पारिवारिक इजलासले सुनायो १७ मुद्दाको फैसला

पारिवारिक इजलासले सुनायो १७ मुद्दाको फैसला

काठमाडौँ : नेपालमा पहिलो पटक स्थापना भएको पारिवारिक इजलासले १७ वटा मुद्दामा फैसला सुनाएको छ। पारिवारिक इजलास स्थापना भएदेखि हालसम्म १७ वटा मुद्दाको फैसला आएको काठमाडौँ जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।

पारिवारिक फाँटमा हाल ४३२ वटा मुद्दा रहेका छन्। काठमाडौँ जिल्ला अदालतका पारिवारिक मुद्दा हेर्नका लागि छुट्टाइएको दुई वटा इजलासले हालसम्म १७ वटा मुद्दामा फैसला सुनाएको दाहालले बताए।

पारिवारिक इजलासबाट महिला वादी भएका लगाऊ नभएका अंश, नाता कायम घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरूको सुनुवाइ भइरहेको छ।

यस्ता मुद्दाको सङ्ख्या ४३७ वटा रहेको काठमाडौँ जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए। दसैँ बिदा अघिसम्म १२ वटा मुद्दाको फैसला भएको प्रवक्ता दाहालले बताए।

बिदा पछि खुलेको अदालतले थप ५ वटा मुद्दामा फैसला सुनाएको उनले बताए। ‘थप ५ वटा मुद्दाको फैसला भएको छ,’प्रवक्ता दाहालले पहिचानसँग भने,‘फाँटमा मुद्दाको सङ्ख्या ४३२ कायम भएको छ।’

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनामा उपभोक्ता, साइबर, पारिवारिक तथा बाल अदालतजस्ता विशिष्टीकृत अदालत तथा इजलासको स्थापना र विस्तार गर्ने उल्लेख छ। परिवारसँग सम्बन्धित महिलावादी हुने ‘सम्बन्ध विच्छेद’ सम्बन्धी मुद्दाको भने पारिवारिक इजलासमा सुनवाइ हुनेछैन।

काठमाडौँ जिल्ला अदालतका दुई वटा इजलासबाट तोकिएका महिलावादी भएका मुद्दामा निरन्तर सुनुवाइ हुने गरेको प्रवक्ता दाहालले बताए। अन्य मुद्दासँग लगाऊ भएका पुरुषवादी मुद्दा पारिवारिक इजलासमा हेरिनेछैन।

मुद्दालाई छिटोछरितो बनाउन पारिवारिक प्रकृतिका विवाद सुन्ने इजलास सुरु भएको हो। मुद्दा सुनुवाइका लागि पारिवारिक फाँटको व्यवस्था गरिएको छ। साबिकको ४ र ५ लाई पारिवारिक नम्बर १ र २ इजलास तोकिएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.