निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संसद्ले राष्ट्रसङ्घ महासचिवको सम्बोधनको अभिलेख राख्ने

संसद्ले राष्ट्रसङ्घ महासचिवको सम्बोधनको अभिलेख राख्ने

394
SHARES

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मङ्गलवार सङ्घीय संसद्मा सम्बोधन गर्दै छन्। दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गर्ने भएका हुन्।

नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसको सम्बोधनका निम्ति सङ्घीय संसद् सचिवालयले तयारी तीव्र पारेको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले तयारी अन्तिम चरणमा पुगेको बताए।

मङ्गलवार बिहान १० बजेसम्ममा सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भइसक्ने उनले जानकारी दिए। ‘अधिवेशन चलिरहेको अवस्था भएकोले सबै सिस्टमहरू रि-चेक गर्ने काम भएको छ,’उनले भने,‘अन्य व्यवस्थापनका कामहरू पनि आवश्यकता अनुसार भई रहेका छन्।’

उनले सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने बताए। बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेसले सम्बोधन गर्ने कार्यसूची रहेको उनले जानकारी दिए।

गुटरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने प्रवक्ता गिरीले बताए। ‘सभामुखले अध्यक्षता गर्दै बैठक सञ्चालन गर्नुहुन्छ। राष्ट्रिय सभा अध्यक्ष पनि त्यहीँ नै हुनुहुन्छ। बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसङ्घका महासचिवले आफ्नो सम्बोधन राख्नुहुन्छ,’उनले भने,‘सम्बोधन राखिसकेपछि बस्ने सोही बैठकले नै धन्यवाद ज्ञापन प्रस्ताव समेत पारित गरेर बैठक अन्त्य हुन्छ।’

प्रवक्ता गिरीले महासचिव गुटरेसको सम्बोधनलाई संसद् बैठकमै तत्कालै अनुवाद गर्न सक्ने अवस्था नरहेको भन्दै वैकल्पिक व्यवस्था के गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल भइरहेको पनि जानकारी दिए। ‘संसद्मा रोष्टमबाट बोलेको कुरो संसद्मा त्यहीँ अगाडी नै रोष्टममा बसेर अनुवाद गरेर अगाडी जान सक्ने अवस्था देखिन्न। अन्य वैकल्पिक के गर्न सकिन्छ भनेर प्रयास गरिराखिएको छ,’उनले भने,‘उत्तम विकल्प के हुनसक्छ भनेर छलफल भइरहेको छ।’ प्रवक्ता गिरीले सम्बोधन गर्ने विषय भने नआएको बताए।

उनले महासचिव गुटरेसको सम्बोधनको सङ्घीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्ने बताए। सचिवालयले सांसदहरूलाई १५ मिनेट अघि नै तोकिएको पोसाकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।

चार दिने नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस उच्चस्तरीय राजनीतिक भेटवार्ता सकेर अवलोकन भ्रमणमा निस्केका छन्। सोमबार ललितपुरको पुलचोकस्थित राष्ट्रसङ्घ भवनमा आयोजित स्वागत कार्यक्रममा महासचिव गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताए।

शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनः स्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले बताए।

समाचार शेयर गर्नुहोस्
394
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.