टेकनाथले बुझाए धरौटी, पुस ११ मा मात्रै रिहा हुने

टेकनाथले बुझाए धरौटी, पुस ११ मा मात्रै रिहा हुने

काठमाडौं : भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आइतबार अबेर काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

उच्च अदालत पाटनको आदेश अनुसार रिजालले काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैङ्क ग्यारेन्टी बुझाएका हुन्।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रिजालले आइतबार मात्रै बुझाएका हुन्।

रिजालको तर्फबाट कानुन व्यवसायी राजकुमार सुवालले अदालतमा कुमारी बैङ्कको बैङ्क ग्यारेन्टी बुझाए। जिल्ला अदालतमा धरौटी बुझाए पनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार बयान हुन नसक्दा रिजाल रिहा हुन भने पाएनन्।

अदालतबाट विभागमा लगिए पनि कार्यालय समय सकिएकाले बयान हुन नसक्दा रिजाललाई पुन केन्द्रीय कारागार जगन्नाथदेबल सुनधारामै लगेर राखिएको कारागार प्रशासनले जनाएको छ।

उच्च अदालतले आदेश दिएको २३ औँ दिनमा मात्रै रिजालले धरौटी रकम बुझाए। सोमबार र मङ्गलवार सार्वजनिक बिदा रहेकाले रिजाललाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारमा बुधवार मात्रै बयानका लागि उपस्थित गराइने कारागार प्रशासनले जनाएको छ।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेश अनुसार जिल्ला अदालतमा ३० लाख र विभागमा १५ लाख रुपैयाँ नबिल बैङ्कको बैङ्क ग्यारेन्टी बुझाएर रिहा भएका थिए। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि ३० लाख अदालतमा र १५ लाख विभागमा इन्भेस्टमेन्ट बैङ्कको बैङ्क ग्यारेन्टी बुझाएर रिहा भएका थिए।

नक्कली शरणार्थी प्रकरणका आरोपी नरेन्द्र केसीले अदालतमा १० लाख र विभागमा ५ लाख, हरिभक्त महर्जन अदालतमा १५ लाख र विभागमा साढे ७ लाख, शमशेर मियाँले अदालतमा १० लाख र विभागमा ५ लाख धरौटी बुझाएका थिए। अर्का आरोपी रामशरण केसीले अदालतमा १५ लाख रुपैयाँ धरौटी बुझाएका थिए।

कसरी जुट्यो धरौटी?

धरौटी रकम जम्मा गर्न भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वनाथ क्षेत्रीले नेतृत्व गरे। रिजालले आफूले कुनै गलत नगरेको भन्दै धरौटी बुझाएर रिहा नहुने अडान लिएका थिए। क्षेत्रीले नै रिजाललाई जेलमुक्त हुन सुझाएका थिए।

भुटानको प्रजातान्त्रिक आन्दोलनका नेता रिजालसँगै क्षेत्रीले आन्दोलन गरेका थिए। क्षेत्रीले रिजालसँगै केही समय भुटानमै कठोर जेल जीवन बिताएका थिए।

जेलबाट निस्केपछि भागेर सन् १९९० ताका क्षेत्री नेपाल आएका थिए। त्यसपछि सन् १९९९ मा नेपाल हुँदै क्षेत्री अमेरिका पुगेका हुन्। क्षेत्रीले अमेरिकास्थित भर्जिनिया राज्यको भर्जिनिया डिपार्टमेन्ट अफ मोटर भेइकल कार्यालयमा केही वर्ष मेनेजर रही काम गरेका थिए।

क्षेत्री हाल पेन्सिलभानिया राज्यमा घर किनबेच गर्ने एक स्वतन्त्र व्यवसायी छन्। क्षेत्रीलाई पेन्सिलभानिया राज्यका गभर्नर टम उल्फले सन् २०१९ मा एसियन प्यासिफिक अमेरिकी एफयर्सको सल्लाहकार कमिसनमा सन् २०२१ को डिसेम्बर ९ सम्मका लागि नियुक्त गरेका थिए।

