प्रधानमन्त्री तेस्रो परीक्षामा पास मात्रै

प्रधानमन्त्री तेस्रो परीक्षामा पास मात्रै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिनामा तेस्रो पटक विश्वासको मत लिएका छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्नेमा एक मत खसेको छ।

मतदान प्रक्रियामा २६८ सांसदको उपस्थित थियो। सभामुख देवराज घिमिरेले संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरे।

फागुन २१ गते काँग्रेससँगको गठबन्धन भत्काएर प्रचण्डले एमालेसहितको गठबन्धन बनाएपछि तेस्रो पटक विश्वासको मत लिएका हुन्। पुस २६ गते पहिलो पटक विश्वासको मत लिँदा २६८ मत पाएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक १७२ मत पाएका थिए।

तेस्रो पटक भने प्रचण्ड १५७ मतमा खुम्चिएका छन्। कुनै एक दलले समर्थन फिर्ता लिने बित्तिकै प्रचण्ड सरकार धरमराउने अवस्थामा पुगेको छ। विश्वासको मत दिएको नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई धम्की नै दिएको छ।

तर, प्रचण्डले कसैको धम्कीबाट नडराउने चेतावनी दिए। कहिले काँग्रेस र कहिले एमालेबाट आजित बनेको बताउँदै आएका प्रधानमन्त्री प्रचण्डले काँग्रेस एमालेलाई मिलेर सरकार बनाउन चेतावनी पनि दिए। आफूले जनयुद्ध सुरु गर्दा काँग्रेस नेतृत्वको सरकारले टाउकोको मूल्य तोकेको स्मरण गराउँदै प्रचण्डले जो सुकै मिल्दा पनि नडराउने जवाफ दिए।

प्रचण्डले एमाले काँग्रेस मिले माओवादी प्रतिपक्षमा बस्न तयार रहेको सुनाए। आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिवर्तन गर्नु परेको कारण बताउँदा पनि काँग्रेस आक्रामक बने पछि प्रचण्डले आफूलाई कमजोर नआँक्न सचेत गराए।

संसद्मा विश्वासको मतमाथि पक्ष–विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै प्रचण्डले समर्थक दललाई चित्त नबुझे साथ छोड्न चुनौती पनि दिए।

आफूले सोचेअनुसार काम गर्न नसकेको महसुस गरेर कि गठबन्धन फेर्नुपर्ने कि राजीनामा दिनुपर्ने मध्ये पहिलो विकल्प अघि सारेको दाबी प्रचण्डको थियो।

पूर्वअर्थमन्त्री डा प्रकाससरण महतले प्रधानमन्त्रीले भने अनुसारको रकम निकासा नगरे पछि गठबन्धन तोडिएको आशयको अभिव्यक्ति दिएको भन्दै प्रचण्डले पुष्टि गर्न चुनौती समेत दिए। प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो र दोस्रो दललाई पालैपालो सत्ता र प्रतिपक्ष बनाएका छन्।

एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले राष्ट्रपतिको निर्वाचनमा काँग्रेससँग सहकार्य गरेका थिए। राष्ट्रियसभा अध्यक्ष चयन गर्दा भने प्रचण्डले फेरि एमालेसँग नै सहकार्य गरेका छन्। काँग्रेस सत्तापक्षबाट प्रतिपक्षी बनेको छ।

तर, तेस्रो पटक परीक्षा दिएका प्रचण्ड भने बोर्ड फस्ट, फस्ट हुँदै अहिले पास मात्रै हुन पुगेका छन्। सत्तापक्ष बनेको एमालेलाई आफूतिर तानेर या आफै एमालेसँग गएर प्रचण्ड सरकार गिराउने रणनीति काँग्रेसले लिएको देखिएको छ। त्यो छनक काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा दिएका छन्।

सत्ता र प्रतिपक्षमा आलोपालो गरिरहेका एमाले र काँग्रेस भने एकअर्काविरुद्ध तीव्र घोचपेच र आलोचनामा उत्रिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई अहिलेको गठबन्धन प्रधानमन्त्री प्रचण्ड र आफूले नै फेरेको जवाफ दिए।

अहिलेको सत्ता समीकरण फेरिनुमा छिमेकी मुलुक चीनको भूमिका रहेको टिप्पणी भइरहेका बेला ओलीले यत्तिको काम गर्न आफूहरू नै काफी रहेको बताए।

ओलीले तीन वर्षअघि देखि काँग्रेससँग देशका समस्याबारे छलफल गर्न चाहे पनि कुरा नचलाएको भन्दै कटाक्ष गरे। आफू काँग्रेसभन्दा २–४ सिट सानो दल भएको र पूर्वप्रधानमन्त्री पनि भइसकेको व्यक्ती हुँदा पनि काँग्रेस सभापति शेरबहादुर देउवाले कुरा गर्न नमानेको ओलीले बताए।

२०७० सालको चुनावपछि लिखित सहमतिबिनै पहिलो पार्टीको रूपमा काँग्रेसलाई प्रधानमन्त्री बनाएको तर देउवाले बचन तोडेको भन्दै ओलीले अहिले खुब इमानको कुरा गरेको देख्दा अचम्म लागेको सुनाए।

ओलीपछि रोष्टममा पुगेका काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हिजो प्रतिपक्षमा हुँदा प्रचण्ड र माधव नेपालप्रतिको तिखो आलोचना गरेका ओलीको गालीको कुटुरो केही समय बन्द हुने आशा व्यक्त गरे।

विश्वासको मत दिनुअघि सत्ता साझेदार दलले नै प्रधानमन्त्री ‘प्रचण्ड’को चर्को आलोचना गरे। अहिलेको नयाँ सत्ता समीकरणमै रहेका दलका नेताहरूले समेत आक्रोश पोखे।

अन्तिममा सत्ता साझेदार बन्न पुगेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना मात्र होइन नैतिकतामाथि नै प्रश्न उठाए।

अर्को सत्ता साझेदार जसपाका सांसद राजकिशोर यादवले आफूहरूले मागेअनुसारको भाग नपाए जुनसुकै बेला अप्रिय निर्णय लिन सक्ने चेतावनी दिए।

गत वर्ष पुस १० को सरकारमा सहभागी भएर अहिले नअटाएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा लुटतन्त्र चलिराखे अहिलेको सत्ता ढाल्ने दिन आउन धेरै समय नलाग्ने बताए।

अहिले विपक्षी कित्तामा उभिएका जनमत पार्टीका अध्यक्ष डा सिके राउतले एक अर्काले धोकेबाज भनेर लामो भाषण गरे पछि एलिना चौहानकै गीत बझाउन उचित हुने सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading