गणतन्त्र र राजतन्त्रवादीबीच घम्साघम्सी पर्ने सङ्केत

गणतन्त्र र राजतन्त्रवादीबीच घम्साघम्सी पर्ने सङ्केत

काठमाडौं : लोकतान्त्रिक गणतन्त्र पक्षधर र राजतन्त्रवादीहरुबीच घम्साघम्सी पर्ने सङ्केत देखिएको छ। मङ्सिर ७ गते एमालेकै पूर्वकेन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले माइतीघर केन्द्रित आन्दोलन घोषणा गरे पछि एमालेको युवा सङ्घले पनि त्यही दिन माइतीघरमै प्रदर्शन गर्ने घोषणा गरेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको काखमा हुर्किएका प्रसाईँले आन्दोलनको बलमा व्यवस्था नै बदल्ने चेतावनी दिएका छन्। युवा सङ्घका कार्यकर्ताले कालोमोसो दले पछि आक्रोशित बनेका प्रसाईँले सामाजिक सञ्जाल मार्फत वारपारको धम्की दिएका छन्।

प्रसाईँको आन्दोलनलाई एमाले अध्यक्ष ओलीले अराजकताको संज्ञा दिएका छन्। प्रतिक्रियावादीहरूको अराजकता टुलुटुलु हेरेर नबस्ने चेतावनी ओलीले दिए। ‘शान्तिपूर्ण ढङ्गले प्रतिक्रियावादी शक्तिलाई पराजित गर्छौ भनेका छौ, त्यो भनेको सडकमा उत्रिएरै हो,’ओलीले भने,‘त्यसकारण नेकपा एमाले यी सब कुराहरू चुपचाप टुलुटुलु हेरेर दिउँसोको लाटोकोसेरो जस्तो एमाले चिल कुरेर बस्दैन।’

मेडिकल व्यवसायमा विवादित प्रसाईँ माओवादी, एमाले हुँदै अहिले आफ्नै अभियान चलाइरहेका छन्। बैङ्कको ब्याज मिनाहा लगायतका अजेण्डाहरु उठाएर प्रसाईँले आफ्नो प्रभाव बढाएका छन्। एमालेले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड मार्सीको भात खुवाएका प्रसाईँ अहिले दुबैका लागि दुस्मन बनेर उभिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना विवादित अभिव्यक्ति सार्वजनिक गर्दै प्रसाईँले मङ्सिर सात गते ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ को नाममा १० लाख जनता उतार्ने दाबी गरेका छन्। त्यही दिन युवा सङ्घको नाममा माइतीघरमै प्रदर्शन गर्ने घोषणा भएको छ।

एकै स्थलमा कार्यक्रम राख्ने घोषणा गरेका प्रसाईँ र युवा सङ्घलाई प्रदर्शन गर्न दिने तर जम्काभेट हुन नदिने रणनीति सुरक्षा निकायबाट प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ लिएका छन्। पूर्वराजासँग गणतन्त्रवादी दलको सातो गएको छ।

प्रसाईँले राजतन्त्र फर्काउन भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई मङ्सिर ७ गते काठमाडौँको बृहत् प्रदर्शनमा सहभागी गराउने बताए पछि अरू दल तर्सिएका छन्। ज्ञानेन्द्र शाह भने मङ्सिर ९ गते पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापाको बिर्तामोड जाने कार्यक्रम रहेको छ।

ज्ञानेन्द्रको संवाद सचिवालयले ९ गते सालिक अनावरण कार्यक्रममा सहभागी हुने सार्वजनिक गरेको हो। पूर्वराजा कहिले झापा जानुहुन्छ? भन्ने पहिचानको प्रश्नमा संवाद सचिव फणीराज पाठकले भने,‘नौ गते कार्यक्रममा सहभागी होइबक्सन्छ,कहिले जानुहुन्छ त्यो नसोध्नुहोस्।’

गणतन्त्र विरोधी आन्दोलन चर्किन थाले पछि सत्ता गठबन्धन दलहरू पनि छलफलमा जुटेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरे।

काँग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रधानमन्त्रीले प्रसाईँको आन्दोलन केन्द्रित छलफल गरेका हुन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएकाले त्यसको प्रतिवाद गर्न परिवर्तनकारी शक्ति तयार हुनुपर्ने बताए।

सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी भने सहभागी भएनन्। उनी काठमाडौं बाहिर छन्। ‘काठमाडौं बाहिर हुनुहुन्छ भनेर खबर नगर्नु भएको होला,’अध्यक्ष केसीले पहिचानसँग भने,‘खबर गर्नु भएको भए पार्टीका साथीहरू जानुहुन्थ्यो, खबर आएन।’ उनले प्रचण्ड र केपी ओलीसँगै रहेका प्रसाईँ औतारीका रूपमा आउन खोजेको टिप्पणी गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.