राष्ट्रिय सभा कि हरुवा सभा?

राष्ट्रिय सभा कि हरुवा सभा?

काठमाडौं : राष्ट्रिय सभामा रिक्त १९ सदस्य चयन गर्न सोमबार उम्मेदवारी दर्ता हुँदैछ। माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुन लागेको हो। मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा गरिएको निर्वाचन आयोगले जनाएको छ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले देशका सातै प्रदेश सदरमुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता हुने जानकारी दिए। उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको प्रवक्ता पौडेलले बताए।

निर्वाचनका लागि आयोगले आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। २ हजार ४७ मतदाताले चुनावमा मत खसाल्न पाउनेछन्। मतदाताको मतभार ५७ हजार ५ सय ५९ रहेको आयोगले जनाएको छ।

सबैभन्दा कम मतभार कर्णाली प्रदेशमा ५ हजार ८४ र सबैभन्दा धेरै मधेस प्रदेशमा १० हजार ७४४ मतभार रहेको आयोगले जनाएको छ। उम्मेदवारी दर्ताको अघिल्लो दिन दलहरूले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुङ्गो लगाएका छन्।

दलहरूले टुङ्गो लगाएका नामबारे सामाजिक सञ्जालमा तिता टिप्पणीहरू सार्वजनिक भएका छन्। चुनाव हारेका र परिवारका सदस्यलाई उम्मेदवार बनाउने निर्णय गरे पछि सामाजिक सञ्जालमा राष्ट्रिय सभालाई चुनाव हारेकाहरूको सभा भनेर व्यङ्ग्य भएको छ भने कतिपयले परिवार सभा समेत भनेका छन्।

राष्ट्रिय सभाको निर्वाचन रोचक हुने भएको छ। सत्ता गठबन्धनले जित्ने पक्का भए पछि गत चुनावमा पराजित नेतादेखि नेताका नातेदारसम्म उम्मेदवार बनेका छन्। सत्तारुढ गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले लगातार दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच नै भइसकेको छ। पार्टीको १३ औँ महाधिवेशनमा सभापतिमा लडेका सिटौलालाई १४ औँ महाधिवेशनमा आफूलाई सघाएको गुण देउवाले अहिले तिर्न लागेको चर्चा समेत भएको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई हराएका झक्कु सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

गठबन्धनका दलहरुबीच सिट भागबन्डा टुङ्गिए पछि बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले सुवेदीसहित आफ्नो भागमा परेका ६ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

माधव नेपाललाई चुनाव जितेर चर्चामा आएका झक्कु आफ्नो कार्यकालमा मतदाताको झापड खाएर पनि उत्तिकै बदनाम भएका थिए। ०६४ सालमा काठमाडौं–२ मा चुनाव जितेका सुवेदी २०७४ मा काठमाडौं–६ बाट काँग्रेसका भीमसेनदास प्रधानसँग पराजित भएका थिए।

एक सिट पाएको सत्ता साझेदार जनता समाजवादी पार्टी जसपाले भने प्रदेश सभा सदस्य निर्वाचनमा पराजित पूजा चौधरीलाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

जसपाको कार्यकारिणी समितिको बैठकले गत चुनावमा रौतहट ३ (क) बाट पराजित चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रौतहटकी चौधरी जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीकी छोरी हुन्।

सत्ता गठबन्धन र एमालेको लुकामारी अन्त्य

गठबन्धनका उम्मेदवार देखेपछि एक जना प्रयोगकर्ताले सामाजिक सञ्जालमा संसद्मा तल्लो सदन र माथिल्लो सदनसँगै तत्काल दुई सदन थप्नु पर्ने आवश्यकता औँल्याएका छन्। ‘एउटा–चुनाव हारेका नेताको हरुवा सभा र अर्को–नेताका परिवारको सदन परिवार सभा चाहियो’ उनले कटाक्ष गरेका छन्।

राष्ट्रिय सभाका एक तिहाइ सिटमा अघिल्लो चुनाव हारेका, कुनै पनि विषय विज्ञता नभएका ‘झोलाछाप’हरूको नाम अगाडि सार्न खोजिएको टिप्पणी समेत सामाजिक सञ्जालमा भएको छ। ‘संविधानको मर्म त मारियो नै, अहिलेको राजनीतिक प्रणालीलाई थप खोक्रो बनाइयो’ सञ्जालमा अर्का एक जनाले लेखेका छन्।

तीन सिट मागेको सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले भने अन्ततः २ सिटमा चित्त बुझाएको छ। काँग्रेसले क्लस्टरअनुसार उम्मेदवार टुङ्ग्याउन ढिलाइ गर्दा आफूहरूले नामलाई अन्तिम रूप दिन नसकेको एकीकृत समाजवादीले जनाएको छ।

गठबन्धनका प्रमुख चार दलले सत्ता साझेदार अन्य साना दललाई भने समेटेनन्। सरकारमै रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूलाई गठबन्धनको बैठकमा नबोलाएको प्रति गुनासो गरे। तर राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्यमा भने गठबन्धनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पठाउने चर्चा चलेको छ।

अध्यक्ष चित्रबहादुर केसीले समय नआउँदै चर्चा चलाउनु षडयन्त्र हुनसक्ने आशङ्का गरे। कम्फर्टेबल मतभारका कारण सत्ता गठबन्धनका उम्मेदवारको जित निश्चित प्राय छ। अहिलेको गठबन्धन कायमै रहँदा सबै सिट गुमाउने अवस्थामा पुगेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १९ सिटकै उम्मेदवारको नाम सार्वजनिक गरेको छ।

एमालेले कोशीबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका परशुराम अधिकारीलाई उम्मेदवार बनाउने भएको छ। मधेसबाट पर्साकी उषादेवी थरुनी र महोत्तरीका अर्जुनकुमार सिंहलाई, बागमतीबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसङ्ख्यक/अपाङ्गता भएकाबाट काठमाडौँका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ।

गण्डकीमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसङ्ख्यक तथा अपाङ्गता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ।

लुम्बिनीमा दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादुर घर्ती, कर्णालीबाट हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विक उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ।

सुदूरपश्चिममा कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसङ्ख्यक तथा अपाङ्गतातर्फ कैलालीका रामचन्द्र जोशी उम्मेदवार बन्नेछन्।

सत्ता गठबन्धन : केन्द्रको ‘बदला’ प्रदेशमा

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading