सत्ता गठबन्धन र एमालेको लुकामारी अन्त्य

सत्ता गठबन्धन र एमालेको लुकामारी अन्त्य

काठमाडौं : सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलबीचको लुकामारी तत्कालका लागि अन्त्य भएको छ। सरकारको काम कारबाहीमा असन्तुष्टि जनाएको काँग्रेसलाई साइजमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा चुनावमा गठबन्धन र एमाले मिलेर जाने प्रस्ताव गरेका थिए।

सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक पारितका लागि समर्थन लिन प्रचण्डले मिलेर जान एमालेसँग गरेको प्रस्ताव अन्नत गफमा मात्रै सीमित बनेको छ। अब राष्ट्रिय सभा चुनावमा गठबन्धनसँग प्रतिपक्षी एमालेको प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्ता गर्ने दुई दिन अघि सत्ता गठबन्धनले एमालेसँगको सहकार्यको च्याप्टर क्लोज भएको बताएको छ। एमालेले सबै पदमा उम्मेदवारी दिने निर्णय गरेकाले सहकार्य सम्भव नभएको काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

कुनै लेनदेनमा नभई सत्ता गठबन्धनले सदासहायताका साथ प्रतिपक्षीसँग मिलेर जाने प्रस्ताव गरे पनि एमालेका कारण वातावरण बिग्रिएको गठबन्धनको दाबी छ।

एमालेसँगको सहकार्यले धरापमा पर्न लागेको सत्ता गठबन्धन पनि जोगिएको छ। राष्ट्रिय सभा चुनावको मतभार अनुसार गठबन्धनसँग भिड्दा १९ सिटमा एमाले शून्य हुने अवस्था देखिएको छ। एमालेलाई गठबन्धनबाट आउट गर्न पाएकोमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी गद्गद भएको छ।

राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिने निर्णय गरेको सुनाउँदै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्ने एमालेको प्रयास सफल नभएको बताए।

एमालेसँगको सहकार्य बन्द गरेका सत्ता गठबन्धन दलहरू भने भागबन्डा मिलाउन निरन्तर छलफल गरिरहेका छन्। दलहरूका अहिलेसम्मका छलफल विना निष्कर्ष सकिएका छन्। सत्ता गठबन्धनमा काँग्रेसले १३ र माओवादीले ७ सिटमा दाबी गरेको छ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ। सत्ता गठबन्धन दलको बैठक भागबन्डामा सहमति जुट्न नसक्दा विना निष्कर्ष सकिएको छ। देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सहमति हुने दाबी काँग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.