नक्कली शरणार्थी : टेकनाथलाई आरोपीसँगै राख्दा असुरक्षा, रिहा गर्न अभियानको माग

नक्कली शरणार्थी : टेकनाथलाई आरोपीसँगै राख्दा असुरक्षा, रिहा गर्न अभियानको माग

काठमाडौं : भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई बयान फेर्न दबाब आइरहेको बताएको छ।

पहिचान अनलाइनमा २३ असारमा प्रकाशित ‘टोपबहादुरका वकिलले दिए टेकनाथलाई बयान फेर्न दबाब’ दिएको समाचारलाई उद्धृत गर्दै नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका रिजाललाई पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलले बयान फेर्न दबाब दिइरहेको अभियानले बताएको हो।

अभियानका संयोजक राम कार्कीले बिहीबार विज्ञप्ति निकालेर अर्का अभियुक्त इन्द्रजित राईबाट समेत असुरक्षा रहेको उल्लेख गरेका छन्। शरणार्थी नेता रिजालले आफ्नो बयानमा मुख्य आरोपीको रूपमा राईको नाम दिएका थिए।

थुनामा रिजाललाई राईसँगै राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको संयोजक कार्कीले उल्लेख गरेका छन्। थुनामा रहेका रिजालले राम्रो ओढ्ने ओछ्याउनेसमेत नपाउँदा अस्वस्थ बनेको कार्कीको भनाई छ।

नेदरल्यान्ड्सको हेगमा रहेको अभियानले निकालेको विज्ञप्ति अनुसार कारागार प्रशासनसँग पटक पटक राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा समेत बेवास्ता गरेका कारण रिजाल चिसोका कारण बारम्बार अस्वस्थ भएका छन्। अभियानले रिजाललाई नक्कली भुटानी शरणार्थी घोटालामा दोषी बनाएर गलत रूपमा आरोप लगाएको दाबी गर्दै तत्काल रिहाइको माग पनि गरेको छ।

भुटानी मानव अधिकारकर्मीसमेत रहेका रिजाललाई रिहा नगर्दासम्म उनले अदालती बयानमा नाम लिएका बन्दीहरूबाट टाढा र चिसो नभएको छुट्टै कोठामा राख्न समेत अभियानले माग गरेको छ।

त्यस्तै, रिजाललाई कोठामा न्यानो राख्न पर्याप्त सुत्ने सामग्री उपलब्ध गराउन माग राखेको अभियानले अपरिचित व्यक्तिले रिजाललाई भेट्न खोजे रिजालसँग परामर्श लिएर मात्रै अनुमति दिनुपर्ने भनेको छ।

नेपालको जेलमा बन्दी बनेका टेकनाथ रिजालको निर्वासन : अध्याय १ (भिडियो)

रिजालको नाजुक स्वास्थ्य र वृद्धावस्थाका कारण आवधिक रूपमा चिकित्सा जाँचहरू प्रदान गर्न र जेलमा उचित सुरक्षासमेत प्रदान गर्न अभियानले माग राखेको छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरूलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा रिजालको स्वास्थ्य अवस्था बारे सोधपुछ गर्ने व्यवस्था मिलाउन पनि अभियानले अनुरोध गरेको छ।

नक्कली शरणार्थी प्रकरणमा फरार अभियुक्त केशव तुलाधर समातिएका छन्। काठमाडौं महानगरपालिका ३० असनका तुलाधरलाई प्रहरीले बुधवार सानोभर्‍याङबाट नियन्त्रणमा लिएर कारबाहीका लागि प्रहरी परिसर टेकुमा पठाएको छ। यस प्रकरणमा अझै ९ जना फरारको सूचीमा छन्। १६ जना पुर्पक्षको लागि थुनामा छन् भने दुई जना धरौटीमा रिहा भएका छन्।

भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानको प्रेस विज्ञप्ति

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइको लागि ग्लोबल अभियान (GCRPPB), भुटानी राजनीतिक बन्दीहरूको तत्काल र बिना सर्त रिहाइको लागि अभियान गर्न २०१९ मा गठन गरिएको हेगमा रहेको संस्था हो। भुटानमा चार दशकदेखि मानव अधिकार बन्धकमा परेको छ । मानव अधिकारको आवाज उठाउने १ लाख भन्दा बढीलाई देश निकाला गरिएको छ। भुटान भित्रै रहेका मानव अधिकारका पक्षधरलाई खोजिखोजी जेलमा बन्दी बनाइएको छ। दुखदायी र पीडादायी जीवन बिताउन भुटानी राजाले विवश बनाइरहेका छन्। उनीहरूको तत्काल रिहाइका लागि भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियान अन्तर्राष्ट्रिय समुदाय सँग अपिल गर्दछ।

हालैका समाचारहरूका अनुसार GCRPPB आफ्नो गहिरो चिन्ता व्यक्त गर्न चाहन्छ। टेकनाथ रिजाल भुटानका पूर्व राजनीतिक बन्दी वा लोकतन्त्रको लागि भुटानी आन्दोलनको सबैभन्दा अग्लो नेतालाई अन्य उच्च–प्रोफाइलका बन्दीहरूले अदालतको बयान परिवर्तन गर्न दबाब दिने प्रयास भइरहेको छ। रिजालका वकिल राम कुमार सुवाललाई उद्धृत गर्दै www.pahichan.com मा ८ जुलाई २०२३ मा प्रकाशित समाचारमा उल्लेख भए बमोजिम भिआइपी अभियुक्त टोप बहादुर रायमाझीका वकिलले रिजाललाई बयान फेर्न दबाब दिइरहेका छन्।

यसबाहेक, हामीले हाम्रो स्रोतबाट थाहा पाएका छौँ कि उहाँलाई अर्को थुनुवा इन्द्रजित राई अभियुक्त मध्ये एक, जसलाई रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रूपमा नाम दिएका थिए, उनी सँगै रिजाललाई राखिएको छ। तसर्थ, यही कारणले रिजालमा निरन्तर मनोवैज्ञानिक तनाव र असुरक्षा बढ्दै गएको छ।

हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनु भएको छ र उहाँले बस्ने राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ।

सन् १९८९ मा तत्कालीन नेपाल सरकारले भुटानलाई जबरजस्ती सुम्पिएपछि रिजाल १० वर्ष राजनीतिक बन्दी बन्नु भएको थियो। एमनेस्टी इन्टरनेशनलको प्रतिवेदन अनुसार १० वर्ष राजनीतिक बन्दी हुँदा रिजाललाई भुटानको जेलमा अमानवीय यातना दिइयो। त्यसयता उहाँ मधुमेह, रक्तचाप र बुढेसकाल सँग सम्बन्धित अन्य रोग जस्ता विभिन्न गम्भीर रोगबाट पीडित हुनुहुन्छ। रिजाल ७६ वर्षको हुनु भएको छ।

टेकनाथ रिजालले निर्वासन र भित्री भुटानी जनता माथिको अन्याय विरुद्धको लडाइमा कहिल्यै सम्झौता गर्नु भएन। भुटानी जनताको हितका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन निःस्वार्थ रूपमा बलिदान गर्नुभयो। तसर्थ ७६ वर्षको उमेरमा कुनै पनि समझदार व्यक्तिलाई आफू नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न भएको पत्याउन गाह्रो छ। GCRPPB दृढतापूर्वक विश्वास गर्दछ कि रिजाललाई नक्कली भुटानी शरणार्थी घोटालामा दोषी मध्ये एकको रूपमा गलत रूपमा आरोप लगाइएको छ र यसैले GCRPPB उनको तत्काल रिहाइको माग गर्दछ।

रिजाललाई रिहा नगरेसम्म, GCRPPB नेपाल सरकारलाई निम्न कार्यहरू तुरुन्तै गर्न अनुरोध गर्दछ :

१. रिजालले अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा चिसो नभएको छुट्टै कोठामा राखियोस।

२. कुनै अपरिचित आगन्तुकहरूले उहाँलाई भेट्न अनुमति दिनु अघि रिजालसँग परामर्श लिइयोस्।

३. रिजाललाई कोठामा न्यानो राख्न पर्याप्त सुत्ने सामग्री उपलब्ध गराइयोस्।

४. रिजालको नाजुक स्वास्थ्य र बुढेसकालका कारण प्राथमिकताका आधारमा आवधिक रूपमा उचित चिकित्सा जाँचहरू प्रदान गरियोस्।

५. रिजाललाई जेलमा उचित सुरक्षा उपायहरू प्रदान गरियोस्।

GCRPPB राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरूलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उहाँको स्वास्थ्य अवस्था बारे सोधपुछ गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गर्दछ। साथै, GCRPPB टेक नाथ रिजालका सबै शुभचिन्तकहरूलाई उहाँको जीवनको यस कठिन समयमा उहाँको नैतिकता बढाउन जेलमा उहाँलाई भेट्न सम्भव भएमा उहाँलाई समर्थन र ऐक्यबद्धता देखाउन आग्रह गर्दछ।

राम कार्की

संयोजक

भुटानी राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियान

हेग, नेदरल्यान्ड्स

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading