निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सांसद विकास कोषको रकम पुनर्निर्माणमा, भूकम्प पीडितमा रुघाखोकी र ज्वरो

सांसद विकास कोषको रकम पुनर्निर्माणमा, भूकम्प पीडितमा रुघाखोकी र ज्वरो

406
SHARES

काठमाडौं : सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्प पुनर्निर्माण कोषमा सार्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएकाले ८ अर्ब २५ करोड रुपैयाँ कोषमा सार्ने निर्णय गरेको हो।

सरकारले थप १ अर्ब ७५ करोड रुपैयाँ समेत सो कोषमा थप गरी जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

संसदीय क्षेत्रको रकम भूकम्प पुनर्निर्माण कोषमा सार्ने निर्णय गरेकोमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई धन्यवाद दिएका छन्। ‘भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम (पश्चिम)बाट फर्केपछि नेपाली काँग्रेसको तर्फबाट हामीले लिखित रूपमा प्रधानमन्त्री समक्ष सरकारले तत्काल गर्नुपर्ने विषयहरूको ध्यानाकर्षण गराएका थियौँ,’महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्,‘मूलतः सरकारले फजुल खर्च रोक्न र सांसद विकास कोषको लागि छुट्टाइएको ८ अर्ब २५ करोड रुपैयाँ पुनर्स्थापना र पुनर्निर्माणमा कोषमा जम्मा गर्न हाम्रो विशेष आग्रह रहेको थियो। प्रधानमन्त्रीले ती विषयलाई सकारात्मक रूपमा लिएर कोसिस गर्छु भन्नुभएको थियो। सरकारले सांसद विकास कोषको ८ अर्ब २५ करोड रकम पुनर्स्थापना र पुनर्निर्माणमा प्रयोग गर्ने निर्णय गरेको छ। सरकारलाई हार्दिक धन्यवाद।’

मन्त्रीपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न दुई किस्तामा गरी ५० हजार रुपैयाँ बैङ्क खातामा पठाउने समेत निर्णय गरेको छ। विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, सङ्घसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय पनि गरेको शर्माले जानकारी दिइन।

जाजरकोट भूकम्पमा परी मृत्यु भएका रुकुम पश्चिमका पीडित परिवारलाई नगद राहत वितरण गरिएको छ। सानीभेरी गाउँपालिका–६ मा पीडित १० परिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका २० घरपरिवारका ३१ जनालाई राहतबापत ५१ लाख गरी ६७ लाख रकम बाँडिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

जाजरकोटका भूकम्प पीडितका लागि स्थानीय प्रशासनले राहत सामाग्री बाँड्ने काम तीव्र पारेको जनाएको छ। सडक सञ्जालसँग जोडिएका ठाउँमा सवारीसाधनको प्रयोग गरेर राहत सामाग्री वितरण गरिरहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

दुर्गम ठाउँमा भने हेलिकप्टर प्रयोग गरेर भए पनि राहत सामाग्री पठाइरहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। उनले जिल्लाका करिब ९५ प्रतिशत भूकम्प पीडितकोमा राहत पुगिसकेको दाबी गरे।

समयमा राहत नपाउँदा चिसोमा कष्टकर जीवन बिताइरहेका भूकम्प पीडितमा रुघाखोकी र ज्वरोले सताएपछि स्थानीय प्रशासनले चिकित्सकसहितको टोली खटाइसकेको उनले बताए।

देश तिहारको रौनकमा झुमिरहँदा जाजरकोट सहित रुकुम पश्चिम र रोल्पामा भने तिहारको कुनै उत्साह देखिएको छैन। बस्ती नै शोक र पीडामा रहेकाले कुनै रौनक नरहेको प्रमुख जिल्ला अधिकारी सुनार बताउँछन्। भूकम्प पीडितका लागी सेना, प्रहरी र कर्मचारीहरुसंगै आफू पनि तिहार नभनी खटिरहेको प्रमुख जिल्ला अधिकारी सुनारले सुनाए।

समाचार शेयर गर्नुहोस्
406
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.