला अस्पताल गमगढीमा राखिएको चारै जनाको शवको पोस्टमार्टम सुरु भएको उनले बताए।

प्रहरीले घटनासँग सम्बन्धित केही शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ समेत सुरु गरेको छ। हत्याराको नजिक पुगिसकेको बताउँदै प्रहरीले केही व्यक्तिलाई विशेष निगरानीमा राखेको जनाएको छ।

प्रहरीले घटनास्थल सिल गरेको छ भने तालिम प्राप्त कुकुर समेत खटाएको छ। जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी थापाले हत्यारा चाँडै पत्ता लाग्ने दाबी गरे।

नजिककै व्यक्तिमाथि शङ्का, शङ्कास्पद प्रमाण भेटियो

छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलका अनुसार अनुसन्धानमा सघाउनका लागि मृतक श्रीदेवीका श्रीमानले शव उठाउन अनुमति दिएको तर हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएको बताए। आफूहरूले हत्यारालाई चाँडो भन्दा चाँडो पक्राउ गर्न सहयोग गरिरहेको वडा अध्यक्ष रावलले बताए।

कार्तिक ८ गते राती २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षीय छोरा मनोज बोहरा, आठ वर्षीया छोरी अप्सरा र दुधे बालक रहर बोहराको घरभित्रै धारिलो हतियार प्रहार गरी बीभत्स रूपमा हत्या भएको थियो।

हत्याराले मृतकका श्रीमान् दीपकको फेसबुक म्यासेन्जरमा हत्याको तस्बिर पठाएको खुलेको छ। दीपकलाई म्यासेज गर्ने मोबाइलको टावर हत्या भएको घर नजिकै देखाए पनि प्रहरी हत्यारासम्म पुग्न भने सकेको छैन।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.