प्रसाईँ नजरबन्दमा परेको हल्ला मात्रै, बालेनलाई दिए प्रधानमन्त्री बन्ने अफर

प्रसाईँ नजरबन्दमा परेको हल्ला मात्रै, बालेनलाई दिए प्रधानमन्त्री बन्ने अफर

काठमाडौं : देशमा महत्त्वपूर्ण चाडबाड सकिएसँगै आन्दोलनको मौसम सुरु भएको छ। आन्दोलनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेका छन्। प्रसाईँको आन्दोलन सुरु गरेको दिन मङ्सिर ७ मा एमालेको भातृ संस्था युवा सङ्घले प्रदर्शन गरेको थियो।

प्रसाईँको आन्दोलनलाई राजतन्त्रबादीहरुले ऊर्जा थपेका छन्। देशमा राजतन्त्र र गणतन्त्रवादीबीच जुहारी चलिरहेको छ। व्यक्तिलाई राजा मान्ने डुङ्गे युगमा फर्कन जनता तयार नहुने जिकिर राजनीतिक दलका नेताहरूले गरिरहेका छन्।

राजतन्त्रको वकालतसहित आन्दोलन सुरु भए पछि दलका नेताहरू जनता भन्दा ठुलो कोही हुन नसक्ने सुनाउन थालेका हुन्। आन्दोलनमा जनसहभागिता उत्साहजनक नभए पछि प्रसाईँ भने अनेक हल्ला फैलाउन थालेका छन्।

स्थानीय प्रशासनसँग अनुमति नै नलिई प्रदर्शनमा उत्रिन आह्वान गरेका प्रसाईँले आफूलाई नजरबन्दमा राखेको हल्ला गरे। नजरबन्दमा परेको हल्ला गरेका प्रसाईँ शनिवार सिफलमा भएको प्रदर्शनमा सहभागी भएर भाषण ठोके।

प्रसाईँले अबदेखि ढाका टोपी र नेपालको झन्डा लिएर आन्दोलनमा उत्रिन आह्वान गरे। आन्दोलनमा जनसहभागिता बढाउन प्रसाईँले काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई प्रधानमन्त्री बन्ने अफर समेत दिए।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिएर राजधानी केन्द्रित आन्दोलन चर्काएका प्रसाईँले बैङ्क तथा लघुवित्तको २० लाख सम्मको ऋण मिनाहा हुने आश्वासन दिएपछि समर्थक सडकमा उत्रिएका छन्। गाउँकै जान्ने बुझ्ने भनिएकाबाट ऋण मिनाहा हुन्छ भन्ने आश्वासन पाएपछि विभिन्न जिल्लाका महिलाहरू आन्दोलनमा सहभागी भएका छन्।

ऋण मिनाहा हुने आश्वासन दिएर आन्दोलन थालेका प्रसाईँको जनसहभागिता कम भए पछि ओठमुख सुकेको छ। उनी पक्राउ परेकाहरूलाई रिहा नगरे प्रहरी प्रशासन नै घेर्ने धम्की दिन थालेका छन्।

प्रसाईँ ऋणले उठिबास लाग्ने अवस्थामा पुगेकाहरूलाई सहभागी गराएर व्यवस्था नै परिवर्तनको चुरीफुरी देखाइरहनु भएको छ। तर, आन्दोलनमा सहभागीहरू व्यवस्था परिवर्तनबारे बेखवर छन्। उनीहरू ऋण मिनाहाका लागि आन्दोलनमा आएको बताउँछन्।

गणतन्त्र ल्याउने एउटै मोर्चामा रहेका दलहरू पनि यति वेला छिन्नभिन्न बनेका छन्। सत्तामा पुग्ने बित्तिकै आफ्नै दुनो सोझ्याउन खप्पिस नेताहरू प्रतिपक्षमा हुँदा गाली पुराण सुनाएर जनता भुलाउन खप्पिस बनेका छन्।

