दरबार हत्याकाण्ड : घातक प्रहार भन्दै ज्ञानेन्द्रले पोखे आक्रोश

दरबार हत्याकाण्ड : घातक प्रहार भन्दै ज्ञानेन्द्रले पोखे आक्रोश

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह २२ वर्ष पछि दरबार हत्याकाण्डबारे बोलेका छन्। राजदरबार हत्याकाण्डको विषयमा नकारात्मक भावना फैलाइएको भन्दै ज्ञानेन्द्रले राजनीतिक दलहरूप्रति आक्रोश समेत पोखेका छन्।

ज्ञानेन्द्रले दरबार हत्याकाण्डमा आफ्नो परिवारलाई घातक प्रहारहरू भएको उल्लेख गरेका छन्। ‘जेठ, १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए,’उनले भने,‘सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकी रहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।’

देशका विभिन्न ठाउँमा पुगेर नागरिक अभिनन्दन लिँदै आउनु भएका ज्ञानेन्द्रले शनिवार वीरगन्जमा आयोजित कार्यक्रममा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएको घटनामा आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको भन्दै आक्रोश पोखे।

दरबार हत्याकाण्ड पछि नै देशमा गणतन्त्र घोषणा भयो र ज्ञानेन्द्रलाई राजगद्दीबाट हटाइएको हो। बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको ज्ञानेन्द्रको भनाई छ। राजनीतिक दल प्रतिको आक्रोशले व्यवस्थामाथि नै धावा बोल्न थालिरहेका बेला ज्ञानेन्द्रले आफूलाई दरबार फर्काउन सहयोगको याचना सहितको अभिव्यक्ति पनि दिएका छन्।

‘आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रही आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ,’ज्ञानेन्द्रले भने,‘त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ।’

ज्ञानेन्द्रको सम्बोधनको पूर्णपाठ

तपाईँहरूका बीच आफ्ना मनका कुरा भन्न पाउँदा मलाई आज खुसी लागेको छ। हाम्रा तराई फाँटका जनभावना बुझ्ने र यहाँहरूसँग साक्षात्कार हुने यस्तो मौका मिलेकोमा म आयोजक, प्रबन्धक तथा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

हाम्रो अन्नको भण्डार भनिने तराई मधेसको यो समथर उब्जाउ फाँट—हामी नेपालीका लागि यो भूमिको अर्कै ठुलो मूल्य र महत्त्व छ। गौरवशाली इतिहास बोकेको, उद्यम इलम उत्पादन व्यवसाय, बजार र आर्थिक उत्थानको आधार हाम्रो तराई मधेसको छुट्टै पहिचान पौरख र प्रतिष्ठा छ।

हामी देखिरहेका छौँ, भोगिरहेछौँ—दुई तीन दशक यता आएर हाम्रो तराई क्षेत्र, हाम्रो यो उर्वर मधेस भूभाग आज उजाड बन्दै गइरहेको छ। यहाँको पोखरी, पानीको श्रोत ट्यूबेल कुवा धारा तथा जल सतह कमजोर बन्दै सुक्खा खडेरी र मरुभूमीकरण तिर गइरहेको छ। यो गम्भीर चिन्ताको कुरा हो।

मधेसका होनहार उद्यमी युवा जनशक्ति दिनौँ विदेश तिर दगुरिरहेका छन्। उचित रोजगारी, सीप इलम र अवसर दिन नसक्दा गरिबी बाध्यताका कारण हाम्रो जमिन, हाम्रो श्रोत साधन सबै सुक्दै हाम्रो जनशक्ति पातलिँदै गएको छ। यो दुःखको कुरा हो।

देश बनाउनु देश बचाउनु निरन्तर आवाज छ। हामीमाथि आह्वान पनि छ। म भन्छु—हामी हाम्रा पुर्खाको पौरख नभुलौँ, हामी, यही बसौँ, यही आफ्नो जन्भभूमीका लागि मरि मेटौँ। हाम्रो विकास हाम्रो उत्थान र हाम्रो समस्याको निवारण—हामी आफैबाट हुने हो। अरूले आएर गरिदिने हैन।

तर दुःखका साथ भन्नुपर्छ,आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै—खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्केको छ। यो अवस्थाको अन्त गर्नै परेको छ। यसका निम्ति अब सोच्ने बेला आयो। देशलाई झनझन—बरबादीतिर नलैजाऊँ। त्यसका लागि अब सबैले सोचौँ—समीक्षा गरौँ। नेपालको यस्तो राम्रो प्रकृति, हाम्रा यतिका प्राकृतिक श्रोत साधन—हाम्रो आफ्नो क्षमता—यी सबै कुरा—हाम्रो आफ्नो आर्थिक उन्नतिमा लगाऊँ।

आफ्नो घर उजाड पारेर अरूको उन्नतिमा आफ्नो श्रम पसिना लगाउने अब बेला गयो। आफ्नो क्षमता, आफ्नै घरद्धार, आफ्नै गाउँ बस्ती र आफ्नै बनाउने तिर अब हामी लाग्नै पर्छ। यसैमा हाम्रो देशको उन्नति प्रगति इज्जत प्रतिष्ठा निर्भर हुन्छ। हामी भूगोल र भू बनोटमा बाँडिने हैन, हामी जातजाति धर्म संस्कृतिमा खण्डित हुने हैन, हामी सबैको देश नेपाल, नेपालमा बस्ने हामी सबै नेपाली। त्यसैले विभेदको, विखण्डनको, विग्रहको र निषेधको राजनीति हामी नगरौँ। हामी सबैको भलाई यसैमा छ।

आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पिडा दायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्र प्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ। तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप वरवादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ। जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो। हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिले हुँदैन। हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो।

आफ्नो पुख्यौँली राजदरबारबाट परित्याग गर्दा २०६५ ज्येष्ठ २९ गते आमसञ्चार माध्यममार्फत मैले भनेको थिएँ। म नेपाल मै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु अनि त्यत्ति बेलै मैले भनेको थिएँ “स्वाभिमानी आम नेपालीको समग्र हित होस् भन्ने मेरो हार्दिक कामना छ।”

हाम्रो राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जान्छ र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेरको आङ्कलन हो। बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल छ। आफ्नो गरिमापूर्ण राजपाटबाट वियुक्त हुनुपर्दा मैले व्यक्त गरेका राष्ट्रियता, प्रजातान्त्रिक प्रतिबद्धता तथा देश र जनताको उत्थानमा क्रियाशील हुने भावनालाई मैले आज पनि सान्दर्भिक रूपमा सम्झिरहेको छु। त्यसै आशय अनुरूप मैले “चिरकाल पर्यन्त सुरक्षित रहोस् भनेर आफ्नो श्री पेच राष्ट्रलाई सुम्पिएको थिए।”

हामी देश मै छौँ, आज पनि देश मै रहेर हामीले देशको गौरव गाथा गाइरहेका छौँ। अहिले पनि देशको उन्नति होस्, भेदभाव रहित ढङ्गले सबै देशवासीको विकास हुँदै जाओस् भन्ने नै हाम्रो भावना छ। आफ्नो मौलिकता, आफ्नो अस्तित्व, आफ्नो पहिचान गुमाएर देशलाई विभाजनको खाडलतिर लगेर अनि देशमा सनातन देखि रही आएको सुमधुर सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन, यो कुरामा अहिले पनि हाम्रो अडान कायम छ। त्यसैले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा हामी अब लाग्नुपर्छ। यसैमा हाम्रो कल्याण छ।

सबैमा फेरि एक पटक हाम्रो धन्यवाद।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.