निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

माओवादी दबाबमा जागिर छोडे, रुसी सेनामा ज्यान गुमाए

माओवादी दबाबमा जागिर छोडे, रुसी सेनामा ज्यान गुमाए

372
SHARES

काठमाडौं : रुसी सेनामा कार्यरत थप एक नेपाली युवाको मृत्यु भएको छ। सशस्त्र द्वन्द्व चलाएको माओवादीको दबाबपछि नेपाली सेनाको जागिर छोडेका रसुवाको नौकुण्ड गाउँपालिका ५ का सुन्दर मोक्तानको मृत्यु भएको हो।

वडाध्यक्ष श्याम बहादुर थिङले ३२ वर्षका मोक्तान गत भदौमा रोजगारीका लागि क्रोएसिया पुगेका बताए। क्रोएसिया पुगेको केही दिनपछि उनले परिवारलाई जङ्गलको बाटो भएर रुस जान लागेको र नेट नचल्ने जानकारी गराएका थिए।

उनको मृत्युसँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १३ जना पुगेको छ। उनको मृत्युको खबर पाएपछि शव ल्याउनेबारे कुरा भइरहेको वडाध्यक्ष थिङले बताए। नेपाली सेनामा कार्यरत मोक्तानले सशस्त्र द्वन्द्वमा माओवादीको दबाबपछि जागिर छाडेका थिए।

श्रीमान्को मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी वडाध्यक्ष थिङले जानकारी दिए।

रुस र युक्रेनको सेनामा भर्ती भएका नेपालीलाई तत्काल फर्काउन कठिन

रुसी सेनामा भर्ना भएका तनहुँका मोतीबहादुर आले, तनहुँ पोखरी भज्याङका प्रकाश गिरी, तनहुँकै डनबहादुर आले, आनन्द अधिकारी, बन्दीपुरका राजु सुनार, पोखरी भन्ज्याङका प्रदीप पुरी, उदयपुर पञ्चावतीका नारायण रसाइली, धादिङ गंगाजमुनाका हरि बरुवाल, उदयपुर चौदण्डीगढीका पदमबहादुर घिमिरे, रुपन्देही सैनामैनाका विपिन विक, ओखलढुङ्गाका खेमराज बोगटीका परिवारले एक महिनादेखि सम्पर्क विच्छेद भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षासहित तत्काल उद्धार गर्न गुहारेका छन्।

रुस र युक्रेनबीच सन् २०२२ फेब्रुअरीदेखि युद्ध चलिरहेको छ। गैरकानुनी रूपबाट नेपाली युवा रुस र युक्रेनमा सेना बनेर युद्धमा सहभागी बनेको पाइए पनि सरकारले त्यसको वास्तविक आँकडा पाउन सकेको छैन।

समाचार शेयर गर्नुहोस्
372
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.