प्रचण्डको अभिव्यक्ति : सरकार कि प्रतिपक्ष छुट्ट्याउनै मुस्किल

प्रचण्डको अभिव्यक्ति : सरकार कि प्रतिपक्ष छुट्ट्याउनै मुस्किल

काठमाडौं : सरकार र प्रतिपक्षी दुवैले पहिचानवादीको आन्दोलनलाई घ्यु थप्ने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातियताको मुद्दालाई बल पुग्ने अभिव्यक्ति दिएका छन् भने एमाले अध्यक्ष केपी शर्मा ओलीले मुक्का हान्नेलाई गोरुको संज्ञा दिएका छन्।

सरकारको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले पार्टी नेताका रूपमा विवादित अभिव्यक्ति दिँदा जनता भ्रममा परिरहेको आरोप लागेको छ। जता गयो उतै ठिक्क पार्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आन्दोलनको बीजारोपण समेत भइरहेको छ।

प्रधानमन्त्री प्रचण्डले शनिवार फेरी विवादित अभिव्यक्ति दिएका छन्। गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए पछि नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको भन्दै अब नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा मनाउने दिन पनि चाँडै आउने प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्डको विवादित अभिव्यक्तिको सत्ता गठबन्धनकै नेताहरूले विरोध गर्दै आएका छन्। काँग्रेस नेता शेखर कोइरालाले जातीय सद्भाव खलबल्याउने अभिव्यक्ति दिने प्रचण्डको पटक पटक राजीनामा नै माग गरेका छन्।

प्रचण्डको अभिव्यक्ति प्रचण्डकै लागि सरकार कि प्रतिपक्ष भन्ने छुट्ट्याउनै मुस्किल पर्न थालेको छ। प्रधानमन्त्रीको दही चिउरे अभिव्यक्तिले कोसी प्रदेशमा पहिचानवादीले आगो बालेका छन्। कोसी प्रदेशको नामकरण खारेजीको माग गर्दै प्रदेशका सबै जिल्लामा यातायात र बजार बन्द गराउने प्रयास पहिचान पक्षबाट भइरहेको छ।

पहिचानवादीहरूले प्रदेशको नाममा विवाद गरिरहेका छन्। कोसी र बागमती प्रदेशको नाममा विवाद गर्दै पहिचानवादीहरू प्रदर्शनमा उत्रिएका छन्। हिजो सत्ता पल्टाउन अनेक आश्वासन दिएका नेताहरू अहिले तिनै कार्यकर्ताको निशानामा पर्न थालेका छन्।

देशको राजधानी रहेको बागमती प्रदेशको नाममा पनि शनिवार विरोध प्रदर्शन भएको छ। बागमती प्रदेशको नाम नेवाःताम्सालिङ राख्नु पर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन भएको हो।

उनीहरूले भोटले नमात्तिन शासकहरूलाई भनेका छन्। शासकहरूलाई ज्ञानेन्द्र शाहको अवस्थामा पुर्‍याइदिने गरी सिंहदरबारमा १० रेक्टर स्केलको भूकम्प ल्याउने धम्की पनि उनीहरूले दिएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड गत आम चुनावबाट ३२ सिट जितेर प्रधानमन्त्रीको कुर्सीमा बसेको एक वर्ष पुग्नै लागेको छ। संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसलगायत दश दलीय गठबन्धनको समर्थनमा तेस्रो पटक प्रधानमन्त्रीको पदमा आसीन प्रचण्डको काम दैनिक जसो भाषण गर्नेमा बितिरहेको छ।

प्रधानमन्त्री प्रचण्डको कार्यशैली देखेर सत्ता गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसको इतर समूहले सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेको छ। महामन्त्री गगन थापाले आगामी महासमिति बैठकबाट गठबन्धनका नाममा माओवादीलाई जिताएर सरकारमा पुर्‍याउने काम नगर्ने निर्णय गर्नुपर्ने बताएका छन्।

शनिवार बिहान मात्रै मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन उद्घाटन गरेर काठमाडौँ फर्किएका प्रधानमन्त्री प्रचण्डले भने आफू नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन गर्ने पहिलो प्रधानमन्त्री भएकोमा गर्भ लागेको सुनाएका छन्।

२०७९ साल गठेमङ्गलबाट सुरु भएको १२ वर्षे जात्रा समापन गर्न ललितपुरको थेचोमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले यो भन्दा खुसीको कुरा अरू हुन नसक्ने बताए।

प्रचण्डले आफ्नो गुणगान गाइरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि धनकुटामा भएको मुक्का प्रहारबारे मुख खोलेका छन्। सङ्कल्प यात्रा अन्तरगत शनिवार पाँचथरको फिदिममा आयोजित सभामा अध्यक्ष ओलीले आफूमाथि हात हाल्न खोज्ने पहिचानवादीलाई गोरुको संज्ञा दिए। ‘मान्छेले घ्याच्च सिङले हान्नु हुँदैन’ओलीले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटीमा छुट्दा नेता टोपबहादुर रायमाझी माओवादीबाट एमालेमा लागेकै कारण जेलमै बस्नुपरेको प्रतिक्रिया ओलीले दिए।

तर राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले भने प्रचण्ड र ओली जो सुकैले सरकार चलाए पनि देशको प्रगति नहुने देखिसकेको बताए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.