निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपतिबाट आममाफी : अपराधी उम्कने भर्‍याङ

राष्ट्रपतिबाट आममाफी : अपराधी उम्कने भर्‍याङ

553
SHARES

काठमाडौं : गणतन्त्र र संविधान दिवसमा आममाफी पाएकाहरू नै पुन आपराधिक गतिविधिमा संलग्न भएका छन्। गणतन्त्र दिवसमा आममाफी पाएका एक जना अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा मङ्गलवार पक्राउ परेका छन्।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाउनेहरू पुन आपराधिक गतिविधिमा लाग्दा पीडित त्रसित बनेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका मध्ये दुई जना थप अर्को अपराधमा पक्राउ परेका छन्।

गुन्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अपराध कर्ममा संलग्नहरूलाई राजनीतिक दलले नै संरक्षण गर्न थालेपछि अपराधका घटना मौलाउन थालेका छन्। आममाफीका नाममा जघन्य अपराधी जेल मुक्त हुँदा पीडित त्रासमा बाच्नु पर्ने अवस्था आएको छ।

गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलबाट आममाफी पाएका एक जनालाई प्रहरीले अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा–२ घर भई चितवनको भरतपुर–९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले पक्रेको हो।

थापाले भरतपुर महानगरपालिका–१ मा क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ।

थापाले एनसेलको सिम प्रयोग गरी हिन्दी भाषा बोलेर छोराको अपहरण गर्ने धम्की दिँदै २५ लाख फिरौती मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

अभियुक्त थापा यसअघि पनि विभिन्न प्रकरणमा पक्राउ परिसकेका व्यक्ति हुन्। रेकर्ड हेर्दा विगतमा चितवन र ललितपुरमा चोरी, अवैध हातहतियार देखाई डाँकासम्बन्धी कसुर, लागू औषध लगायतका मुद्दा समेत थापा विरुद्ध दर्ता भएको पाइएको प्रहरीले जनाएको छ।

थापालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको डिएसपी पण्डितले जानकारी दिए। यसअघि रुकुम पश्चिममा संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका लोकबहादुर विकलाई पनि प्रहरीले पक्राउ गरेको थियो। मुसिकोट–७ साँखकी भावना विकको हत्या आरोपमा लोकबहादुरलाई प्रहरीले पक्राउ गरेको हो।

गुन्डा नाइके योगराज ढकाललाई आममाफी दिए पछि भारती मानन्धरले न्यायका लागि आन्दोलन थालेकी छन्। आफ्ना श्रीमान् चेतनको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई कैद मिनाहासहित रिहाइ गरेपछि भारतीले गत २२ असोजमा सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

रिगलको रिहाइविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।

समाचार शेयर गर्नुहोस्
553
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.