आन्दोलन राजतन्त्र ल्याउने तिर केन्द्रित बनेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको चाहानामा स्थापित भएको लोकतन्त्रलाई मासेर ढुङ्गे युगमा फर्कन नसक्ने सुनाएका छन्।

जनआन्दोलनकै बलमा व्यवस्था परिवर्तन भए पनि अवस्था जहाँको त्यही भए पछि जनतामा निराशा छ। त्यही निराशालाई व्यवस्था विरोधीहरूले क्यास गर्ने उपयुक्त मौकाको रूपमा प्रयोग गरेका छन्।

व्यवस्था विरोधीलाई बल पुग्ने अभिव्यक्ति प्रतिपक्षी दलका एमाले अध्यक्ष ओलीले दिइरहेका छन्। सरकार नै गुन्डाहरूको संरक्षणमा लाग्दा देशबाट सुशासन लोप भएको ओलीले आरोप लगाए।

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने समाजमा धार्मिक अतिवाद र सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको बताए।

ज्ञानेन्द्र झापामा

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ राजतन्त्र ल्याउने भन्दै राजधानीको सडकमा उत्रिँदा पूर्वराजा ज्ञानेन्द्र शाह झापाको कार्यक्रममा पुगेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नेतृत्वमा भएको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बिर्तामोडमा सर्वसाधारणको भीड लाग्यो। पूर्वराजा शाह मोटरसाइकल रयाली तथा नाचगान, बाजागाजासहितको भीडले घेरिए।

दुई दिनअघि मात्रै राजसंस्थाको माग गर्दै विरोधमा उत्रिएको प्रसाईँ नेतृत्वको अभियानलाई बेवास्ता गरेका पूर्वराजा शाहको क्रेज देखाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिन अघिदेखि नै कार्यक्रमको तयारीमा लागेका थिए।

कार्यक्रमको मञ्चमा पूर्वराजासँगै देखिएका लिङ्देनले उत्सवमा सहभागी हुन मात्रै आएको प्रतिक्रिया दिए। त्यसक्रममा केही युवाहरूले राजाको पक्षमा नारा लगाए। पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्वराजा शाहलाई निम्ता दिएको आयोजकले राजाकै रूपमा सम्बोधन र सम्मान गरेको छ।

देशको वर्तमान व्यवस्था र जारी आन्दोलनका बारेमा केही बोल्ने अपेक्षा गरे पनि पूर्वराजा कार्यक्रमको आतिथ्य र सालिक अनावरण गर्नुबाहेक प्रतिक्रिया विहीन भए। पूर्वराजा ज्ञानेन्द्रले झापामा ४५ मिनेट पैदल यात्रा गर्दै स्थानीयसँग भलाकुसारी गरे।

अराजक शैली हाबी, देश सम्हाल्ने कसले?

राजतन्त्र फर्काउने प्रयास हुन थालेपछि सत्ताधारी काँग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन्। गुल्मीमा आयोजित पार्टीको जिल्ला सम्मेलनमा महामन्त्री थापाले राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौती दिए।

महामन्त्री थापाले राजाले धर्म जोगाउँछन् भन्ने भ्रममा नपर्न समेत भने। मौका पर्दा मन्दिरका मूर्ति चोर्नेले सनातन धर्मको रक्षा नगर्ने टिप्पणी गर्दै उनले सनातन धर्म संस्कृतिको रक्षा गर्न काँग्रेस सक्षम रहेको जिकिर गरे।

गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दलहरू यति वेला राजतन्त्र फर्काउने आन्दोलनले डराएका छन्। जनअपेक्षा अनुसार काम गर्न नसकेका दलहरूसँग जनअसन्तुष्टि चुलिएको छ।

त्यसैले पुराना दलहरूमा जेल पर्ने डर उब्जिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिप्पणी गरेका छन्। लामिछानेले दुर्गा प्रसाईँको आन्दोलन सरकारप्रतिको निराशा भएको टिप्पणी गरे।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.