अराजक शैली हाबी, देश सम्हाल्ने कसले?

अराजक शैली हाबी, देश सम्हाल्ने कसले?

काठमाडौं : देशमा अराजक शैली हाबी भएको छ। मध्यरातको मस्त निद्रामा परेका महिलाहरूलाई युवा सङ्घको नाममा लखेट्ने काम भएको छ। राति पार्टी प्यालेसमा बसेका महिलालाई बाहिर निकालिएको छ।

‘दुर्गा प्रसाईँले बोलाएर आएको होइन, ल गइहाल्नु होस’ भन्दै मध्यरातमा महिलाहरूलाई बाहिर निकालेर युवा सङ्घको नाममा अराजक शैली प्रस्तुत भएको छ। नेपाली नागरिकको नेपालका जुनसुकै ठाउँमा निर्बाध बस्न पाउने संवैधानिक अधिकार खोस्ने दुष्कर्म भएको छ।

प्रतिनिधिसभाको दोस्रो ठुलो दल नेकपा एमालेको भातृ संस्था युवा सङ्घले बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गर्न लागेको छ। प्रदर्शनको पूर्वसन्ध्यामा मङ्गलवार साँझ मसाल जुलुस निकालेको युवा सङ्घले मध्यरातमा इटहरीबाट काठमाडौं आएर पार्टी प्यालेसमा बसेका महिलाहरूलाई निकालेर चिसो सडकबाट समेत खेदेको छ।

आफ्नै पार्टीका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईँसँगको दुस्मनीले सोझासाझा नागरिक पिसिनु परेको छ। आफ्नालाई काखी च्याप्ने र विरोधीलाई सय कोष टाढा पुर्‍याउने अध्यक्ष केपी ओलीको रणनीतिले बल्लबल्ल जोडिएको नेकपा छिन्नभिन्न बन्न पुगेको इतिहास जग जाहेर छ।

पहिले ओलीलाई हजुरबुबा भन्ने दुर्गा प्रसाईँविरुद्ध अहिले एमालेको युवा सङ्घ घम्साघम्सी गर्ने व्यक्तिगत दुस्मनीमा उत्रिएको छ। प्रसाईँलाई कालोमोसो दले पछि बढेको दुस्मनी बिहीबार सडकमा पोखिदैछ। बिहीबार मङ्सिर ७ को आन्दोलनलाई उग्र बनाउन प्रसाईँ र युवा सङ्घ दुवै अनेक उपाय अपनाइरहेका छन्।

रातको समयमा महिलालाई लखेटेको भिडियो सार्वजनिक भए पछि एमालेले पार्टी भित्र छलफल नै गरेको छ। युवा सङ्घ मात्रै नभएर भिडियो सार्वजनिक भए पछि सिङ्गो एमाले पार्टीले नै चौतर्फी आलोचना खेप्नु परेको छ।

चौतर्फी आलोचना पछि एमालेले युवा सङ्घको नाममा प्रसाईँले नै राती बास बसेका महिलालाई निकालेको आरोप लगाएको छ। प्रसाईँ प्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले ‘आफैँ धामी आफै बोक्सी’ भने जस्तै त होइन भनेका छन्।

मानवअधिकार विपरीत मध्यरातमा चेलीबेटी निकालिएको घटनामा एमाले अध्यक्ष ओली र प्रसाईबीच वाक युद्ध चलेको छ। ओलीले प्रसाईँलाई आरोप लगाउँदा प्रसाईँले भने युवा सङ्घलाई अपराधीको झुन्ड भएको संज्ञा दिएका छन्। उनले ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेडा चराउन जानु भएको थियो’ भनेर प्रश्न समेत गरेका छन्।

लोकतान्त्रिक गणतन्त्रको विडम्बना एउटा व्यक्तिको धम्कीविरुद्ध सिङ्गो राज्य संयन्त्र परिचालित हुनु पर्ने अवस्था आएको छ। देश बनाउने भन्दा आफैँ बन्ने काममा मस्त हुँदा राजनीतिक दलहरू आफैँ पलायन हुने बाटोमा पुगेका छन्।

दलहरू मात्रै पलायन हुने होइन गणतान्त्रिक व्यवस्था नै रहने नरहने अड्कलबाजी हुन थालेको छ। व्यवस्था नै धरापमा पर्दा राजनीतिक दलहरूको मात्रै होइन जनताको बोल्न पाउने वैयक्तिक स्वतन्त्रता समेत हरण हुने अवस्था आउन सक्ने देखिएको छ।

सरकार आत्तिएको छ। आत्तिएको सरकारले माइतीघरमा मात्रै नभएर मन्त्रीका निवास, प्रधानमन्त्रीको निवास र राष्ट्रपति निवासमा समेत निषेधाज्ञा जारी गरेको छ। आन्दोलनको रापतापले सत्तामा विराजमान भएकाहरूमा यति बेला छटपटी सुरु भएको छ।

राजा ल्याउन प्रसाईँ सक्रिय, मन्त्री निवासमा निषेधाज्ञा

सशस्त्र युद्ध लडेर आएका प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा काण्डैकाण्डैले नौ महिनामै सरकारबाट बाहिरिनु परेको थियो। अहिले तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई सडकबाट फाल्न सँगै मार्सी चामलको भात खुवाएका प्रसाईँले शक्ति प्रदर्शन गर्दै छन्। एकातिर प्रतिपक्षी एमाले र अर्कोतिर प्रसाईँको आन्दोलनले प्रचण्ड आत्तिएको अभिव्यक्ति दिन थालेका छन्।

आन्दोलन गर्न सिकाएका काँग्रेस, एमाले र माओवादीहरूले नै हुन्। काँग्रेस र एमाले मिलेर पञ्चायत फाले। बहुदलीय व्यवस्थामा बहुमत ल्याएको काँग्रेस आफ्नै कारणले मध्यावधिमा गयो। देशमा १० वर्ष सशस्त्र युद्ध भयो। युद्धको नेतृत्व प्रचण्डले गरे।

अहिलेसम्मको पुस्ताले राजनीतिक परिवर्तनकै लागि कुर्बानी दिइरहनु परेको छ। खोपीका राजालाई देखाएर जनतालाई गरिब बनाउनेहरूले कहिल्यै पछाडि फर्केर नहेर्दा आजको अराजक अवस्था देश र जनताले व्यहोर्नु परेको छ।

२०६२÷२०६३ को आन्दोलनमा राजतन्त्रविरुद्ध सडकमा तातो गोली थाप्न तयार भएकाहरू नै अहिले विगत सम्झेर पिरोलिनु परेको छ। अहिलेको अवस्था आउनुमा तिनै दलहरूको भूमिका प्रमुख रहेको काँग्रेस महामन्त्री गगन थापाले स्वीकार गरेका छन्।

सरकार र प्रतिपक्षमा बस्ने सबैले आन्दोलनको आँधीबेहरी ल्याउने धम्की दिँदै आएका छन्। देश सम्हाल्ने कसले हो? महामन्त्री थापाले प्रश्न गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.