निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भावी प्रधानसेनापति सिग्देलको ‘उमेर विवाद’ अख्तियारमा

भावी प्रधानसेनापति सिग्देलको ‘उमेर विवाद’ अख्तियारमा

379
SHARES

काठमाडौं : नेपाली सेनाका चार तारे जर्नेलहरू एक पछि अर्को गर्दै जन्म मिति विवादमा तानिएका छन्। भावी प्रधानसेनापतिको रोल क्रममा रहेका उपरथी अशोक सिग्देलको जन्म मिति विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ।

प्रधानसेनापतिको लाइनमा रहेका उपरथी ताराध्वज पाण्डेले जन्म मिति विवादकै कारण राजीनामा दिए लगत्तै उपरथी सिग्देलको जन्म मिति विवाद अख्तियारमा पुगेको हो। सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म मिति देखिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ।

प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष र बलाध्यक्ष रथी सीताराम खड्का सदस्य रहेको बढुवा समितिले सिग्देललाई बढुवाका लागि शुक्रवार सिफारिस गरेको थियो। गत असोजमा तत्कालीन उपरथी ताराध्वज पाण्डेलाई बढुवाका लागि यही समितिले सिफारिस गरेको थियो।

नेपाली सेनाले गत शुक्रवार सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गर्दै एक साताभित्र उजुरी दर्ता गर्न आव्हान गरेको छ। सिग्देलको नागरिकतामा २०२३ माघ १९ गते जन्म मिति राखिएको छ। शैक्षिक प्रमाणपत्रमा २०२१ माघ १९ गतेको जन्म मिति छ।

उजुरीमा उपरथी सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेरबारे आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ। उजुरी आवश्यक कारबाहीका लागि अघि बढाइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

उपरथी पाण्डेले दिए राजीनामा, ‘कोर्ट मार्सल’को डर

नेपाली सेना भित्र भने सिग्देलको जन्म मिति विवादबारे उजुरी नपरेको सेनाले जनाएको छ। नेपाली सेनामा यसअघि पनि पटक–पटक उमेर विवादका घटना भएका छन्।

उमेर विवादमा पूर्वप्रधानसेनापति रुक्मांगद कटवालदेखि पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीसम्मको नाम समावेश छ। कटवाल २०६३ साल भदौ २५ गते प्रधानसेनापति नियुक्त भएका थिए भने क्षत्री २०७२ भाद्र २४ गतेदेखि २०७५ भाद्र २४ गतेसम्म प्रधानसेनापति भएका थिए।

पूर्व सहायक रथी हेम खत्री नक्कली प्रमाणपत्रका आधारमा वृत्तिविकाशको अवसर लिएको भन्दै बर्खास्तमा परेका थिए। उनलाई तत्कालीन प्रधानसेनापति गौरव शमशेर जबराले २०७० कात्तिक २७ गते बर्खास्त गरेका थिए।

पूर्व सहायक रथी ज्ञानेन्द्र जङ्ग रायमाझीले शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोप लागे पछि राजीनामा दिएका थिए। सेनामा शैक्षिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रमा भएको जन्म मितिको फरकपनले विवाद कायम रहेको छ।

अख्तियारमा अहिले भने सिग्देलविरुद्ध मात्रै उजुरी परेको छ। विवाद आए राजीनामा दिएर बाहिरिने परम्पराका कारण सेना भित्र आफ्नो स्वार्थपूर्तिका लागि किर्ते गर्ने, फर्जी प्रमाणपत्र पेस गर्नेहरू कायमै रहेको पछिल्लो उजुरीले समेत पुष्टि गरेको छ।

समाचार शेयर गर्नुहोस्
379
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.