निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

युक्रेनी सेनाको बन्धक बनेका पाँच नेपाली सार्वजनिक

युक्रेनी सेनाको बन्धक बनेका पाँच नेपाली सार्वजनिक

211
SHARES

काठमाडौं : युक्रेनले बन्धक बनाएका पाँच जना नेपालीलाई सार्वजनिक गरेको छ। अवैध बाटो हुँदै रुसी सेनामा भर्ती हुन पुगेका पाँच जना नेपालीलाई युक्रेनी सेनाले सार्वजनिक गरेको हो।

युक्रेनी सेनाको कब्जामा रहेका बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुन सार्वजनिक भएका हुन्। अर्का एक नेपालीको भने पहिचान खुलेको छैन।

रुसको सैन्य पोसाकमै सार्वजनिक गरिएका पाँचै जना सुरक्षित छन्। युक्रेनले पाँच नेपाली सहित विभिन्न देशका आठ जनालाई सार्वजनिक गरेको छ। युक्रेनले सार्वजनिक गरेको बन्दीहरू क्युबा, सेमालिया र सेरेआलियोनका नागरिकहरू रहेका छन्।

पत्रकारहरूको उपस्थितिमा सार्वजनिक गरिएका केही नेपालीले आफ्नो कुराहरू समेत व्यक्त गरेका छन्। बर्दियाका विवेक खत्रीले आफू एक वर्ष देखि रुसमा रहेको र आफ्ना साथीहरू रुसी सेनामा भर्ती भएपछि राम्रो हुने सुनेर आफू पनि भर्ती हुन आएको बताए।

मोरङ लेटाङका विकास राईले टिकटकमा रुसी सेनामा भर्ती भएका नेपालीहरूको भिडिओ देखेर आफू रुस पुगेको बताए। रुस पुगेपछि सबै प्रक्रिया हुन्छ भनेपछि आफू पर्यटक भिसामा रुस पुगेको र सेनामा भर्ती भएको उनले पत्रकारहरुसंग भनेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र बीबीसीले जनाएका छन्।

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु

निकै भावुक हुँदै उनले सबै नेपालीलाई रुसी सेनामा भर्ती नहुन आग्रह गर्दै आफ्नो ज्यान जोखिममा नपार्न समेत भनेका छन्।

युक्रेनले कब्जामा रहेका नेपालीहरू सार्वजनिक गरे पनि नेपालको परराष्ट्र मन्त्रालय बेखर छ। मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन भने सम्पर्कमा समेत आउन चाहेका छैन।

युक्रेनले बन्दी बनाएका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउने पहलका लागि नेपालले अन्तर्राष्ट्रिय रेडक्रस लगायतका संस्थाहरूसँग अनुरोध गरेको बताउँदै आएको छ। युक्रेनसँग अनौपचारिक कुरा गरे पनि ठोस उपलब्धि हासिल हुन सकेको छैन।

केही दिन अघि नेपालले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिक फिर्ता ल्याउन रुससँग पनि कुरा गरिरहेको बताएको थियो। हाल रुसी सेनामा भर्ना हुन पुग्ने सङ्ख्या उल्लेख्य छ। रुस युक्रेन युद्धका क्रममा २७ जना नेपालीले ज्यान गुमाइसकेका छन्।

समाचार शेयर गर्नुहोस्
211
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.