नक्कली शरणार्थी : टोपबहादुरका वकिलले दिए टेकनाथलाई बयान फेर्न दबाब

नक्कली शरणार्थी : टोपबहादुरका वकिलले दिए टेकनाथलाई बयान फेर्न दबाब

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरण अहिले सेलाए जस्तै देखिएको छ। काठमाडौं जिल्ला अदालतको आदेशमा प्रहरीले प्रतिवादी बनाएका मध्ये १६ जना पुर्पक्षका लागि थुनामा गएसँगै नक्कली शरणार्थी प्रकरण अहिले सेलाए जस्तै देखिएको हो।

प्रतिवादी बनाइएका ३० मध्ये दुई जना धरौटीमा छुटेका छन् भने केही अझै फरार छन्। सरकार नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्नहरू उम्कन नपाउने बताइरहेको छ।

तर, डायरीमा लेखेको आधारमा सक्कली भुटानी शरणार्थी मानव अधिकारवादी नेता टेकनाथ रिजाल जेल पर्दा त्यही डायरीमा नाम लेखिएका व्यक्ति भने अनुसन्धानको दायरामा समेत पुगेका छैनन्।

सानु भण्डारीले रकम दिएको भनिएको डायरीमा नाम रहेका केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल लगायत नेतामाथि अनुसन्धान भएको समेत सुनिएको छैन।

काँग्रेसको समानुपातिक कोटामा सांसद बनेका आरजु राणा र मञ्जु खाँण पानी माथिको ओभानो झैँ छन्। जेल पुगेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आफू उम्कन टेकनाथ रिजालको बयान फेर्न वकिल परिचालन गरिरहेका छन्।

‘टेकनाथलाई तपाई त माइन्ड कन्ट्रोल भएको मान्छे,अदालतमा दिएको बयान झुटो हो भनेर लेखेको कागजमा सही गराउन आएको, बयान फेरिदिनु भयो भने तपाई पनि छुट्नुहुन्छ, उहाँ(टोपबहादुर) पनि छुट्नु हुन्छ भनेर जेलमा गएछन्,’टेकनाथका वकिल राजकुमार सुवालले पहिचानसँग भने,‘मुद्दा त सकियोस् न, मेरो क्लाइन्टलाई दबाब दिन मिल्छ?’ को हो त दबाब दिन जाने भन्ने प्रश्नमा सुवालले भने,‘रायमाझी थरकै महिला वकिल हुनुहुन्छ, अहिले नाम ठ्याक्कै नभनौँ।’

काठमाडौं जिल्ला अदालतको आदेशमा टोपबहादुर, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, ईन्द्रजित राई, टेकनाथ रिजाल सहित १६ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्। जिल्लाको आदेश बदर गराउन नक्कली भुटानी शरणार्थी प्रकरणका आङटावा शेर्पा उच्च अदालत पुगेका छन्। गोविन्द चौधरी समेत उच्च पुगेर कैफियत प्रतिवेदन मगाउने आदेश भइसकेको छ।

भुटानी शरणार्थी नेता टेकनाथले पाएनन् ‘निसाफ’, उच्च जाने तयारी

पुर्पक्षका लागि थुनामा रहेका हाइप्रोफाइलहरु भने उच्चबाट छुट्ने रणनीतिमा लागिरहेका छन्। टोपबहादुरका वकिलले त रिजाललाई भेटेरै कागजमा हस्ताक्षर गर्न दबाब दिएका छन्। ‘मेरो पक्षले धन्न गर्दिन भन्नु भएछ,जेलभित्र समेत दबाबमा बस्नु परेको छ,’रिजालको तर्फबाट जिल्ला अदालतमा बहस गरेका अर्का वकिलले भने,‘भुटान फर्कन पाउनु पर्छ भनेर शरण लिएर बसेका मेरो पक्षलाई मरणको अवस्थामा पुर्‍याउन लागिरहेका छन्।’

उच्चबाट रिहा हुने ढुक्क भएपछि मात्रै जिल्लाको आदेश बदरको निवेदन दर्ता गर्ने हाइप्रोफाइलहरुको तयारी देखिएको छ। सरकार भने चरण चरणमा फाइल खुल्दै जाने बताइरहेको छ। जेल परेका र पक्राउ नपरेकाहरूका लागि राजनीतिक संरक्षण छ। हाइप्रोफाइललाई भेट्न बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्म कारागार पुगिरहेका छन्।

रिजाललाई बयान फेर्न लगाएर उम्कने दाउमा रहेका हाइप्रोफाइलहरु उच्च कहिले जान्छन् टुङ्गो भने छैन। भुटानी राजबन्दी रिहा अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले रिजालको अवस्था बुझिदिन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था नै गुहारेका छन्। नेदरल्याण्डमा रहेका कार्कीले एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट वाच लगायतका संस्थालाई जेलमा रहेका आफ्ना नेता टेकनाथ रिजालको अवस्था बुझिदिन अनुरोध गरेका छन्।

नेपाल, भारतसहित अन्तर्राष्ट्रिय समुदायसँग भुटान फर्कन पाउनु पर्ने माग सुनाउँदै आएका रिजालले काठमाडौं जिल्ला अदालत समक्ष निसाफ मागेका थिए। अदालतकै आदेशमा रिजाल अहिले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा छन्।

नक्कली शरणार्थी प्रकरणले सक्कली शरणार्थीको भने बिचल्ली भएको छ। यो प्रकरणले भुटानी शरणार्थी न भुटान फर्कन पाए, न त तेस्रो देश नै पुर्नवास हुन पाए।

नक्कली शरणार्थी : विश्व समुदायलाई टेकनाथ रिजालको अपिल (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading