काठमाडौं : भुटानी जनताको प्रतिनिधि चुनिएका नेपाली भाषी टेकनाथ रिजालले सन् १९८८ मा शरण खोज्दै नेपाल पसेका थिए। नेपालमा भूमिगत भएर बसेका रिजाल राजकीय षडयन्त्रमा परेर भुटानबाट भागेका थिए।
‘तिमीहरूको टेकनाथ रिजाल खोइ?’ भन्दै थप अत्याचार बढ्न थालेपछि स्थानीय तहका जनप्रतिनिधि, जनसाधारण कतिपय विद्यार्थी रिजालसँग परामर्श लिनका निम्ति खोजी गर्दै आसाम र बङ्गालतिर भौँतारिन थालेका खबर सुनेको निर्वासन पुस्तकमा लेखिएको छ।
निर्वासन पुस्तकको १५ औँ अध्यायमा रिजालले लेखेका छन्,‘आखिर के कारणले भुटानका जनता यस अत्याचारको सिकार भएका हुन्? म स्वयं किन षडयन्त्रको सिकार भएको हुँ? यसका कतिपय कारणहरू थिए, ती कारणहरूको निदान बिना भुटानी जनताको कल्याण सम्भव थिएन साथै म विरुद्धको षडयन्त्रलाई सच्याउने सम्भावना पनि थिएन।’
भुटानभित्र सङ्गठन खोल्न प्रतिबन्ध लगाइएको छ। सार्वजनिक सभा गर्न बन्देज छ। स्वतन्त्र पत्रकारिताको नामनिसान छैन। सरकारी कार्यालय मौखिक कानुनबाट सञ्चालित छन्। मौखिक कानुन स्वभावैले मनपरीतन्त्रको पर्याय हो। त्यसैले जति कार्यालयका कारिन्दा फेरिन्छन् उति नै कानुन फेरिन्छन् भुटानमा।
भुटानको भेदभाव सुन्दा नै आङ जिरिङ हुने खालको छ। तथाकथित ठुला मान्छे, अझ ठुला हुने क्रम जारी छ भने सानो भनिने मान्छे झन् सताइने क्रम बढ्दो छ। समाजका सबै अङ्गमा जातियताको मन्द विष फैलिएको छ।
भुटानका जनताले देशका निम्नकोटिका काममा आफूलाई सीमित बनाउनु परेको छ। मानौँ ती जनता देशका कुल्ली वा दास मात्र हुन्। ‘भुटानका वर्तमान शासक सम्भवतः यसैलाई शासन व्यवस्था भन्दा हुन्,’रिजालले प्रश्न गरे,‘यसलाई व्यवस्था भन्ने हो भने अव्यवस्था चाहिँ केलाई भन्ने त?’
एउटा अव्यवस्थालाई व्यवस्थाको नाम दिएर शासन गर्ने शासकले कसरी मानिसको मौलिक हक समेतमा बन्देज गर्ने हदसम्मको अत्याचार गर्न संकोज मान्दैनन् भन्ने घटनाको साक्षी भएको छ भुटान। सन् १९८८ मा मौलिक परम्परामा अतिक्रमण गरियो।
भ्रष्टाचारमा नियन्त्रण गर्ने निकाय स्वयं भ्रष्टाचारमा लिप्त हुने परिपाटी तीव्र भयो भने विदेशबाट आएको रकमको दुरुपयोग व्यापक रूपमा बढ्यो। परिणाम भयावह हुँदै गयो। समस्या गाउँका विद्यालय, मन्दिरमा मात्र सीमित रहेन। देशभित्र बढ्दै गइरहेको अव्यवस्थाले राष्ट्रियता नै सङ्कटमा पर्न थालेको आभास पाएपछि स्थानीय जनता प्रतिकारमा ओर्लिए।
सन् १९८८ मै भुटानभित्र रतन गजमेर, मनबहादुर क्षेत्रीजस्ता चेतनशील युवाहरूले त्यस सङ्गठनको निर्माण गरेर त्यस विद्यार्थी सङ्गठनको नेतृत्व गर्ने जिम्मेवारी विश्वनाथ क्षेत्रीलाई दिइयो। रिजाललाई भुटानका विद्यार्थी, बुद्धिजीवीहरू भेट्न झापाको बिर्तामोड आउँथे। उनीहरूले नै रिजाललाई वर्तमान समस्याको समाधान खोज्न अगुवाइ गर्ने जिम्मेवारी दिए।
रिजालको नेतृत्वमा सन् १९८९ जुलाई ७ मा भुटान मानव अधिकार सार्वजनिक मञ्च नामक सङ्गठन खुल्यो। सङ्गठन खुले लगत्तै रिजाललाई भेटेर भुटान फर्किएका रतन गजमेर पक्राउ परे। रतनको गिरफ्तारी देशभित्र भएको यस प्रकरणको पहिलो घटना थियो।
उनको गिरफ्तारीको १५ दिन पनि समय नबित्दै राष्ट्रिय शैक्षिक संस्थानका प्रशिक्षार्थी मनबहादुर क्षेत्री, विश्वनाथ क्षेत्री गिरफ्तार भएको निर्वासन पुस्तकमा रिजालले लेखेका छन्।
मनबहादुर क्षेत्रीको भुटान सरकारको हिरासतमा रहस्यमय मृत्यु भयो। सन् १९८९ नोभेम्बर १५ मा रिजालसँगै जोगेन गजमेर र सुशील पोखरेललाई नेपाल प्रहरीले झापाको बिर्तामोडबाट गिरफ्तार गर्यो। तीन जनालाई लिन ड्रुक एयरलाइन्स लिएर भुटानी कर्णेल भी. नाम्गेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए।
‘आखिर नेपाल सरकारले पक्राउ गरेर भुटान सरकारसमक्ष किन सुम्पियो?’ रिजालले प्रश्न गरेका छन्। रिजाल, गजमेर र पोखरेललाई भुटान पुर्याएर राबुना जेलको छुट्टा छुट्टै कोठामा राखियो। रिजाललाई राखिएको राबुना जेलमा रतन गजमेर, देवदत्त पौडेल, भक्ति भण्डारी र विश्वनाथ क्षेत्री पनि थिए। ‘तर, यो जानकारी राबुनामा रहँदा धेरै समयसम्म भएन’ निर्वासन पुस्तकमा लेखिएको छ।
राबुनामा दुई वर्ष राखेपछि रिजाललाई थिम्पुको चेम्गाङ जेलमा पुर्याइयो। अन्तर्राष्ट्रिय शक्तिको दबाबका कारण कैदीहरूलाई राम्रो वातावरण देखाउन जेल प्रशासनले वनभोज लगेको प्रसङ्ग पनि रिजालले निर्वासन पुस्तकमा लेखेका छन्।
जेलको छेउमै सुनकोश नदीको एउटा शाखा बगेर आएको ठाउँमा पुर्याउँदा त्यहाँ रतन गजमेर, सुशील पोखरेल, जोगेन गजमेर, देवदत्त पौडेल, भक्ति भण्डारी र विश्वनाथ क्षेत्रीलाई भेट्न पाएको उल्लेख गरेका छन्।
भुटानी जेलबाट रिहा भएका, उठीबास पारेर लखेटिएका सबैको आश्रय स्थल नेपाल बन्न पुग्यो। भारतको बाटो हुँदै नेपाल आएकाहरू मध्ये अहिले अधिकांश तेस्रो देश पुर्नवास भइसकेका छन्। नेपालको शरणार्थी शिविरमा ६ हजार ५ सय भुटानी बसिरहेका छन्। स्वदेश फर्कन पाउने पहिलो बुँदा कार्यान्वयन गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको रिजाल ४ जेठ २०८० मा पक्राउ परे।
टेकनाथले बुझाए धरौटी, पुस ११ मा मात्रै रिहा हुने
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाललाई उच्च अदालत पाटनले १५ मङ्सिर २०८० मा धरौटीमा रिहा गर्न आदेश दियो। १५ लाख रुपैयाँ धरौटी रकम जम्मा गर्न नसक्दा रिहा हुन नपाएका रिजाललाई राबुना र चेम्गाङ जेलका सहयोद्धा विश्वनाथ क्षेत्रीले केन्द्रीय कारागार जगन्नाथदेबलमा भेट्न पुगे।
पूर्व भुटानी शरणार्थीको नेतृत्व गर्दै क्षेत्रीले रिजाललाई रिहा गराउन धरौटी रकम जम्मा गराइदिए। आइतबार नै रिजालले काठमाडौं जिल्ला अदालतमा कानुन व्यवसायी राजकुमार सुवालमार्फत १५ लाख रुपैयाँको बैङ्क ग्यारेन्टी बुझाए।
भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि रिजालले नेतृत्व गरिरहेका थिए। उनै रिजालको रिहाइका लागि धरौटी रकम जम्मा गर्न नसकेकोमा तेस्रो देश पुर्नवास भएका भुटानीलाई नागरिक अभियन्ताहरूले ‘खोलो तरे, लौरो बिर्से’ भनेर प्रतिक्रिया सार्वजनिक गरेका थिए।
प्रदीप भट्टराईले ट्विट गर्दै लेखेका थिए,‘भुटानी आन्दोलनका सर्वोच्च नेता टेकनाथ रिजाल १५ लाख धरौटी बुझाउन नसकेर जेलबाट नछुटेको बेला उनको अथक प्रयासले अमेरिका पुनर्स्थापित डलर करोडपति डिल्ली अधिकारी भने लाखौँको नाचगान गराउँदै थिए। करोडको रियालिटी सो गर्ने यिनले खोलो तरे, लौरो बिर्से।’
सामाजिक सञ्जालमा नामै तोकेर आलोचना भइरहेको थियो। त्यसै बेला विश्वनाथले नेतृत्व लिएर रिजाललाई अदालतले मागेको धरौटी जुटाइदिए। रिजालको रिहाइका लागि धरौटी जुटाइदिएर क्षेत्री मानव अधिकार सञ्जाल झापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।
दुई दिन सार्वजनिक बिदा भएकाले रिजाल अब ११ पुसमा मात्रै रिहा हुनेछन्। रिहा हुनु अघि उनलाई सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिने कारागार प्रशासनले जनाएको छ।
रिजाल सक्कली भुटानी शरणार्थी समस्या समाधानमा लाग्दा नक्कली भुटानीको चलखेल भयो। नेपाल सरकारका पूर्वगृहमन्त्री, उपप्रधानमन्त्री, सचिवसम्मको मिलेमतोमा नक्कली बनाउने काम भयो र आरोप रिजालमाथि पनि लगाइयो। त्यही आरोपमा पक्राउ परेका रिजाल धरौटी बुझाएर रिहा हुन लागेका हुन्।
पक्राउ पर्नु अघि रिजालले नेपाल सरकारका उच्चपदस्थ नक्कली बनाउने काममा लागेको बताएका थिए। प्रधानमन्त्री, गृहमन्त्री, सचिव समेत संलग्न भएर भुटानी शरणार्थीको बिचल्ली बनाउने काम भइरहेको पहिचान मिडियाबाट सार्वजनिक भएको तीन दिनमै रिजाल पक्राउ परेका थिए। ‘नेपालका उच्चपदस्थ मिलेर सक्कली भुटानी शरणार्थीको बिजोग बनाउन लागेका छन्,’पक्राउ पर्नु अघि रिजालले भनेको सुनाउँदै भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले भने,‘राम भाइ, कुन दिन मलाई पनि पक्राउ गर्न सक्छन्, त्यसो गरे भने पनि तपाईँहरूले आश्चर्य नमान्दा हुन्छ है।’
उच्च अदालतले मागेको धरौटी बुझाएर रिहा हुन लागेका रिजाललाई कार्कीले ‘भुटानी प्रजातान्त्रिक आन्दोलनको खम्बा’ भनेर स्वागत गरेका छन्।
कार्कीले रिजालको नेतृत्वमा भुटानी शरणार्थी स्वदेश फर्कने अभियान सशक्त हुने विश्वास गरेका छन्। ‘रिजालले नेपालको अदालतबाट पूर्ण न्याय पाएर सम्पूर्ण भुटानीलाई स्वदेश फर्काउने पहल गर्नुहुनेछ,’कार्कीले भने,‘हामी विश्वका विभिन्न देशमा छरिएर रहेका भुटानी नागरिकहरू रिजाल रिहा हुन लागेको खबरले धेरै खुसी भएका छौँ।’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.