जाजरकोट भूकम्प

‘२० हजारको राहत ढुवानी गर्न ३० हजार खर्च’

‘२० हजारको राहत ढुवानी गर्न ३० हजार खर्च’

काठमाडौं : चिसोका कारण जाजरकोट भूकम्प पीडितहरूको बिचल्ली भएको छ। दुर्गम क्षेत्रका पीडितले त्रिपाल समेत पाउन सकेका छैनन्। चिसोमा कठ्याङ्ग्रिएर रात कटाउनु परेको छ। पर्याप्त राहत सामाग्री नपाएको गुनासो बढ्दै जाँदा चिसोका कारण प्रभावितहरूको मृत्यु हुन थालेको छ।

एक साता यता चिसोका कारण जाजरकोटमा ६ जनाको मृत्यु भएको छ। त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दिर्घरोगी र बृद्धबृद्धा बढी प्रभावित भएका छन्। चिसाको कारण जाजरकोटको छेडगाडमा एक महिलाको मृत्यु भएको छेडगाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापाले जानकारी दिए।

सरकार र विभिन्न सङ्घसंस्थाबाट राहत सामग्री आउन थाले पनि ढुवानी हुन नसक्दा अर्को समस्या थपिएको छ। सडक सञ्जालसँग नजोडिएका बिकट बस्तीहरूमा अहिले खच्चडबाट राहत सामग्री पुर्‍याउने व्यवस्था मिलाएको छ।

तर ढुवानी खर्च निकै महँगो हुँदा थप समस्या निम्तिएको उपप्रमुख थापाले बताए। ‘कतिपय पालिकामा अहिले पनि सडक यातायातको पहुँच छैन, समयमा राहत पुग्दैन,’उपप्रमुख थापाले भने,‘२० हजारको राहत पुर्‍याउन ३० हजार रुपैयाँ भाडा तिर्नुपर्ने अवस्था छ।’

त्रिपालमुनिको चिसोले थप २ जना भूकम्प पीडितको मृत्यु

त्रिपाल मुनि बस्दै आएका भूकम्प पीडित बिरामी पर्न थालेका छन्। त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियालगायत समस्या देखिन थालेको नलगाड नगरपालिका–१ पालीकी कल्पना विकले बताइन।

सुत्केरी, गर्भवती र बालबालिकालाई पोसिलो खानेकुराको कमी भएको छ। नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले गर्भवती र सुत्केरीलाई तत्काल पोसिला खानेकुरा दिएर रोग प्रतिरक्षा शक्ति बढाउन आवश्यक रहेको बताए।

स्वास्थ्य संस्थामा पनि स्वास्थ्यकर्मी र औषधिको व्यवस्थाका लागि पहल भइरहेको छ। नगरप्रमुख रावतका जाजरकोटका ९५ प्रतिशत मानिस घरबाहिर छन्। शौचालय भत्किएका छन्। पोषणको अभाव छ। शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँमा शौच गर्न थालिएको छ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.प्रतीक्षा भारतीले पालिकाका स्वास्थ्य संस्था समेत त्रिपालमा सञ्चालन भएकाले सबैलाई एकै पटक उपचार गर्न सम्भव नहुने देखिएको बताइन।

रुकुम पश्चिममा राहत वितरण सकियो

भूकम्प प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा भने पहिलो चरणको राहत वितरण सकिएको प्रशासनले जनाएको छ। उद्धार सकिएको दुई सातापछि आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए।

मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसिकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको उनले बताए।

अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उनले जानकारी दिए।

भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ। सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई ६१ लाख गरी कूल ७७ लाख नगद वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.