मुक्का प्रहारपछि एनआरएनएका कर्मचारी त्रसित

मुक्का प्रहारपछि एनआरएनएका कर्मचारी त्रसित

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ एनआरएनएले कर्मचारीहरूलाई भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न सक्ने स्थिति नरहेको जनाएको छ।

एनआरएनए सचिवालयले बुधवार विज्ञप्ति निकालेर यसबारे प्रहरी प्रशासनलाई जानकारी गराइसकिएको र प्रहरीले आफ्नो तर्फबाट निगरानी गरिरहेको उल्लेख गरेको छ।

निर्वाचनमा उपविजयी भएको पक्षले सङ्घको नियमित कार्यमा बाधा पुर्‍याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरूलाई आफू अनुकूल काम गर्न दबाब दिई मानसिक रूपमा प्रताडित गर्ने, सङ्घको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैङ्कको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरू गर्दै आएको विज्ञप्तिमा लेखिएको छ।

एनआरएनएको कार्यालयमा मङ्गलवार मुक्का प्रहार हुँदा ओम शर्मा घाइते भएका थिए। निर्वाचित अध्यक्ष बद्री केसी र एमाले नेता महेश बस्नेतविरुद्ध असन्तुष्ट समूहले प्रहरीमा उजुरी समेत दिएको थियो।

यस्तो छ विज्ञप्ति

गैरआवासीय नेपाली सङ्घमा पछिल्लो समय उत्पन्न परिस्थितिबारे सबैलाई अवगत नै छ। सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२३–२५ को कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को लागि भएको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूले शपथ ग्रहण तथा प्रमाणपत्र समेत लिई नियमित काम समेत सुरु गरिसकेको अवस्थामा निर्वाचनमा उपविजयी भएको पक्षले सङ्घको नियमित कार्यमा बाधा पुर्‍याउने, कार्यालयमा हुलहुज्जत गर्ने, कर्मचारीहरूलाई आफू अनुकूल काम गर्न दबाब दिई मानसिक रूपमा प्रताडित गर्ने, सङ्घको नियमित कामकाजका लागि प्रयोग हुँदै आएको बैङ्कको खाता बन्द गर्न पत्राचार गर्ने लगायतका अत्यन्त अशोभनीय गतिविधिहरू गर्दै आएकोले अहिले सचिवालयका कर्मचारीहरू भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न नसक्ने स्थिति पैदा भएको छ। यस परिस्थितिबारे प्रहरी प्रशासनलाई जानकारी गराइसकिएको र प्रहरीले आफ्नो तर्फबाट निगरानी गरिरहेको छ।

मिति २०८०।७।१४ (३१ अक्टोबर २०२३) मा यस सङ्घका सन् २०२३–२५ को कार्यकालका लागि निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूलाई पूर्व मन्त्री महेश बस्नेत उपस्थित भई बधाई दिने तथा नेकपा एमालेले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि निमन्त्रणा दिने क्रममा सङ्घको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उपविजेता भएका राजेन्द्र कुमार शर्मा (आर.के.) को नेतृत्वमा बुद्धि सागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना लगायत व्यक्तिहरू सङ्घको कार्यालयमा प्रवेश गरी पूर्व मन्त्री महेश बस्नेतलाई गाली गलौच गरी अनुमतिबिना फोटो खिच्ने, व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातिलाई होच्याई चरित्र हत्या गर्ने र सङ्घको कार्यालयमा हुलदङ्गा गर्नेसम्मका गतिविधि भएका छन्। सो क्रममा सङ्घको केन्द्रीय कार्यालयमा घटेको घटनाप्रति हामी दुखी छौँ। यस सम्बन्धमा हामीले नेपाल प्रहरी प्रशासनमा उजुरी गरी छानबिन र दोषी उपर कारबाहीको माग समेत गरेका छन्।

एनआरएनएको विवादमा मुक्का प्रहार

लोकतान्त्रिक पद्धतिमा विजय र पराजय नियमित प्रक्रिया हो तर त्यसलाई स्विकार्नुको सट्टा सङ्घको २० वर्षको अस्तित्व नै धरापमा पार्ने खालका गतिविधि गर्ने र ८० लाख भन्दा बढी गैरआवासीय नेपालीहरूको साख गिराउने कार्य गर्नु निन्दनीय छ। निर्वाचनमा धाँधली भयो भन्ने उपविजयी पक्षले गरेको दाबीलाई लिएर हामीले अन्तर्राष्ट्रिय स्तरको छानबिनका लागि पटक पटक आह्वान गर्दा पनि छानबिनका लागि तयार नहुने तर स्वघोषित कमिटी गठन गर्ने, अनावश्यक रूपमा आरोपप्रत्यारोपमा उत्रने लगायतका गतिविधि गर्नु पक्कै पनि उचित छैन।

हरेक समस्याको समाधान संवादबाटै सम्भव हुने भएकोले हामी उपविजयी पक्षलाई छानबिनका लागि सहयोग गर्न र सङ्घको सचिवालयका दैनिक कार्यमा कुनै पनि किसिमको बाधा अवरोध नपुर्‍याउन अनुरोध गर्दछौँ।

अन्त्यमा, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई पनि निर्वाचनको प्रारम्भिक नतिजा प्रकाशन गर्ने क्रममा देखा परेको प्राविधिक त्रुटि सम्बोधन भइसकेको र निर्वाचन गराएको कम्पनीबाट प्राप्त मतपरिणामको अन्तिम परिणाम, प्राविधिक त्रुटि सम्बन्धमा दिएको स्पष्टीकरण लगायतको प्रमाणहरूको आधारमा निर्वाचन समितिले विजयीको घोषणा गरिसकेकोले बाहिर आएका अफवाह र भ्रामक खबरको पछि नलाग्न र निर्वाचित पक्षलाई साथ, समर्थन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.