भूकम्पका मृतक परिवारलाई नगद वितरण, काँग्रेसले १ हजार टहरा बनाउने

भूकम्पका मृतक परिवारलाई नगद वितरण, काँग्रेसले १ हजार टहरा बनाउने

काठमाडौं : जाजरकोट भूकम्पमा परेर मृत्यु भएका परिवारलाई सोमबारदेखि नगद वितरण सुरु भएको छ। मृतकका परिवारलाई २ लाख रुपैयाँका दरले राहत वितरण सुरु भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

एक भन्दा बढी मृत्यु भएका परिवारलाई भने थप एक लाखका दरले नगद वितरण गरिएको जाजरकोटका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए। भूकम्प पीडितलाई चिसोबाट बचाउन ब्लाङकेट कम्बल वितरण गरिएको उनले बताए।

न्यानो भएर बस्न प्रशासनले आग्रह गरिरहेको शर्माले बताए। सोमबारदेखि प्रशासन कार्यालयले नियमित सेवा पनि सुरु गरेको छ। सोमबार नागरिकता, राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको उनले जानकारी दिए।

भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली

चिसोका कारण भूकम्प पीडितको अवस्था कष्टकर बनेको छ। भत्किएका संरचना व्यवस्थापन गर्दै अस्थायी संरचना निर्माणको काम सुरु गर्न सोमबार सर्वदलीय छलफल समेत भएको छ। राहत वितरणमा सम्पूर्ण संयन्त्र परिचालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

भूकम्पबाट प्रभावित परिवारको अवस्था दयनीय बन्दै गएको छ। चिसोले गर्दा त्रिपालमुनि बस्दै भएका भूकम्प पीडित बिरामी पर्न थालेका छन्।


उनीहरूमा ज्वरो, रुघाखोकीको समस्या देखिएको जाजरकोटमा स्वास्थ्य शिविर सञ्चालन गरेका नेविसंघका नेता तारा शर्माले जानकारी दिए। उनले भौगोलिक अवस्थाका कारण कतिपय ग्रामीण भेगमा राहत सामग्री समेत पुग्न नसकेको बताए।

अस्थायी आवास निर्माण गर्न रकम निकासा

सरकारले बल्ल भूकम्प प्रभावित पाँच जिल्लामा अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ता बापतको एकमुष्ट १ अर्ब ४१ करोड रुपैयाँ निकासा भएको जनाएको छ।

प्राधिकरणले सोमबार जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तहसँगको समन्वयमा लाभग्राही पहिचान गरी पालिका मार्फत नै रकम पठाउन आग्रह गरेको छ।

जाजरकोट र रुकुम पश्चिममा ५०/५० करोड रुपैयाँ पठाइएको छ। बझाङमा २५ करोड रुपैयाँ निकासा गरिएको छ। त्यस्तै बाजुरामा १४ करोड र सल्यानमा २ करोड रुपैयाँ निकासा गरी पठाइएको प्राधिकरणका उपसचिव ध्रुव बहादुर खड्काले जानकारी दिए।

खड्काले सम्झौता गरेकै दिन पहिलो किस्ताको २५ हजार रुपैयाँ प्राप्त गर्न सकिने बताए। अस्थायी आवास निर्माण सुरु गर्ने बित्तिकै वडाको सिफारिस मार्फत दोस्रो किस्ताको २५ हजार रुपैयाँ निकासा गरिने व्यवस्था गरिएको प्राधिकरणका उपसचिव खड्काले बताए।

काँग्रेसले १ हजार टहरा बनाउने

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाली काँग्रेसले एक हजार टहरा बनाउने भएको छ। पार्टीको निर्णय अनुसार केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा सोमबार नै एक टोली जाजरकोट पुगेको छ। मङ्गलवारदेखि नै नलगाड नगरपालिकामा टहरा निर्माण कार्य सुरु गरिने नेता पौडेलले जानकारी दिए।

नेता पौडेलका अनुसार नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर टोलीमा लगिएको छ। नेता पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाएर करिब एक सातापछि काठमाडौँ फर्किनेछ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दुई जिल्लामा अस्थायी आवास निर्माणका लागि प्राविधिक सहितको टोली पठाउने निर्णय गरेको थियो।

प्रभावित क्षेत्रमा खटिने टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापक समावेश गरी १० जनाको दरले २५ जनाको टोली खटाइने काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताए। सुत्केरी र वृद्धवृद्धाका परिवारलाई लक्षित गर्दै टहरा निर्माण कार्य प्राथमिकतामा राखिएको अर्थमन्त्री समेत रहेका महतले बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.