भूकम्प पीडितको राहत सामग्री गायब गर्ने प्रयास

भूकम्प पीडितको राहत सामग्री गायब गर्ने प्रयास

फाइल तस्बिर

काठमाडौं : जाजरकोट भूकम्प पीडितहरूका लागि राहत वितरणमा शक्ति प्रदर्शन भएको छ। पीडितका लागि पठाएको राहत सामग्री बीच बाटोबाटै गायब गर्ने प्रयास भएको पुष्टि भएको छ। धादिङको नीलकण्ठ नगरपालिका ३ ले पठाएको राहत सामग्री बीचबाटोबाटै गायब पार्ने प्रयास भएको हो।

हराएको राहत सामग्री तोकिएको स्थानमा नभई अन्य ठाउँमा झार्दै गरेको पाइएको सहयोगीहरूले बताएका छन्। स्रोतका अनुसार जिल्लाबाट सहयोगी दाताको प्रतिनिधि भन्दा अगाडी नै राहत सामग्री पठाइएको थियो।

फोन सम्पर्कबाटै राहत पीडितसम्म पुर्‍याउन भन्दा मन्त्रीकै आदेशले राहत सामग्री झार्न थालेको जवाफ उनीहरूले दिएका छन्। यद्यपि, धादिङबाट गएका प्रतिनिधि नै पुगेपछि भने राहतका सबै सामग्री जिल्ला पुगेको यकिन भएको छ। वडाबाट जाडोका लागि सिरक, टोपीसहितका कपडाहरू पठाइएको थियो।

यसले राहत वितरणमा भइरहेको राजनीतिक दाउपेचलाई छर्लङ्गै पारेको छ। राजनीतिक दलका नेताहरूले नै राहत वितरणमा काखा र पाखा गरेको गुनासो भूकम्प पीडितहरूले गरेका छन्। भूकम्प पीडितहरूबाटै पनि राहतमा पहुँच र सुगम ठाउँका प्रभावितहरूको हालीमुहाली भएको गुनासोहरू आइरहेका छन्।

दुर्गममा रहेका र पहुँच नभएकालाई भूकम्पको राहत ‘आकाशको फल आँखातरि मर’ भने जस्तै भएको छ। गत शुक्रवार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम बढी क्षति पुगेको छ।

तर, रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाका उपाध्यक्ष कमला रोका पुनले भने आफ्नो पालिकाभित्र राहत वितरणमा पक्षपात नभएको दाबी गरेकी छन्।

राहत वितरणमा पूर्वअर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री शक्तिबहादुर बस्नेतबीच पनि शक्ति प्रदर्शन भएको छ। जाजरकोटका लागि पठाइएको राहत सामग्री शर्माले बीचबाटोबाटै रुकुम पश्चिममा झारेका छन्। शर्मा रुकुम पश्चिम र बस्नेत जाजरकोट केन्द्रित भएर राहत वितरणमा लागेका छन्।

भूकम्प प्रभावित जिल्लामा केन्द्रबाटै राजनीतिक दलका नेता कार्यकर्ता पुगेर राहत वितरणमा पक्षपात गरेका छन्। पीडितलाई थप पीडा दिने काममा राजनीतिक नेतृत्व नै लागेको आरोप पीडितहरूको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.