अन्ततः तेस्रो न्यायाधीशको आदेशमा खाँण जेलमुक्त

अन्ततः तेस्रो न्यायाधीशको आदेशमा खाँण जेलमुक्त

काठमाडौं : अनन्त पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाएर रिहा हुने भएका छन्। न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा राय बाझिए पछि तेस्रो न्यायाधीशको एकल इजलासले खाँणलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले १५ मङ्सिरमा न्यायाधीश जनक पाण्डेको रायमा सहमति जनाउँदै धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

यसअघि दुई न्यायाधीशको इजलासमा राय बाझिएपछि बिहीबार कोइरालाको इजलासले न्यायाधीश जनक पाण्डेको रायमा सहमति जनाउँदै खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिए।

खाँणलाई धरौटीमा रिहा गर्ने आदेशमा उच्च अदालत पाटनले पीडितहरूले खाँणलाई पैसा दिएको भनेर जाहेरी र बयानमा उल्लेख नगरेको, खाँणले प्रहरी र अदालत दुवै ठाउँमा इन्कारी बयान दिएको उल्लेख गरेको छ।

भुटानी शरणार्थी शिविरमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अन्तिम रेकर्ड राख्न बनाइएको कार्यदलको प्रतिवेदनबारे खाँणले चासो देखाएको भनेर कसैले बयान नगरेको आदेशमा लेखिएको छ।

आङटावा शेर्पाले केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि उनीहरूलाई भेटेर खाँणलाई नपोल्न भनेको र त्यसका लागि पैसा फिर्ता लैजानु भन्ने सन्देश आदानप्रदान गरेको घटना विवरण कागजमा उल्लेख थियो।

धरौटी बुझाएर रिहा नहुने टेकनाथको अडान

खाँणविरुद्धको मुद्दा उच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा रुपन्देही पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खाँण निर्दोष भएकाले न्याय पाउने भाषण गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले गत वैशाख २७ गते उनकै निवासबाट पक्राउ गरेको थियो।

सभापति देउवाका विश्वास पात्र खाँणलाई काँग्रेस नेता शेखर कोइरालाले पटकपटक जेलमै गएर भेटेका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान भन्दै करोडौँ ठगी गरेको अभियोगमा खाँणलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्लाको आदेशविरुद्ध पुनरावलोकन निवेदन लिएर गएकाहरूमध्ये ९ जनालाई उच्चले थुनामै पठाएको छ। खाँणसहित ११ जनालाई थुनामुक्त गर्ने आदेश दिएको छ। धरौटीमै छाड्ने आदेश पाएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल भने धरौटी बुझाउन नसके पछि जेलमै छन्।

उच्च अदालतको आदेशमा जेलमै परेकाहरू सर्वोच्च अदालत जाने तयारीमा छन् भने धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय पनि सर्वोच्च जाने तयारीमा छ।

एमाले सांसदलाई सफाइ

काँग्रेस नेता खाँणलाई थुनामुक्त गर्ने आदेश आएकै दिन सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन्। महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरीलाई सफाइ दिने आदेश दिएको हो।

एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको जिल्ला अदालतले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ।

न्यायाधीश भट्टराईको इजलासले शर्मा सहित प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई जन्मकैदको सजाय सुनाएको छ।

प्रहरीको फरार सुचीमा रहेकै अवस्थामा महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका एमाले सांसद कोइरीले संसद्को शपथ लिए पनि निलम्बनमा परेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.