सुरक्षा निकाय ‘हाई अलर्ट’मा, सेनाले निगरानी गर्ने

सुरक्षा निकाय ‘हाई अलर्ट’मा, सेनाले निगरानी गर्ने

काठमाडौं : सरकार फेर्न नेकपा एमाले र व्यवस्था नै बदल्न मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सडकमा निस्कदैछन्। एमाले र प्रसाईँले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बसेका छन्।

नेपाल प्रहरीले प्रसाईँ र बस्नेतको घर वरपर सादा पोसाकमा आफ्ना सुरक्षाकर्मीहरूलाई निगरानीका लागि खटाएको छ। प्रसाईँले एक जना आउने ठाउँमा तीन जना आउने दाबी गर्दै एक लाख मानिस उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन्।

एमालेले भने आफ्नो कार्यक्रममा कति सहभागी हुन्छन् भन्नेबारे जानकारी गराएको छैन। प्रहरी अधिकारीहरूले गरेको सूक्ष्म विश्लेषणमा प्रसाईँको प्रदर्शनमा सात हजारको हाराहारीमा र बस्नेतको कार्यक्रममा तीन हजार ५०० को हाराहारीमा मानिस उपस्थित हुनसक्ने आकलन गरेका छन्।

उपत्यकामा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जनपथ प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना जनशक्ति परिचालन गरेर निगरानी गरिरहेका छन्। मङ्सिर ७ मा हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गरी उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना लागु गरिसकेको जनाएको छ।

सुरक्षा योजना अनुसार आज बिहीबार उपत्यकाभर करिब ७ हजार सुरक्षाकर्मी परिचालन हुनेछन्। प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५ सय भन्दा बढी सशस्त्र प्रहरी परिचालित हुनेछन्। प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको स्रोतले बताएको छ।

एकीकृत सुरक्षा योजना अनुसार २ सय भन्दा बढी प्रहरी सादा पोसाकका प्रदर्शन स्थलमा परिचालित हुनेछन्। काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले सुरक्षा व्यवस्था मजबुत बनाएको दाबी गर्दै डर त्रासमा नरहन सबैमा आग्रह गरेका छन्।

प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डिआइजीको नेतृत्वमा कमान्ड सेन्टर समेत बनाएको छ। प्रहरीले प्रदर्शन स्थलको सुरक्षा निगरानीमा ड्रोनको समेत प्रयोग गर्ने जनाएको छ।

अराजक शैली हाबी, देश सम्हाल्ने कसले?

शान्ति सुरक्षा कायम राख्न प्रविधिसहित आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। प्रदर्शनको समयमा अन्य सुरक्षा चुनौती नभए पनि दुई समूहबीच ‘मुठभेड’ हुन सक्ने आकलन सुरक्षा निकायहरूको छ।

प्रदर्शनले हुनसक्ने ट्राफिक अस्तव्यस्ततालाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक भए मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको छ। कार्यालयले सूचना नै निकालेर विभिन्न समूहले रयाली जुलुस र विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता सृजना हुन सक्ने बताएको हो।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र प्रसाद भट्टले बिहीबार बिहान १० बजेपछि ट्राफिक अवरुद्ध हुने भएकाले अत्यावश्यक बाहेक सडकमा ननिस्किन आग्रह गरिएको बताए।

प्रदर्शनका कारण दिउँसो भक्तपुर हुँदै उपत्यका भित्रिने सवारीसाधन प्रभावित हुनसक्ने एसएसपी भट्टले बताए। सुरक्षा योजना अनुसार ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन्।

मङ्सिर ७ कै प्रदर्शनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको ललितपुरले संयुक्त राष्ट्रसङ्घ भवन र मन्त्री निवास वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। राष्ट्रपति र प्रधानमन्त्री निवास वरपर पनि निषेधाज्ञा आदेश जारी भएको छ।

माइतीघर मण्डलादेखि नयाँबानेश्वर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध अधिवक्ताद्वय स्वागत नेपाल र प्रेमराज सिलवालले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्। बुधवार रिट पेशीमा चढे पनि हेर्न नभ्याइनेमा परेको अदालत प्रशासनले जनाएको छ।

प्रसाईँ पक्ष र राष्ट्रिय युवा सङ्घले एकै स्थानमा प्रदर्शन गर्न खोजेपछि सम्भावित झडप रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार निषेधित क्षेत्र घोषणा गरेको थियो। प्रशासनले पद्मोदय मोडदेखि नयाँ बानेश्वरम्म विरोध प्रदर्शन गर्न र जुलुस निकाल्न ३० दिनसम्म रोक लगाएको छ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.