नक्कली शरणार्थी

भुटानी शरणार्थी नेता टेकनाथले पाएनन् ‘निसाफ’, उच्च जाने तयारी

भुटानी शरणार्थी नेता टेकनाथले पाएनन् ‘निसाफ’, उच्च जाने तयारी

काठमाडौँ : टेकनाथ रिजाल राज्यविरुद्धको अपराधमा दुई देशको बन्दी बनेका छन्। भुटानी राजाको संलग्नतामा भएको भ्रष्टाचार छानबिन गर्दा १० वर्ष भुटानको जेल बसेका रिजाल नक्कली शरणार्थी प्रकरणमा हाल नेपालको केन्द्रीय कारागारमा पुगेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा रिजाल ३ हप्ता प्रहरी वृत्त दरबारमार्गको हिरासतमा बसे। अघिल्लो शनिवार रिजाललाई जिल्ला प्रहरी परिसर टेकुको हिरासत कक्षमा राखियो।

टेकुमा प्रहरीबाट मानवीय व्यवहार नभएको गुनासो न्यायाधीशसमक्ष गरेका रिजाल शुक्रवारको आदेशसँगै भद्रबन्दी चलान भएका छन्। जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारमा राखिएका बन्दीलाई बिदाको दिन कोहीसँग भेटघाट गर्न नदिने जेल प्रशासनले जनाएको छ।

जेल प्रशासनका प्रहरी नायव उपरीक्षक डिएसपी कुमारविक्रम थापाले रिजाललाई सामान्य कैदी सरह नै राखिएको बताए। ‘त्यस्तो विशेष भन्ने हुँदैन, उहाँ (रिजाल)लाई पनि सामान्य कैदी सरह नै राखिएको छ,’डिएसपी थापाले पहिचानसँग भने,‘शनिवार भने भेट्न पाइँदैन।’ आइतबारदेखि शुक्रवारसम्म कार्यालय समयमा कैदी बन्दीले आफन्त भेट्न पाउने व्यवस्था रहेको उनले जानकारी दिए।

४ जेठमा पक्राउ परेका रिजाल दरबारमार्ग प्रहरी हिरासतबाट २७ जेठमा टेकु पुर्‍याइएका थिए। २० जेठमा दरबारमार्ग प्रहरीमा भेट भएका रिजालले भुटानी शरणार्थीको कन्तबिजोग बनाउन राज्य संयन्त्र नै आफूमाथि खनिएको बताएका थिए।

उनले यो प्रकरणमा पक्राउ परेका सबै उम्कने र अन्तिममा आफू मात्रै जेलमा पर्ने उल्लेख गरेका थिए। ‘तत्कालीन मन्त्रिपरिषद् संलग्न नभई यो काम भयो होला त?’रिजालले प्रश्न गर्दै भनेका थिए,‘अरू सबै उम्कन्छन्, पर्ने म मात्रै हो।’

रिजाल त्यसपछिको हप्ता दरबारमार्गमा थिएनन्। उनलाई टेकुको प्रहरी हिरासतमा पुर्‍याइएको थियो। टेकुको हिरासतमा भेट्न पुग्दा रिजाल ‘थाहै नदिई यहाँ ल्याए’ भन्दै थिए। उनले त्यही कुरा दोहोर्‍याए जुन दरबारमार्ग प्रहरी हिरासतमा रहँदा भनेका थिए। ‘अरू सबै उम्कन आरोप जति मै माथि लगाउँदै छन्, अन्तर्राष्ट्रिय समुदाय चुप लागेर बस्ला त?’उनले भनेका थिए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र शिविरमा रहेका शरणार्थीलाई नेपाली नागरिकता दिने उच्चपदस्थको योजनाविरुद्ध रिजालले सञ्चारमाध्यमहरूमा बोलेका थिए।

पहिचान अनलाइनसँग कुरा गर्दै रिजालले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिवकै संलग्न हुँदा लाज लागेको भनेका थिए। उनले आफूहरू भुटान नै फर्कन चाहेको भन्दै नेपाली नागरिकता दिएर भुटानी राजाविरुद्धको अत्याचार सामसुम पार्ने खेलको विरोध गरेका थिए।

प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवले भुटानी शरणार्थीलाई कन्त बिजोग बनाए

