उपरथी पाण्डेले दिए राजीनामा, ‘कोर्ट मार्सल’को डर

उपरथी पाण्डेले दिए राजीनामा, ‘कोर्ट मार्सल’को डर

काठमाडौं : उमेर विवादमा मुछिएका प्रधानसेनापतिको लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेको चाहना चकनाचुर भएको छ। वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको योजना असफल बनेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि पाण्डेले शुक्रवार पदबाट राजीनामा नै दिएका छन्।

राजीनामा दिए लगत्तै नेपाली सेनाको जङ्गी अड्डाले आवश्यक प्रक्रियाका लागि रक्षा मन्त्रालयमा पठाएको जनाएको छ। नेपाली सेनाका सूचना अधिकारी, सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार पाण्डेले राजीनामा दिए लगत्तै जङ्गी अड्डाले आवश्यक प्रक्रियाका लागि रक्षा मन्त्रालय पठाएको हो।

उनको राजीनामा मन्त्रालयले अब मन्त्रिपरिषद्मा पेस गर्नेछ भने मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने कानुनी प्रक्रिया छ। आगामी वर्षको भदौमा अवकाश लिने प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेलाई भावी प्रधानसेनापति बनाउने गरी बढुवा प्रक्रिया अघि सारेका थिए।

तर उमेर विवाद बाहिरिएपछि सबै योजना असफल बनेको छ। बढुवा प्रक्रिया अघि सारे लगत्तै पाण्डेले उमेर घटाएको भनिएको विषय सार्वजनिक भएको थियो। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन थालेको थियो।

अख्तियारले प्रारम्भिक अध्ययन गरेर छानबिनको आवश्यकता महसुस गरी रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। कुनै ठाउँबाट पनि सुरक्षित हुने उपाय नदेखेपछि पाण्डे प्रधानसेनापति पदमा पुग्ने यात्रा समाप्त गरी राजीनामा बुझाउन बाध्य भएका हुन्।

आन्तरिक छानबिन समिति बनाएर जन्म मितिमा कैफियत भेटिए उपरथी पाण्डेमाथि कोर्ट मार्सल हुने थियो। त्यसबाट जोगिन समेत उनले राजीनामा दिएका हुन्। पाण्डेले राजीनामा नदिँदा ‘कोर्ट मार्सल’ हुनसक्ने भएपछि स्वैच्छिक अवकाशको बाटो रोजे।

पाण्डेको राजीनामासँगै अब उपरथीमा बढुवाबारे अर्को प्रक्रिया सुरु हुनेछ। बढुवामा हालै माओवादीका पूर्वलडाकु सहायक रथी यामबहादुर अधिकारीलाई भावी प्रधान सेनापतिमा अघि बढाउन खोजिएको विषयले सेना तरङ्गित बनेको छ।

यद्यपि त्यसको लागि सेनाभित्र कुनै पनि तयारी नभएको स्रोतले बताएको छ। अधिकारी प्रधान सेनापति बन्ने कुनै सम्भावना नभएको सैनिक अधिकारी बताउँछन्।

सरकारले उनको पदावधि थप गरिएको र पाण्डेले राजीनामा दिएकाले भावी प्रधानसेनापति बनाउने हल्ला चलिरहेको छ। तर, अहिलेको सैनिक ऐन र नियमावलीले उनको सहायक रथीबाट माथि जाने सम्भावना नभएको सैनिक स्रोतले बताएको छ।

उनलाई विशेष दरबन्दी बनाएर सहायक रथी बनाइएको थियो। उपरथी बढुवाको अर्को प्रक्रिया सुरु हुने सेनाका प्रवक्ता भण्डारीले बताए। ‘अब अर्को प्रक्रिया सुरु हुन्छ, सम्भावित उम्मेदवार सर्टलिस्टिङ हुन्छन्,’उनले भने,‘बोर्ड बसेर नाम सिफारिस हुन्छ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.