राष्ट्रिय मर्यादाक्रम सम्बन्धी विधेयक

विपक्षी दलका नेताको बढाउने, काठमाडौँका मेयरको घटाउने

विपक्षी दलका नेताको बढाउने, काठमाडौँका मेयरको घटाउने

काठमाडौं : दलहरुबीच प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेताको मर्यादाक्रम बढाउने सहमति भएको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधि सभामा विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति र पूर्वप्रधानमन्त्रीकै लहरमा रहने गरी ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा सहमति जुटाएको हो।

हाल प्रतिनिधि सभामा विपक्षी दलका नेताको मर्यादाक्रम ८ औँ नम्बरमा छ। प्रतिनिधि सभामा विपक्षी दलको नेताको मर्यादाक्रम संविधान सभाध्यक्ष, प्रतिनिधि सभाका पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षकै लहरमा रहने गरी सातौँ नम्बरमा कायम गर्न प्रस्ताव गरिएको छ।

मर्यादाको नौ नम्बरमा सत्तापक्षका संसदीय दलका उपनेतासँगै विपक्षी दलका संसदीय दलको उपनेताको मर्यादा कायम रहने गरी प्रस्ताव गरिएको छ।

प्रस्तावित गैरसरकारी विधेयकमा प्रधानन्यायाधीशको मर्यादा पाँचौँ नम्बरमा राखिएकामा त्यसमा विधायन समितिले संशोधन गरी पुनः हाल कायम रहे अनुसारकै ४ नम्बरमा राखिएको छ। जिल्ला समन्वय समितिका प्रमुखपछि महानगरपालिका प्रमुखको मर्यादाक्रम राखिएको छ।

विधेयकमा काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम घटाउने प्रस्ताव गरिएको छ। हाल काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रम १० औँ नम्बरमा छ।

प्रचलित व्यवस्था अनुसार काठमाडौं महानगरपालिका प्रमुखको मर्यादाक्रमको लहरमा नेपाल सरकारका सहायक मन्त्री, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, पूर्वमन्त्री, उच्च अदालतका मुख्यन्यायाधीश, प्रदेश सरकारका मन्त्री, प्रदेश सभाका उपसभामुख, प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति, संविधान सभाका सदस्य, पूर्व सांसद, नेपाल सरकारका मुख्यसचिव र प्रधानसेनापति छन्।

विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा महानगरपालिका प्रमुखको मर्यादा १७ औँ स्थानमा राखिएको छ।

प्रस्तावित विधेयक जस्ताको तस्तै राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भए काठमाडौँसहित देशभरिका महानगरका मेयरको मर्यादाक्रम एकै लहरमा रहनेछ।

अतिविशिष्ट र विशिष्ट व्यक्तिलाई ‘सम्माननीय वा माननीय’ के भनेर सम्बोधन गर्ने भन्ने विषयलाई व्यवस्थित गरिएको विधेयकमा विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औँ स्थानमा राखिएको छ।

विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औँ नम्बरमा राखिएको छ। माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २० औँ नम्बरमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१ औँ नम्बरमा राखिएको छ।

विश्वविद्यालयका उपप्राध्यापकको मर्यादाक्रम पनि २० औँ स्थान रहने र विश्वविद्यालयका सहायक प्राध्यापकको मर्यादा क्रम २१ औँ स्थानमा राख्ने गरी विधेयकलाई समितिले पारित गरेको सभापति जयन्ती राईले जानकारी दिइन। प्रस्तावित विधेयकको प्रतिवेदन मङ्गलवार बस्ने राष्ट्रिय सभाको बैठकमा पेस गर्ने राईले जानकारी दिइन।

विधायन व्यवस्थापन समितिबाट पारित विधेयकलाई राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाउनुपर्छ। प्रतिनिधि सभाले पनि स्वीकार गरी अगाडि बढाएमा राष्ट्रिय मर्यादामा शिक्षकलाई समेत समेटिएर कानुन बन्नेछ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.