सत्ता पल्टाउने धम्की दिने प्रसाईँ आफैँ बिलखबन्दमा

सत्ता पल्टाउने धम्की दिने प्रसाईँ आफैँ बिलखबन्दमा

काठमाडौं : उग्र प्रदर्शनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकहरू धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रसाईँका १५ जना समर्थक पक्राउ परिसकेका प्रहरीले जनाएको छ।

आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमध्ये ५ जनामाथि सार्वजनिक शान्तिविरुद्धको कसुर र तीन जनामाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको छ।

गैरकानूनी भेला हो भन्ने कुरा थाहा पाउँदा पाउँदै कुनै व्यक्ति त्यस्तो भेलामा सहभागी भएमा निजलाई हातहतियार नलिई सहभागी भएको भए छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना र हातहतियार लिएर सहभागी भएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

कुनै राष्ट्रसेवकले आफ्नो कर्तव्य पालन गर्ने सिलसिलामा गैर कानुनी भेला रोक्ने, भङ्ग गर्ने वा हुलदङ्गा रोक्ने कुनै काम गर्दा कसैले बाधा विरोध पुर्‍याउन वा पुर्‍याउने उद्योग गर्नु हुँदैन। यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

कसैले सार्वजनिक सडक, बाटो घाँटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री, सवारी साधन वा पशुको आवागमनलाई बाधा पुर्‍याउन वा कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्न हुँदैन।

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ। सोमबार प्रसाईँसहित उनका समर्थकले पशुपति गौशालामा सडक अवरुद्ध गरेर सुरक्षामा खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए।

दुर्गा प्रसाईँको आन्दोलन चौथो दिनमै छिन्नभिन्न

श्रीनिवास आचार्य, उनका अङ्गरक्षक दीपेश खड्का, धर्मगुरु बताउने आचार्यसँगै हिँड्ने मेहरमान बस्नेत, सहायक सहयोगी अनिल गुरुङ र सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्ने सुजन खड्कामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको प्रहरी स्रोतले बताएको छ।

आचार्यका मुख्य तथा सहायक सहयोगीहरू मनोज थापा, विनन्जय थापा र निकेश बास्तोलामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ। प्रसाईँको आह्वानमा मङ्सिर ७ गतेदेखि काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ।

उग्र प्रदर्शनमा उत्रिएका समर्थकहरू पक्राउ परेपछि प्रसाईँको आन्दोलन लगभग सकिएको छ। सरकारसँगको जन-आक्रोशलाई ऋण मिनाहाको आन्दोलनमा बदल्ने प्रसाईँको सपना पनि चकनाचुर बनेको छ।

प्रसाईँको प्रदर्शनदेखि डराएका राजनीतिक दल सुरक्षा संयन्त्र परिचालन गरेर आन्दोलन दबाउन सफल भएका छन्। ठुलै आन्दोलन गरेर सत्ता उलटपुलट गराउने सपना देखेका प्रसाईँ भने समर्थकहरू नै नपाएर यतिवेला बिलखबन्दमा परेका छन्।

समर्थकहरू कोही पक्राउ पर्ने र कोही घर फर्केपछि प्रसाईँ जर्मनीले नेपाललाई दिएको कर्जा मिनाहा गर्न सक्छ भने नेपालले आफ्ना गरिब श्रमजीवीलाई दिएको कर्जा मिनाहा गर्न किन सक्दैन? भनेर हल्ला फैलाउन थालेका छन्।

प्रसाईँले कर्मचारी र नेताहरूले वर्षमा १५ खर्ब लुटेर खाएको आरोप लगाउँदै एक वर्ष यो लुट धन्दा बन्द गर्ने हो भने यो देशका नागरिकले रुखमा पासो लागेर मर्नु नपर्ने सामाजिक संंजालमा लेखेका छन्।

प्रसाईँमाथि भने आफैँले पनि विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट करोडौँ ऋण लिएको र त्यही ऋण तिर्न नसकेपछि आन्दोलनमा उत्रिएको आरोप लागिरहेको छ। यो आरोपलाई पुष्टि गर्ने स्ट्याटस प्रसाईँले मङ्गलवार सार्वजनिक गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.