निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सुन तस्करी : ६ जनासँग धरौटी माग, पटके कसुरदारलाई थप सजाय

सुन तस्करी : ६ जनासँग धरौटी माग, पटके कसुरदारलाई थप सजाय

400
SHARES

काठमाडौं : उच्च अदालत पाटनले करिब ६१ किलो सुन तस्करी प्रकरणमा ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। १२ जनालाई पुर्पक्षमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ। 

न्यायधीशद्धय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुख्य आरोपी दावा छिरिङ, टाँसी भनिने थुप्तिन छिरिङ, शिव कुमार सर्राफ हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्र कुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो। 

प्रतिवादी दावा छिरिङ र शिवकुमार सर्राफले सङ्गठित भई एकै वारदातमा एकभन्दा बढी कसुर गरेको देखिएकाले थप सजायको आदेश भएको छ। टासी भन्ने थुप्तिन छिरिङका हकमा वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री मुद्दामा कसुर भई पटके कसुरदार देखिएकोले थप सजायको माग दाबी लिई अभियोग दायर भएको देखिएको उच्चको आदेशमा लेखिएको छ।

आदेशमा लेखिएको छ, ‘गत साउन २ गते हङकङबाट नेपालमा ब्रेकप्याड समेतका मालबस्तुहरु पैठारी भएकोमा ती मालवस्तुमा अवैध रूपमा लुकाई छिपाई राखेको ६० किलो ६१६ ग्राम सुन बरामद भएको भन्ने बरामदी मुचुल्का, यी प्रतिवादीहरूले अनुसन्धान अधिकारी समक्ष गरेको बयान, सहप्रतिवादीहरूले एक अर्कालाई आरोपित गरी गरेको बयान, घटना विवरण कागज गर्ने व्यक्तिहरूको भनाई, अवैध रूपमा भन्सार चोरी निकासी गर्न विभिन्न मानिसहरू संलग्न भएको अवस्था समेतका मिसिल संलग्न तत्काल प्रमाणहरूको विवेचना गरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी भएको आदेश यी प्रतिवादीहरूको हकमा बेरीतको नदेखिँदा परिवर्तन गरिरहनु परेन, कानुन बमोजिम गर्नुहोला।’

उच्च अदालतले प्रतिवादीहरू कृष्ण कुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेश प्रसाद पौडेल, वीरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई मुद्दा पुर्पक्षको लागि थुनामा नै राख्नुपर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिँदा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी १९ असोजमा काठमाडौं जिल्ला अदालतबाट भएको आदेश मिलेको नदेखिँदा सो हदसम्म उक्त आदेश बदर गरिदिएको छ। 

अन्य आरोपी कृष्ण कुमार श्रेष्ठ र पुष्करराज भट्टबाट जनही एक लाख रुपैयाँ, गणेश प्रसाद पौडेल र वीरेन्द्र नेपालीबाट पाँच लाख रुपैयाँ तथा सुदर्शन गौतम र यादव पराजुलीबाट दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ। 

आदेशमा लेखिएको छ,‘अब पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम प्रतिवादीहरू कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट जनही एक लाख रुपैयाँ, गणेश प्रसाद पौडेल र वीरेन्द्र नेपालीबाट जनही पाँच लाख रुपैयाँ र सुदर्शन गौतम र यादव पराजुलीबाट जनही दुई लाख रुपैयाँ नगद धरौट वा जमानत वा बैङ्क जमानत माग गरी दिए लिई तारेखमा मुद्दाको पुर्पक्ष गर्नुहोला।’ 

ब्रेक प्याडमा राखी अवैध रूपमा भित्र्याएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो भने सुन तस्करीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान गरेको थियो। 

समाचार शेयर गर्नुहोस्
400
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.