उनले बोलेको भिडियो सार्वजनिक भएको तीन दिन पछि नै झापाबाट काठमाडौँ बोलाएर प्रहरीले हिरासतमा राखेको थियो। अदालतको आदेशमा रिजाल शुक्रवार बेलुकीदेखि केन्द्रीय कारागार चलान भए।

काठमाडौँ जिल्ला अदालतमा रिजालको तर्फबाट राजकुमार सुवाल, शम्भेश्वर कडरिया, डा. राजेन्द्र घिमिरे, अनिलकुमार लाल, डोरविक्रम थापा, प्रतिभा भट्टराई, प्रकाश बस्नेत, शान्ता थापा, राजेन्द्र पोखरेल, पुरुषोत्तम अर्याल, सन्तोष भण्डारी र रौनिकराज अर्यालले बहस गरेका थिए।

लिखत सम्बन्धी कसूर, राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा दोषी मान्न र ठहर गर्न नमिल्ने जिकिर रिजालसहितका प्रतिवादीहरूका कानुन व्यवसायीले गरेका थिए। ‘प्रतिवादीहरूले के कस्तो कार्य गरी सङ्गठित अपराध र राज्य विरुद्धको कसुर गरेका हुन सो तथ्य मिसिल प्रमाणबाट पुष्टि भएको छैन,’अदालतले दिएको आदेशमा लेखिएको छ,‘प्रतिवादीहरू उपरको अभियोग दाबी झूटा भएकोले निजहरूलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनी गर्नु भएको बहससमेत सुनियो।’

रिजालले अदालतमा नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने समेतको योजना लिई केशवप्रसाद दुलाल र सानु भण्डारी बिर्तामोड स्थित घरमा आएको बयान दिए। ‘मैले भुटानी शरणार्थीको अधिकारको लागि आवाज उठाइरहेको छु,भुटानी शरणार्थीहरूले धेरै नै दुख पाएका छन्, तपाईँहरू नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका या विदेश लाने कुरा गर्दै हुनुहुन्छ,मैले नेपाल सरकारबाट सुविधा पाएको छैन भन्दा निजहरूले तपाईँले पाउने सुविधा पाउनु हुन्छ, हामीले सबै सरकारी तहबाट कुरा मिलाई सकेका छौ, सबै भुटानी शरणार्थीहरूलाई अमेरिका वा विदेश पठाउने र त्यसमा नेपाली नागरिकहरूलाई समेत नक्कली भुटानी शरणार्थी बनाई अमेरिका वा तेस्रो देखि लाने योजना रहेको छ, हामी सबै सरकारी तवरबाट मिलाउँछौ, केही सुविधा र रकम लिएर भुटानी र नेपालीहरूलाई पनि मिलाएर लैजाने हो भनी निजहरूले भनेका हुन्,’ अदालतमा टेकनाथले बयान दिएको आदेशमा लेखिएको छ।

त्यसपछि आफूलाई काठमाडौँ बोलाएको रिजालले अदालतमा बयान दिएको आदेशमा उल्लेख छ। ‘मलाई टिकट काटेर झापाबाट बोलाई एयरपोर्टमा विक्रम भन्ने गोविन्दकुमार चौधरी लिन गएका र निजले टोपबहादुर रायमाझीको घरमा लगी निज टोपबहादुर रायमाझीको घरमा शरणार्थीको विषयमा कुराकानी हुँदा कुरा क्लियर नभएपछि प्रचण्डसँग भेट गराइ दिने भनी प्रचण्ड निवासमा पुर्‍याएका थिए। प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल गएका थियौँ,’रिजालको बयानमा लेखिएको छ,‘मैले प्रचण्डसँग भुटानी शरणार्थीको व्यवस्थापन सम्बन्धमा कुराकानी गर्न आएका हौँ भनी कुरा गर्दा प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नुहोला, सम्बोधन हुनसक्ने भए निजले समाधान गर्नु हुन्छ भनी भन्नुभयो।’

रिजालले भुटान ह्युमन राइट अर्गनाइजेशनको मेम्बर सीप कार्डमा सही गरिएको बयान दिए। ‘मैले थाहा पाएसम्म टोपबहादुर रायमाझी, सानु भण्डारी र केशवप्रसाद दुलाल यसका मुख्य योजनाकार रहेको जानकारी छ,’रिजालले अदालतमा दिएको बयानमा,‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लाने भन्ने विषयमा केशवप्रसाद दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझी, प्रेमराज पन्थी र रामशरण के.सी.को मुख्य भूमिका रहेकोमा म जानकार छु’लेखिएको छ।

अदालतले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा रिजालको संलग्नता पुष्टि भएको आदेश दिएको छ। ‘टेकनाथ रिजाल शरणार्थीका नेता रहेको देखिन्छन्। निजले सहप्रतिवादी रामशरण के.सी. लाई अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्य हुन्छ भनी विश्वास दिलाएको देखिएको, ३४ जना नेपालीहरूलाई भुटानी शरणार्थीको कार्ड(परिचय पत्र) भुटान ह्युमन राइट अर्गनाइजेशनको मेम्बरसीप कार्डमा हस्ताक्षर गरेको भन्ने सहप्रतिवादी रामशरण के.सी.को बयानबाट र केही परिचयपत्रमा सही गरेको तथ्य निजले नै स्वीकार गरेको देखिएको, सहप्रतिवादी रामशरण के.सी.ले यी प्रतिवादी टेकनाथ रिजाललाई ११,०००००। (एघार लाख) झापा स्थित निजको घरमा बुझाएको भनी मौकाको बयानमा उल्लेख गरेको र सो बयानमा सानु भण्डारीबाट बरामद भएको डायरीमा उल्लेखित ब्यहोराले पुष्टि गरेको देखिँदा निजको कसुरमा संलग्नता रहेको देखियो’ आदेशमा लेखिएको छ।

रिजालका तर्फबाट बहस गरेका गण्डकी प्रदेशका पूर्वमुख्य न्यायाधीवक्ता डा. राजेन्द्र घिमिरेले डायरीलाई प्रमाण मान्न नमिल्ने नजिर सुनाएका थिए। सर्वोच्च अदालतले २०६९ जेठ ९ गते मङ्गलवार गरेको फैसला उद्धृत गर्दै घिमिरेले रिजाल निर्दोष रहेकाले साधारण तारेखमा रिहा गर्न न्यायाधीश न्यौपानेसँग माग गरेका थिए।

नेपाल कानुन पत्रिकामा रहेको प्रकरण नं २७ उल्लेख गरिएको फैसलामा ‘व्यक्तिगत रूपमा लेखिएका र परीक्षण गर्न नसकिने निजी डायरीलाई कानुनबमोजिमको अकाट्य प्रमाणको रूपमा ग्रहण गर्दै जाने हो भने त्यसले गलत संस्कार र कृत्रिम प्रमाणको सिर्जनालाई बढवा दिने हुँदा अदालतले त्यस्ता कृत्रिम र बनावटी प्रमाणको सिर्जना हुने प्रक्रियालाई अपनाउन र प्रोत्साहन गर्न नहुने’ लेखिएको छ।

नक्कली शरणार्थी : भुटानी नेता टेकनाथले मागे ‘निसाफ’

अधिवक्ता डा. घिमिरे सहितका कानुन व्यवसायीले यस्तै नजिर भारतीय अदालतको समेत रहेकाले रिहा गर्न भनेका थिए। तर, न्यायाधीश न्यौपानेले डायरीलाई समेत प्रमाणको रूपमा उल्लेख गरेर आदेश दिए।

नेपालबाट तेस्रो देश पुर्नवास भएका भुटानी शरणार्थीहरूले रिजाल जेल चलान भएसँगै निराशा व्यक्त गरेका छन्। उनीहरूले भुटान फर्कने आशामा रहेका शरणार्थीको बेहाल भएको उल्लेख गरेका छन्। बाटो देखाउने अगुवा नेता रिजाललाई अन्याय भएको भन्दै उनको सपना विश्व समुदायको साथ लिएर पुरा गर्न लाग्ने हौसला समेत प्राप्त भएको भुटानी शरणार्थीहरूले व्यक्त गरेका छन्। भुटानी जनताको मानवअधिकारका लागि सङ्घर्ष गर्दै आएका रिजाल नै जेल चलान हुँदा अभिभावक विहीन हुन पुगेको गुनासो शरणार्थीहरूले गरेका छन्।