भुटानको प्रजातान्त्रिक आन्दोलनका नेता रिजालसँगै भुटानको प्रजातान्त्रिक आन्दोलनका पक्षमा रहेर आन्दोलन गर्ने विद्यार्थी नेताका रूपमा क्षेत्री परिचित थिए। रिजालसँगै केही समय भुटानमै कठोर जेल जीवन बिताएका क्षेत्री जेलबाट निस्केपछि भागेर सन् १९९० ताका नेपाल आएका थिए।

उनी सन् १९९९ मा नेपाल हुँदै अमेरिका पुर्नबास भएका हुन्। क्षेत्री रिजाललाई भेट्न जेलमै पुगेका थिए। भुटानी प्रजातान्त्रिक आन्दोलनका सहयोद्धा क्षेत्रीकै नेतृत्वमा रिजालका लागि धरौटी रकम जुटेको स्रोतले बताएको छ।

भुटानमा प्रजातान्त्रिक आन्दोलन सुरु गर्दा रिजाल भन्दा १५ दिन अघि मात्रै पक्राउ परेका थिए क्षेत्री। क्षेत्री रिजाललाई जेलमा भेटेर मानवअधिकारवादी सहितको टोली लिएर झापास्थित घरमा समेत पुगेका थिए।

नेपालमा रहेका र तेस्रो देश अमेरिका, अस्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड्स लगायतका देशमा पुर्नवास भएका पूर्व भुटानी शरणार्थीहरूले रिजालमाथि अन्याय भएको भन्दै रिहाइका लागि नेपाल सरकारसँग अनुरोध गरेका थिए।

उनीहरूले नेपालको भुटानी शरणार्थी शिविरमा रहेका नागरिकको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्दा रिजाल पक्राउ परेको भन्दै अन्याय भएको बताइरहेका छन्।

नेदरल्याण्ड्सको हेगमा रहेका भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले रिजालको स्वास्थ्य अवस्था उल्लेख गर्दै विज्ञप्ति निकालेका थिए। संयोजक कार्कीले २८ असारमा विज्ञप्ति निकालेर कारागार प्रशासनसँग पटक पटक राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा समेत बेवास्ता गरेका कारण रिजाल चिसोका कारण बारम्बार अस्वस्थ भएका उल्लेख गरेका थिए।

कार्कीको विज्ञप्ति पछि तत्कालै मानव अधिकारवादीहरूको टोली केन्द्रीय कारागार पुगेर रिजालको अवस्था अनुगमन गरेको थिए। रिजाललाई इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, कृषि विज्ञ समेत रहेका भुटानी अभियन्ता गोविन्द रिजाल लगायतले कारागारमै भेटेका थिए।

रिजाल पक्राउ परेकोमा नेपाल सहित तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकले चिन्ता व्यक्त गर्दै आएका छन्। भुटानी साहित्यकार एवं बुद्धिजीवी भक्तराज घिमिरेले रिजालमाथि अन्याय भएको बताएका थिए।

श्रीमती कौशिला टेकनाथ जेल परेसँगै चिन्तित थिइन। उनले रिजाललाई उमेर र स्वास्थ्य अवस्थाका कारण कारागारमा नराख्न अपिल समेत गरेकी थिइन। उच्च अदालत पाटनले १५ लाख धरौटीमा रिहा गर्ने आदेश दिए पछि कौशिलाले धरौटी बुझाउने रकम नभएको बताएकी थिइन।

जिल्ला अदालतमा धरौटी बुझाएर सम्पत्ति शुद्धीकरण विभागमा लैजाँदै गर्दा रिजालले न्यायिक लडाई अझै बाँकी रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन्। ‘भुटानी राज्यसत्ता विरुद्धको आन्दोलनका कारण देश निकाला गरिएका लाखौँ नागरिकलाई स्वदेश फर्काउने मेरो अभियान रोकिने छैन,’रिजालले भने,‘न्यायिक लडाई सकिएको छैन, अन्तिम अवस्थासम्म लडिरहनेछु।’

उनले आफ्नो रिहाइका लागि सहयोग गर्ने सम्पूर्ण भुटानी नागरिकलाई धन्यवाद दिएका छन्। रिजाल अब २० पुसमा काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। यसअघि धरौटी बुझाएर रिहा भएकाहरू पनि २० पुसमा नै अदालतमा उपस्थित हुनु पर्ने गरी तारेख दिइएको काठमाडौं जिल्ला अदालतले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading