निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रपतिले रोके सिफारिस, तनावमा परे पाण्डेय

राष्ट्रपतिले रोके सिफारिस, तनावमा परे पाण्डेय

577
SHARES

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को महासचिव नियुक्तिको सिफारिस पेण्डिङमा राखेका छन्।

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पदम प्रसाद पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए।

राजीनामा स्वीकृत नहुँदै नयाँ महासचिव नियुक्तिको सिफारिस कानुन बमोजिम नभएको भन्दै राष्ट्रपति कार्यालयले पेण्डिङमा राखेको जनाएको छ। महासचिव गौतमले दिएको राजीनामा स्वीकृत भएसँगै पाण्डेयको नागरिकतामा उमेर विवाद आएपछि नियुक्ति अनुमोदन गर्न राष्ट्रपति कार्यालयले समय लिएको छ।

तर, सङ्घीय संसद् सचिवालयले भने पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेको छ। राष्ट्रपति कार्यालयले सिफारिस पेण्डिङमा राखेसँगै सचिवालय कार्यवाहक महासचिवको भरमा सञ्चालन भइरहेको छ।

राष्ट्रपति पौडेलले सिफारिस पेण्डिङमा राख्नु र त्यहीबीचमा नागरिकता विवादमा पर्दा कार्यवाहक महासचिव पाण्डेयलाई भने तनाव भएको छ। पहिले लिएको नागरिकता र प्रतिलिपि लिएको नागरिकतामा जन्ममिति फरक परेका कारण पाण्डेयलाई तनाव भएको हो। नागरिकता हराएर प्रतिलिपि लिदाँ जन्म मिति फरक परेको उनले बताए।

जन्ममिति फरक परेको नागरिकता ९ वर्ष पछि परिवर्तन गरेका पाण्डेयले यति धेरै विवादमा परिने नसोचेको बताए। उनले दोस्रो नागरिकता नलिएको भन्दै प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय पाल्पा र आफूबाट पनि भुल भएको स्वीकार गरे। उनले नागरिकताको प्रतिलिपि लिएकै दिन जन्म मिति फरक परेको जानकारी गराउँदा प्रशासकीय अधिकृतलाई गराएका थिए।

तर, उनले उल्टै धम्की पाए। पाण्डेयले हराएको पुरानो नागरिकता भेटिए पछि प्रशासन कार्यालयमा बुझाएर नयाँ लिएको सुनाए। उनले कुनै ठाउँमा लाभ लिने उद्देश्यबाट जन्ममिति फरक परेको नागरिकता प्रयोग नगरेको दाबी गरे। प्रशासकीय अधिकृतले थ्रेटन दिएका कारण सुरुमै सच्याउन नसकेको पाण्डेयले बताए।

पाण्डेयले आफूमाथि शङ्का लागे फिजिकल टेस्ट गर्न चुनौती पनि दिए।

महासचिव नियुक्तिको सिफारिसमा राष्ट्रपतिले औँल्याए त्रुटि, संसद् बेखवर

पाण्डेयको जन्म २०२७ साल असोज १४ गते हो। नागरिकतामा भने जन्ममिति २०२६ साल रहेको छ। ‘किन भने म एसएलसी दिने बेलामा १५ वर्षको थिए, त्यतिखेर १६ वर्षको चाहिन्थ्यो,’पाण्डेयले पहिचानसँग भने,‘सरहरूले एक वर्ष बढाएर फर्म भरिदिनु भयो।’ निजामती सेवामा प्रवेश गर्दाको जन्म मिति २०२६ साल असोज १५ गतेको रहेको उनले बताए।

अमेरिकी सरकारको छात्रवृत्तिमा मास्टर्स गरेका हुन् पाण्डेयले। पढाइ सकेर स्वदेश फर्कन लाग्दा प्रोफेसरले अमेरिकामै बस्न सुझाएका थिए।

अमेरिकामा अध्ययन सकेर देशकै लागि केही गर्न भनेर फर्किएको बताउँदै कार्यवाहक महासचिव पाण्डेय भावुक समेत बने। ‘देश बनाउनु पर्छ, मातृभूमिमा गएर काम गर्नुपर्छ भनेर फर्केको मान्छे,मलाई त्यही बसेको भए पनि हुन्थ्यो नि,अहिले मलाई अलिअलि पीडा हुन्छ’पाण्डेयले भने,‘कतै मैले गल्ती त गरिन, मातृभूमिका लागि माया गरेर भन्ने लाग्छ।’

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पनि कार्यवाहक महासचिव पाण्डेयको नागरिकता विवादमा चासो लिएको छ। सभापति रामहरि खतिवडाले बुधवार पाण्डेयसँग नागरिकता विवादबारे जानकारी लिएको बताए। ‘मैले उहाँ (पाण्डेय)कै कार्यकक्षमा गएर सोधपुछ गरेको छु,’सभापति खतिवडाले भने,‘उहाँले प्रस्ट पार्छु भन्नु भएको छ, आवश्यक परे समितिमा बोलाएर पनि छलफल गर्न सकिन्छ।’

समाचार शेयर गर्नुहोस्
577
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.