भुटानमा रहेका राजबन्दी रिहाइ अभियानका अन्तर्राष्ट्रिय संयोजक राम कार्कीले अदालतको आदेशपछि दुख लागेको प्रतिक्रिया दिएका छन्। ‘हाम्रा नेताको जोखिमको पूरा फाइदा उठाउँदै अन्ततः अपराधीहरूले उनलाई जेल हाल्न सफल भए। आज म साँच्चै निराश छु,’कार्कीले ट्विटमा लेखेका छन्,‘नेता रिजालको अनुपस्थितिले अन्याय विरुद्धको हाम्रो लडाइँ झनै कमजोर भएको छ।’

भुटानी शरणार्थीहरूले नेता रिजाल रिहा गर्दा प्रमाण लोप गर्न नसक्ने, अरूलाई दुख दिने अवस्था पनि नभएको, उमेरको अवस्थालाई हेरेर न्यायाधीशबाट मानवीय भावको आदेश आउने अपेक्षा सुनाएका थिए।

काठमाडौँ जिल्ला अदालतमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँणको पक्षमा आएका नेताहरूले पनि टेकनाथ रिजाल माथि अन्याय भएको बताएका थिए। ‘टेकनाथमाथि त अन्याय नै भएको हो,’अदालत परिसरमा शुक्रवार भेटिएका काँग्रेसका एक केन्द्रीय सदस्यले पहिचानसँग भने,‘अदालतले उहाँ(रिजाल)लाई रिहा गर्ने आदेश दिन्छ होला।’

तर, आदेश जेल पठाउने आयो। न्यायाधीश न्यौपानेले मानवीय भाव नदेखाएको गुनासो भुटानी शरणार्थीहरूले गरेका छन्। अब जिल्लाको आदेश बदरको माग गर्दै उच्च अदालत जाने तयारी रिजालका कानुन व्यवसायीहरूले गरेका छन्। रिजालका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता डा. घिमिरेले जिल्लाको आदेश बदर गर्न माग गर्दै उच्च अदालत जाने तयारीमा रहेको बताए।

रिजालले भुटानी जनताको अधिकारका लागि सङ्घर्ष गर्दा यातना पाए। १० वर्ष भुटानको जेलमा बन्दी बने। उनले त्यही आक्रोश काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पोख्दै भनेका थिए,‘यहाँभन्दा बेइज्जती खप्न सकिन्न, यी ६ हजार मान्छेको समस्या समाधान गर्ने नाममा यी चोरहरूले ठगेर खाने?’ अन्ततः रिजाल पनि ठगहरूसँगै जेल परेका छन्।

रिजालको सधैँको मुद्दा शिविरमा रहेका ६ हजारभन्दा बढी शरणार्थीको हक–अधिकारका पक्षमा केन्द्रित हुन्थ्यो। उनले नै गिरोहको सूचना नेपालका उच्चपदस्थदेखि पत्रकारहरूलाई दिएका थिए। ‘भाइ म यिनीहरूको नाम अर्को पटकको भेटमा भनौला,मलाई यिनीहरूले अप्ठ्यारो पार्छन्,’पक्राउ पर्नु चार दिन अगाडि उनले चाबहिलको निवासमा भनेका थिए,‘मैले एक पैसा खाएको छैन, म डराउने कुरै छैन।’

भुटानी नागरिकको नाम बेचेर र नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइने यस कर्तुतमा करोडौँ रुपैयाँको चलखेल भएको र यसमा सिंहदरबारका वरिष्ठतम राजनीतिक तथा प्रशासनिक अधिकारीहरू जोडिएको पुष्टिका आधार समात्न टेकनाथले सहयोग गरेका शनिवार प्रकाशित कान्तिपुर दैनिकमा पत्रकार देवेन्द्र भट्टराईले लेखेका छन्।

भुटानी शरणार्थी समस्या समाधानका लागि नेपालको राज्य संयन्त्रसँग गुहार माग्दै आएका थिए रिजाल। उनलाई तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले निर्वासित नेताको पद दिएको थियो। भुटानी राजाको अत्याचारविरुद्ध अन्तर्राष्ट्रिय जगतको ध्यान आकृष्ट गर्दै आएका रिजाल आज नक्कली शरणार्थी प्रकरणमा मुछिएर नेपालको न्यायिक कठघरामा पुगेका छन्।

नक्कली शरणार्थी : दुई जनासँग धरौटी माग, १६ जनालाई जेल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading