राष्ट्रिय सभा : उम्मेदवार छनोटमा त्रुटि, मतदान नगर्ने घुर्की

राष्ट्रिय सभा : उम्मेदवार छनोटमा त्रुटि, मतदान नगर्ने घुर्की

काठमाडौं : राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि ५२ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगले मनोनयन दर्ता शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सबै भन्दा धेरै महिलातर्फ १८ जनाको उम्मेदवारी परेको जानकारी दिए।

आयोगले निर्वाचनका लागि गर्नु पर्ने सबै तयारी पुरा गरेको बताएको छ। प्रवक्ता शर्माका अनुसार मङ्गलवार उम्मेदवारहरू विरुद्ध दाबी विरोध हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रशासन पछि २८ गते निर्वाचन चिन्ह दिइने उनले बताए।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिए लगत्तै गणना गरिने आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो। निर्वाचित हुनका लागि भारी मत रहेको सत्ता गठबन्धनले ०७९ को निर्वाचनमा पराजितदेखि समानुपातिकको बन्दसूचीमा रहेकालाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनबाट सबैभन्दा ठुलो दल काँग्रेसले १० सिट पाएको छ। काँग्रेसले कोसी प्रदेशको अन्यतर्फ नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाएको छ।

सिटौला गत वर्ष मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका थिए। उम्मेदवारी दर्ता गरे लगत्तै सिटौलाले गठबन्धनका उम्मेदवार जिताउन लाग्नु पर्ने बताए।

काँग्रेसले आनन्दप्रसाद ढुङ्गानालाई मधेस प्रदेशमा अन्यतर्फको उम्मेदवार बनाएको छ। ०७९ मा भएको निर्वाचनमा समानुपातिक सूचीमा परेका हुन ढुङ्गाना। बन्दसूचीमा रहेको नाम फिर्ता लिएर काँग्रेसले उनलाई राष्ट्रियसभा उम्मेदवार बनाएको हो।

नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री, तरुण दलका अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका जितजंग बस्नेत वाग्मतीको अन्यतर्फको उम्मेदवार बनेका छन्।

वाग्मती प्रदेशको महिलातर्फ विष्णुदेवी पुडासैनी, गण्डकीको अन्यतर्फ किरणबाबु श्रेष्ठ, पदमबहादुर परियारले अपाङ्गता–अल्पसङ्ख्यकतर्फ र ०७९ को प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेकी विष्णुकुमारी सापकोटा लुम्बिनी प्रदेशमा महिलातर्फ उम्मेदवार बनेका छन्।

राष्ट्रिय सभा कि हरुवा सभा?

कर्णाली प्रदेशमा अन्यतर्फ कृष्णबहादुर रोकाया, सुदूरपश्चिम प्रदेशको अन्यतर्फ बलदेव बोहरा र अपाङ्गता अल्पसङ्ख्यकतर्फ नारायणदत्त भट्टले उम्मेदवारी दिएका छन्। उम्मेदवार छनोटलाई लिएर काँग्रेस भित्र असन्तुष्टि चुलिएको छ।

उम्मेदवार चयन प्रति काँग्रेस महामन्त्री गगन थापाले फरक मत राखेका छन्। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा महामन्त्री थापाले लिखित असहमति दर्ज गराएका छन्।

काँग्रेस केन्द्रीय समितिले चुनाव हारेका र समानुपातिक बन्दसूचीमा नाम रहेकालाई उम्मेदवार नबनाउने भनेको थियो। तर, तिनै चुनाव हारेका र बन्दसूचीमा नाम रहेकालाई नै उम्मेदवार बनाएपछि काँग्रेसमा असन्तुष्टि देखिएको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको निर्णय मानेर आफ्ना उम्मेदवार विजयी गराउन लाग्ने बताए। केन्द्रीय कार्य सम्पादन समितिको निर्णय केन्द्रीय कार्य समितिले पारित गर्नु पर्ने विधि र प्रक्रियामा भने त्रुटि रहेको बताए। ‘निर्णय गर्दा केही त्रुटि भएको हुनसक्छ,’पौडेलले भने,‘तर निर्णय नमान्ने भन्ने हुँदैन।’

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले मतदान नगर्ने सम्मको घुर्की लगाएका छन्। समावेशीको कुरा गरेर नथाक्ने काँग्रेसले उम्मेदवार छनोटमा बेवास्ता गरेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि राष्ट्रिय सभा निर्वाचनमा मधेस र लुम्बिनी प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ। मधेस प्रदेशमा जनमतका रामशंकर महासेठले अन्यमा र लुम्बिनी प्रदेशमा पनि अन्यबाट बल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ। गठबन्धनबाट एक सिट दाबी गरेको जनमतले नपाएपछि दुई सिटमा छुट्टै उम्मेदवारी दिएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading