आममाफीको निर्णयमा सर्वोच्चको अङ्कुश

आममाफीको निर्णयमा सर्वोच्चको अङ्कुश

काठमाडौं : सर्वोच्च अदालतले आममाफी दिने सरकारको निर्णयमा अङ्कुश लगाएको छ। गणतन्त्र र संविधान दिवसका दिन असल चालचलन भएका आधा सजाय काटिसकेका कैदीलाई दिने आममाफीमा सर्वोच्चले अङ्कुश लगाएको हो।

सर्वोच्च अदालतको आदेश अनुसार अब आममाफी दिनु अघि पीडित पक्षको अनिवार्य सहमति वा मन्जुरी लिनुपर्ने भएको छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडालको इजलासले पीडितको हक संरक्षित रहने गरी, सहमति मन्जुरी समेत लिई, पीडितलाई सामाजिक पुनः स्थापना र क्षतिपूर्ति सहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गरेर मात्र माफी र कैद कट्टा गर्न सकिने व्याख्या गरेको छ।

नेपालगन्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका योगराज ढकालको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले नयाँ नजिर स्थापित गरेको हो। आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको विवादित निर्णय खारेज गर्दै नयाँ नजिर स्थापित गरेको हो। अदालतले ढकाललाई बाँकी रहेको ११ वर्ष ११ महिना ११ दिन थुनामा राख्न आदेश दिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा ढकालको कैद मिनाहा गरेका थिए। कैद मिनाहासँगै रिगल कारागारमुक्त भएका थिए। चेतन मानन्धरकी श्रीमती भारतीले सरकारी निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्चले आदेश दिए लगत्तै प्रहरीले ढकाललाई बाँके नेपालगन्जको न्यूरोडबाट पक्राउ गरेको छ।

गुन्डा नाइके रिगललाई तत्काल पक्राउ गर्न परमादेश (पूर्णपाठ)

योगराजलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षमा राखिएको डिएसपी नारायण डाँगीले बताए। उनलाई बाँकेमै राख्ने या अन्यत्र पठाउने अहिले टुङ्गो नभएको उनले बताए। सर्वोच्चले ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो।

सर्वोच्चको यो आदेश मुलुकलाई आपराधिककरण हुनबाट जोगाउने गरी आएको पूर्वन्यायाधीश प्रकाश वस्तिले बताए। ‘न्यायाधीशद्धारा निर्मित कानुन भयो यो, यसले अपराधिकरणलाई रोक्छ,’उनले भने,‘अपराध गर्ने र राजनीतिक आवरणमा माफी लिने रोकिन्छ।’

सर्वोच्चको आदेशले माफी दिएका अरू मुद्दामा पनि प्रभाव पार्ने पूर्वन्यायाधीश वस्तिले बताए। ‘अरू यस्तै माफी दिएका अरू मुद्दामा पनि प्रभाव पार्छ, यो फुल बेन्चको निर्णय हो, यसलाई काट्न पाँच जनाको फुल बेन्च चाहिन्छ, तीन जनाले मान्नै पर्छ यो निर्णय नमानी हुँदैन,’पूर्वन्यायाधीश वस्तिले भने,‘मुलुकको फौजदारी न्याय प्रशासन र पीडितको हितमा यो नजिर कोसेढुंगा नै भने हुन्छ।’

सर्वोच्च अदालतले योगराजलाई दिइएको आममाफी बदर गरेपछि भारती मानन्धर शेर्पाले अनसन तोडेकी छन्। भारतीले वीर अस्पतालमा जुस पिएर अनसन तोडेकी हुन्। न्याय माग्दै काठमाडौँको माइतीघरमा अनसन बस्दै आएकी भारती फैसला सुनेसँगै अदालतमै बेहोस भएकी थिइन। त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.