भुटानका नवनिर्वाचित प्रधानमन्त्रीसँग देश निकालिएका नागरिकलाई स्वदेश फर्काउन अपिल

भुटानका नवनिर्वाचित प्रधानमन्त्रीसँग देश निकालिएका नागरिकलाई स्वदेश फर्काउन अपिल

एजेन्सी : भुटानमा भएको चौथो निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) ले जित हासिल गरेको छ।

तोब्गेको पार्टीले संसद्मा झन्डै दुई तिहाइ सिट जितेको छ। भुटानको संसदीय निर्वाचनमा तोब्गेको पार्टीले ४७ सिट मध्ये ३० सिटमा विजयी हासिल गरेको छ। भुटान टेन्डरेल पार्टीले बाँकी १७ सिटमा विजयी हासिल गरेको छ।

आर्थिक वृद्धिको प्रमुख मुद्दालाई उठाएर निर्वाचनमा होमिएका भुटान टेन्डरेल पार्टी (बीटीपी) र पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) बीच प्रतिस्पर्धा हुँदा तोब्गेको दल पीडीपीले बहुमत प्राप्त गरेको हो।

भुटानका नयाँ प्रधानमन्त्री तोब्गे सन् २०१३ देखि २०१८ सम्म प्रधानमन्त्रीको रूपमा काम गरिसकेका राजनीतिज्ञ हुन्। ५८ वर्षीय तोब्गे सन् २००८ मा भुटानको पहिलो संसद्मा विपक्षी नेता थिए।

दोस्रो चरणको निर्वाचनमा ४७ स्थानका लागि दुई प्रमुख दलहरू पीडीपी र बीटीपीका ९४ उम्मेदवार प्रतिस्पर्धामा थिए। गत नोभेम्बरमा भएको पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत ल्याउने यी दुई दलबीच दोस्रो तथा अन्तिम चरणको प्रतिस्पर्धा भएको हो। पहिलो चरणको मतदानपछि तीन दल प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

१५ वर्षअघि अर्थात् सन् २००८ मा प्रजातन्त्र स्थापना गरिएयता भुटानमा भएको यो चौथो संसदीय निर्वाचन हो। तत्कालीन राजा जिग्मे सिंघे वाङचुकले अक्सफोर्ड विश्वविद्यालय पढेका आफ्ना छोरा जिग्मे खेसर नामग्याल वाङचुकलाई राजगद्दी सुम्पिएको दुई वर्षपछि भुटानमा पहिलो संसदीय निर्वाचन भएको थियो।

तोब्गेले आफ्नो चुनावी घोषणापत्रमा राष्ट्र निर्माणमा सक्रिय रूपमा भाग लिनका लागि अर्थतन्त्र बलियो बनाउन विदेशमा रहेका भुटानी नागरिकलाई स्वदेश फर्काउने भनेका छन्। आफ्नो देशको विशाल दक्षिणी छिमेकीसँग रेल सम्पर्कको विकास गरी भारतसँगको सम्बन्धलाई बढवा दिने बाचा उनले गरेका छन्।

विश्वका दुई सर्वाधिक जनसङ्ख्या भएका राष्ट्रहरू भारत र चीनकोबीचमा रहेको झन्डै ८ लाख जनसङ्ख्या भएको देश भुटानका लागि चुनौतीहरू धेरै छन्। ग्रामीण गरिबी, उच्च युवा बेरोजगारी र ज्ञान, सीप र विवेक भएको जनशक्ति विदेशमा छ।

भुटान विदेशी सहायता र पर्यटनमा निर्भर छ। कोरोनापछि थलिएको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन। गम्भीर आर्थिक चुनौतीहरूका बीच हिमालय राज्य भुटानमा लामो समयदेखिको विकासले समेत गति लिन सकेको छैन।

भुटानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित तोब्गे र पिपुल्स डेमोक्रयाटिक पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। सामाजिक सञ्जालमा उनले दुई देशबीचको मित्रता र सहयोगको सम्बन्धलाई थप सुदृढ गर्न फेरि सँगै काम गर्न आतुर रहेको उल्लेख गरेका छन्।

भुटानको लोकतन्त्र नक्कली, चुनाव नाटक मञ्चन मात्रै

भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानले नवनिर्वाचित प्रधानमन्त्री तोब्गे र उनको पार्टीलाई बधाई दिएको छ। तोब्गेको शासन र प्रतिनिधित्वमा भुटानी नागरिकका सरोकार सम्बोधन हुने विश्वास लिएका अभियानले उल्लेख गरेको छ।

भुटानको जेलमा ५० भन्दा बढी व्यक्तिहरूलाई राजनीतिक बन्दी बनाइएको छ। राजनीतिक बन्दीका केही परिवारका सदस्य पश्चिमा देशमा पुर्नबास भएका छन्।

कतिपय अझै पनि नेपालको शरणार्थी शिविरहरूमा बसिरहेका छन्। आफ्ना पति, बुबा, आमा, छोरा, दाजुभाइ, काका र साथीहरूसँग पुनर्मिलन गर्न उनीहरू आतुर रहेको अभियानका संयोजक राम कार्कीले उल्लेख गरेका छन्।

संयोजक कार्कीले विज्ञप्ति निकालेर हाल कारागारमा राजनीतिक बन्दीका रूपमा रहेका ५० भन्दा बढी व्यक्तिहरूलाई आममाफी दिएर बिना सर्त रिहा गर्न भनेका छन्। नेपालको शरणार्थी शिविरमा रहेका ६ हजार ५ सय भुटानी नागरिकलाई स्वदेश फर्काउनका लागि कानुनी बाटो सहज बनाउन अभियानले अपिल गरेको छ।

भुटानमा रहेका नेपाली भाषी भुटानीहरूलाई नागरिकताको अधिकार दिन अभियानले माग गरेको छ। तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकलाई भुटानको भ्रमण गर्न दिनु पर्ने माग अभियानले गरेको छ।

निर्वासितहरूसँग राष्ट्रिय मेलमिलापका लागि अनुकूल वातावरण सिर्जना गर्ने दिशामा काम गर्न अभियानले अपिल गरेको छ। तोब्गेलाई आफ्नो प्रभाव प्रयोग गर्न अभियानका संयोजक कार्कीले अनुरोध गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.