निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गुन्डा नाइके रिगललाई तत्काल पक्राउ गर्न परमादेश (पूर्णपाठ)

गुन्डा नाइके रिगललाई तत्काल पक्राउ गर्न परमादेश (पूर्णपाठ)

411
SHARES

काठमाडौँ : जन्मकैदको सजाय पाएका गुन्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णय बदर भएको छ।

सर्वोच्च अदालतले नेपालगन्जमा दिउँसै खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय तोकिएका रिगललाई आममाफी दिने निर्णय बदर गर्ने आदेश दिएको हो।

कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई तत्काल पक्राउ गर्न परमादेश जारी गरेको छ।

संविधान दिवसको दिन सरकारका सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको बाँकी कैद मिनाहा गरेका थिए। इजलासले रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने परमादेश जारी गरेको हो।

कैद मिनाहा गर्ने निर्णयविरुद्ध २२ असोजमा चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ को उपदफा (३) ले समेत सजाय कर्म गर्ने जस्ता निर्णय गर्दा कसुरको प्रकृति र कसुर गर्दाको अवस्था, कसुरदारको उमेर र शारीरिक अवस्था, कसुरदारलाई तोकिएको सजायको हद लगायतका विषयमा विचार गरिनु पर्ने भनी निर्धारण गर्ने आदेशमा लेखिएको छ।

‘रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा सुरु बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासबाट हुने ठहर गरिएको जन्मकैदको सजाय मध्ये भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने (कम गर्ने/छोट्टाउने) गरी भएका काम कारबाही, सम्माननीय राष्ट्रपतिबाट भएको निर्णय र सो सम्बन्धी पत्राचारहरू समेत उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,’आदेशमा लेखिएको छ,‘रिगल ढकाललाई तत्काल पक्राउ गरी माथि उल्लेख भएबमोजिम कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको एघार वर्ष, एघार महिना, पाँच दिन कैद निजलाई कारागारमा राखी कानुन बमोजिम असुल गर्नु भनी प्रत्यर्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ।’

समाचार शेयर गर्नुहोस्
411
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.