भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको चिन्ता, शिविरको नाम परिवर्तनले त्रसित

भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको चिन्ता, शिविरको नाम परिवर्तनले त्रसित

काठमाडौं : भुटानी शरणार्थीहरूले भुटानसँग वार्ता गरेर स्वदेश फिर्तीका लागि पहल गरिदिन आग्रह गरेका छन्। विश्व मानव अधिकार दिवसको अवसरमा नेपाल सरकार र नेपाल स्थित युएनएचसीआरको कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै शरणार्थीहरूले स्वदेश फिर्तीका लागि पहल गरिदिन आग्रह गरेका हुन्।

भुटानी शरणार्थीहरूले शिविरको नाम परिवर्तन गरेकोमा पनि ध्यानाकर्षण गराएका छन्। भुटानी शरणार्थीहरूको मागलाई छलफलको विषय बनाई भुटान सरकारसँग समस्या समाधानार्थ वार्ता गर्न उनीहरूले माग गरेका छन्।

शिविरको कामकाजका कागजातहरूमा समेत भुटानी शरणार्थीहरूको शिविरलाई परिवर्तन गर्दै बस्ती शब्द राख्नाले भुटानी शरणार्थीको पहिचान दिन प्रतिदिन हराउँदै जाने पो हो कि भन्ने चिन्ताले सताई रहेको तर्फ पनि ध्यान दिन उनीहरूले माग गरेका छन्।

स्वदेश फिर्तीका लागि पहल गरिदिन र र शिविरको नाम परिवर्तन नगर्न राष्ट्रिय मेलमिलाप समिति भुटानका संयोजक कृष्ण वीर तामाङ र भुटान स्वतन्त्र जनमञ्चका महासचिव धन वीर (डिबी) सुब्बाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र युएनएचसीआरको कार्यालयमा निवेदन दिएका हुन्।

विगत ३० वर्षदेखि भुटानी निरङ्कुश सरकारको उत्पीडन र दमनमा परी लखेटिएका भुटानी नागरिकहरू शरणार्थीको रूपमा नेपालको झापा र मोरङमा बस्दै आएका छन्। नेपाल सरकारको पहलमा भुटानी नागरिकको समस्या अन्तर्राष्ट्रिय स्तरमा उजागर भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन। शिविरमा हाल ६ हजार ५०० भुटानी स्वदेश फिर्तीको आस गरेर बसेका छन्।

संयुक्त राष्ट्रसङ्घको युएनएचसीआर, विश्व खाद्य कार्यक्रम, विश्व स्वास्थ्य सङ्गठन लगायतका सङ्घ संस्थाको सहयोगमा खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत आवश्यकताहरू पाउँदै आएका भुटानी शरणार्थी अहिले त्यो सुविधाबाट वञ्चित भएका छन्।

नेपाल र भुटानबीच १५ औँ चरणसम्म भएका वार्ताले ठोस निष्कर्ष निकाल्न सकेन। वार्ता अवरुद्ध भएपछि भुटानी शरणार्थी समस्या समाधानका विकल्पहरू मध्ये स्वदेश फिर्तीलाई बेवास्ता गरी तेस्रो देश पुनर्वासलाई मात्र प्राथमिकता दिँदा अमेरिका, अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायत ८ वटा मुलुकहरूमा १ लाख १३ हजार ५०० भुटानी शरणार्थीहरूको पुनर्वास भइसकेको प्रधानमन्त्री र युएनएचसीआरको कार्यालयमा दिएको निवेदनमा उल्लेख गरिएको छ।

भुटानी शरणार्थी समस्या समाधान भएको जस्तो बुझाई रहेको तर समस्या समाधान भई नसकेको तर्फ पटक पटक निवेदन दिएका भुटानी शरणार्थीहरूले यो पटक पनि प्रधानमन्त्री प्रचण्ड र युएनएचसीआरको कार्यालयको ध्यानाकर्षण गराएका हुन्।

भुटानी शरणार्थी शिविर बेलडाँगी झापा र पथरी शनिश्चरे मोरङमा खाद्यान्न, स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत सुविधाहरू कटौती हुँदा पनि आफ्नै देश फर्कन पाउने आशामा लगभग ६ हजार ५०० भुटानी शरणार्थीहरू विभिन्न समस्याहरूसँग जुझ्दै जीवन गुजारा गरिरहेका निवेदनमा उल्लेख गरिएको छ।

भुटानी शरणार्थीहरूका सम्बन्धमा विभिन्न आपराधिक घटनाका विषयहरू समेत उठ्न थालेको प्रति प्रधानमन्त्री प्रचण्डसँग भुटानी शरणार्थीहरूले गम्भीर ध्यानाकर्षण भएको निवेदन गरेका छन्। ‘जसले गर्दा स्वदेश फिर्तीको अधिकार र चाहना माथि कुनै किसिमको आँच नपुगोस्’ संयोजक तामाङ र महासचिव सुब्बाले दिएको निवेदनमा लेखिएको छ।

निवेदनमा ‘भुटानी शरणार्थीहरूको नाममा हाम्रो स्वाभिमान विपरीत विभिन्न आपराधिक घटनाका विषयहरू समेत उठ्न थालेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको ब्यहोरा समेत निवेदन गर्न चाहन्छौँ, जसले हाम्रो स्वदेश फिर्तीको अधिकार र चाहना माथि कुनै किसिमको आँच नपुगोस् भनी ध्यानाकर्षण गर्दछौ’उल्लेख छ।

निवेदनमा भुटानी शरणार्थी शिविर झापाको बेलडाँगी र मोरङको पथरीमा हाल रहेका भुटानी शरणार्थीहरू मध्ये आत्मसम्मानपूर्ण रूपले स्वदेश फर्कन चाहनेहरूको तर्फबाट निवेदन प्रस्तुत गरेको लेखिएको छ।

भुटानी शरणार्थीहरूको समस्याको दीर्घकालीन समाधानका लागि सम्मानजनक स्वदेश फिर्तीको विकल्पलाई अगाडी बढाउन उनीहरूले भनेका छन्। स्वदेश फिर्ती हुन पाउनु पर्ने अधिकार सुनिश्चित गर्नका लागि सहयोग गर्न नेपाल सरकारसँग आवश्यक सहयोग मागेर निवेदन दिएको भुटान स्वतन्त्र जनमञ्चका महासचिव डिबी सुब्बाले जानकारी दिए।

मानव अधिकार दिवसको अवसर पारेर नेदरल्याण्ड्सको हेगमा रहेको भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले भुटानी राजालाई जेलमा रहेका राजबन्दीलाई आममाफी दिन सार्वजनिक अपिल गरेको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.