चिसोले जाजरकोटका प्रजिअ पनि बिरामी

चिसोले जाजरकोटका प्रजिअ पनि बिरामी

काठमाडौं : जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणका लागि स्वयंसेवक खटिएका छन् अस्थायी आवासको काम पनि सुरु भएको छ।

तर, त्रिपालमुनि रात कटाउने परिवारको अवस्था भने कष्टकर बनिरहेको छ।

बुधवार मात्रै पालमुनि बसेका १ जनाको मृत्यु भएको छ। चिसोले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार पनि बिरामी परेका छन्।`चिसोले उहाँलाई हनहन ज्वरो आएको छ,´प्रशासन स्रोतले भन्यो,`औषधी खाएर आराममा हुनुहुन्छ।´

यता नेपाली काँग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माण सुरु गरेको बिहीबार तेस्रो दिन भएको छ।

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोली पुगेर नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मङ्गलवारदेखि अस्थायी टहरा निर्माणको काम थालेको हो। टोलीले टहरा निर्माण जारी राखेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए।

उनका अनुसार टोलीले करिब १०० स्थानीयको अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ। १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरूको भग्नावशेष पन्छाउन पनि सहयोग गरिरहेका छन्।

टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिद्वय सदस्य सुशील भट्ट र महेन्द्र शाह, नेपाली काँग्रेसको कार्यालय सचिव मुक्ति आचार्य, नेता इन्जिनियर दीपक बाबु कँडेल, नेपाली काँग्रेस जाजरकोट जिल्ला सहसचिव छवि पन्त, नलगाड नगरपालिका वडा नं ५ का वडाध्यक्ष ओमराज ओलीसहित नेताहरू भागवत रेग्मी , पुष्प बस्नेत, सुवास घिमिरे, नेबिसंघका १० जना केन्द्रीय सदस्य लगायतका नेता कार्यकर्ता रहेका छन्।

सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेको थियो।

जसअनुसार काँग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय लगत्तै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको हो।

पौडेल नेतृत्वको टोली नलगाड नगरपालिका ४ र ५ नम्बर वडामा खटिएको छ। टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर समेत लगिएको पौडेलले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.