भूकम्प पीडितको बिचल्ली

भूकम्प पीडितको बिचल्ली

तस्बिर : हेमन्त केसी/रासस

काठमाडौं : शुक्रवार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो मानवीय र भौतिक क्षति पुगेको छ। ११ः४७ मिनेटमा गएको भूकम्पले १५७ .जनाको मृत्यु भएको छ। घाइतेको सङ्ख्या ३७५ पुगेको छ।

भूकम्पले भत्काएका घरभित्र पुरिएकाहरूको उद्धार भइरहेको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले भग्नावशेष खोतलेर मृतकको शव निकालिरहेको छ। भत्किएका अधिकांश घर कच्ची रहेका छन्। रातको समयमा गएको भूकम्पले परिवारको बिचल्ली बनाइदिएको छ।

कोहीले अभिभावक गुमाएका छन्। कोहीले आफ्ना सन्तान, आफन्त, छिमेकी गुमाएका छन्। जाजरकोट र रुकुम पश्चिमका गाउँ शोकमा डुबेका छन्। भुगर्वविद्हरुले फेरी पनि भूकम्प जाने सार्वजनिक गरिरहँदा बाँचेका नागरिक त्रासमा छन्।

भूकम्पले हजारौँ नागरिक घरबार विहीन बनेका छन्। चिसो भुईँमा रात कटाउनु पर्ने बाध्यता छन्। चिसो बढ्ने क्रममा छ। तर, तत्काल पानी परिहाल्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भग्नावशेषबाट निकालिएका घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज, काठमाडौँ तथा अन्य ठाउँमा पुर्‍याइएको छ। प्रभावित क्षेत्रमा एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँच वटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको जनाएको छ।

भत्किएका अधिकांश घर कच्ची

भूकम्पबाट घरबारविहीन भएकाहरूलाई खान र बस्नका लागि दाल, चामल, त्रिपाल वितरण गरिएको छ। रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ४२ जनाको मृत्यु भएको भने १ सय २ जना घाइते भएका छन्। २ हजार परिवार विस्थापित भएको मेयर रवि केसीले जानकारी दिए।

सानीभेरी गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ भने १ सय २ जना घाइते रहेको गाउँपालिका उपाध्यक्ष कमला रोक्का पुनले जानकारी दिइन। पूर्णरुपमा विस्थापित २ हजार घरपरिवार त्रिपाल र पराल ओछ्याएर खुला आकाशमुनि बसिरहेका उनले बताइन।

उनीहरूलाई खानका लागि चिउरा, बिस्कुट वितरण गरिएको छ। क्षतिको विवरण सङ्कलन भइरहेको उनको भनाइ छ। चौरजहारी नगरपालिकामा २४ जना घाइते भएका छन्।

५ हजार भन्दा बढी घरहरूमा क्षति पुगेको छ। अति जोखिममा रहेका ४० परिवारलाई त्रिपाल र दाल चामल वितरण गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले जानकारी दिए।

सल्यानका तीन जनाको मृत्यु

जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी सल्यानका तीन जनाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका घर भई मामाघर रुकुम पश्चिम गएका तीन जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दार्मा गाउँपालिका–६ मलिवाङ निवासी २५ वर्षीया भूमिका मल्ल र उनका ४ वर्षीय छोरा लेखनाथ मल्लको रुकुम पश्चिम आठविसकोट नगरपालिकामा भूकम्पमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेका ३ वर्षीय वासुदेव बुढाको मृत्यु भएको छ। आमासँगै मामाघर रुकुम पश्चिम आठविसकोट नगरपालिका पिपलचौर गएका उनको भूकम्पमा परी मृत्यु भएको हो। आमा अन्दाजी २२ वर्षीया भद्रकला देवकोटा बुढा भने घाइते भएकी छन्।

घाइतेको उपचार निःशुल्क

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा मध्यरात गएको भूकम्पमा परि घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सङ्घीय सरकारले बेहोर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार सङ्घीय सरकारले गर्ने बताए।

घाइतेहरूको उपचार निःशुल्क गरिने छ। स्थानीय र प्रदेश स्तरीय अस्पतालमा उपचार सम्भव नभएका गम्भीर घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उपचारका लागि तयारी अवस्थामा राखिएको मन्त्री बस्नेतले बताए।

भूकम्प प्रभावित जिल्ला जान चाहने त्यस क्षेत्रका प्रभावित व्यक्तिहरूका लागि स्वास्थ्य मन्त्री बस्नेतको पहलमा पूर्व अरनिको यातायात प्रालिले ४ वटा बस निःशुल्क उपलब्ध गराएको छ। भूकम्प प्रभावित जिल्लाका कर्मचारीलाई तत्काल कार्यालयमा हाजिर हुन निर्देशन जारी भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई तत्काल बिदामा नरहन निर्देशन जारी गरेको हो।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्‍याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन अनुरोध समेत गरेको छ।

तस्बिर : हेमन्त केसी/रासस

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.