महिला बन्न चार करोड खर्च : भन्छन्, ‘ट्रान्स भनेर चिनाउनु ठुलो गल्ती थियो’

महिला बन्न चार करोड खर्च : भन्छन्, ‘ट्रान्स भनेर चिनाउनु ठुलो गल्ती थियो’

लिङ्ग परिवर्तनलाई सामान्य बनाउने अमेरिकी स्कुल दोषी

एजेन्सी : ओली लन्डन ३४ वर्षीय बेलायती पुरुष, जसले करोडौँ खर्च गरेर ३० भन्दा धेरै पटक शल्यक्रिया गरी कहिले बार्बी त कहिले केनको रूपमा आफूलाई परिवर्तन गरे।

आफू गलत शरीर लिएर जन्मिएको बताउने उनी जन्मँदा पुरुष थिए तर धेरै पटक अनुहार लगायतको शल्यक्रिया गरी रूप बदलिरहे। यसले उनलाई सन्तुष्टि मिलेन र अन्ततः उनी एक व्यक्ति भएर बाँच्न चाहेको बताउँदै पुनः पुरुषकै रूपमा फर्किएका छन्।

रूप परिवर्तन–शल्यक्रियाको शृङ्खला

इंग्ल्यान्डमा जन्मिएका इन्फ्लुएन्सर ओली लन्डन स्वयंलाई युवा जमातमा चर्चित ब्यान्ड बिटिएसका सदस्य जीमीन जस्तो देखियोस् भन्ने चाहन्थे। बिटिएस दक्षिण कोरियाली युवा साङ्गीतिक समूह हो र जीमीन सात सदस्यीय उक्त ब्यान्डका मुख्य नर्तक हुन्।

लन्डन अङ्ग्रेजी सिकाउन सन् २०१३ मा दक्षिण कोरिया पुगेपछि त्यहाँको संस्कृतिप्रति आकर्षित भए। सन् १९९० मा जन्मिएका इंगलिस इन्टरनेट पर्सनालिटी लन्डनले एक वा दुई पटक होइन ३२ पटक प्लास्टिक सर्जरी गरी आफूलाई कोरियाली महिला पप स्टार पार्क जी–मिनमा परिवर्तन गरे। उनले शल्यक्रियामा हजारौँ पाउन्ड खर्च गरेको कुराले विश्वलाई नै चकित पारिदियो।

यति मात्र होइन, उनले आफूलाई कहिले बार्बी बनाए, कहिले केन बनाए। अमेरिकी व्यवसायी रुथ ह्यान्डलद्वारा सिर्जना गरिएको प्लास्टिकको पुतली/गुडिया (बार्बी) जस्तो देखिन लन्डनले कस्मेटिक सर्जरीमा करिब २५०,००० पाउन्ड स्टर्लिङ (४ करोड २२ लाख भन्दा बढी) खर्च गरे।

लन्डनले आफूलाई बार्बीको पुरुष समकक्षीको रूप/पुतली केन–डल (केनेथ सीन अर्थात् केन) जस्तो देखिन डिट्रान्जिसन गरे। डिट्रन्जिसन सामाजिक, कानुनी या चिकित्सकीय माध्यमबाट ट्रान्सजेन्डर (तेस्रो लिङ्गी) पहिचान अर्थात् लैङ्गिक परिवर्तनलाई अस्थायी वा स्थायी रूपमा अन्त्य गर्नु हो।

शल्यक्रियामा ४ करोड खर्च

‘मैले अनुहारमा यति धेरै परिवर्तन गरेँ की, अब अनुहारका मांसपेशीहरूको गति पनि सञ्चार हुन छाडिसके’ बार्बी लुक छाडेर केनको रूपमा बाँचिरहेका बेला उनले डेलिमेलसँगको एक अन्तरवार्तामा भनेका थिए। कोरियाली महिला हुँदै पुनः बेलायती पुरुषमा फर्किनका लागी गरिएका झन्डै तीन दर्जन कस्मेटिक शल्यक्रियामा उनले ४ करोड बढी खर्च गरे।

उनको सबैभन्दा मिल्ने साथी आलीयाले पनि स्वयंलाई बार्बी बनाइन। आलीयाले वास्तविक बार्बीको रूपमा जीवन बिताउने इच्छा पुरा गर्न वर्षौँ देखि लाखौँ खर्च गर्दै आएकी छिन्। ‘हामी दुवैले कान्स फिल्म फेस्टिभल, भेनिस फेस्टिभल लगायत धेरै कार्यक्रमहरूमा बार्बीको रूपमा भाग लिएका थियौँ। हामी बार्बी र केन जस्तै छौँ’ आलियाले फुरुङ्ग पर्दै सुनाइन्।

विद्यालयमा लैङ्गिकता सवाल : विद्यार्थीले बिरालो भनेपछि…

दर्जनौँ शल्यक्रिया र ठुलो धनराशि खर्च गरेपछि लन्डनको भने मन परिवर्तन भयो। ट्रान्स व्यक्तिको रूपमा पहिचान बनाएपछि लन्डन जेमिन बने, बार्बी, केन बने अनि डिट्रान्जिसन हुँदै ‘अब एक व्यक्ति भएर बाँच्न चाहन्छु’ भन्दै पुनः पुरुषको रूपमा फर्किए। अन्ततः सन् २०२२ मा लन्डन बेलायती पुरुषका रूपमा फर्किए। ‘ट्रान्स भनेर चिनाउनु मेरो ठुलो गल्ती थियो। म अब ट्रान्स छैन र एक मानिसको रूपमा जीवनमा फर्किएको छु’ उनले ट्विटरमार्फत घोषणा गरे। लन्डनले क्रिश्चियन विश्वासलाई मुख्य कारण मान्दै आफू एक पुरुष बन्न ‘परिवर्तन’ भएको बताए।

आत्मखोजको यात्रामा धेरै चुनौतीहरूको सामना गर्नुपरेको बताउने लन्डन आफूलाई ट्रान्जिसन गर्दा प्रशंसा र प्रेम पाए पनि केही गुमाइरहेको महसुस गर्दथे। ‘मेरो सबै व्यक्तिगत सङ्घर्षहरू लैङ्गिक पहिचानका कारण हो भन्ने ठानेको थिएँ तर त्यस्तो होइन रहेछ भन्ने बुझेँ। धेरै थेरापी गरेँ, चर्च गएँ, शल्यक्रिया गर्दा मलाई वास्तविक खुसी पनि मिल्दैनथ्यो’ उनले भने,‘यो सबै छाडेर, हानिकारक सामान र प्रक्रियाबिना पनि म केन–डल जस्तै महसुस गर्न सक्छु भन्ने लाग्यो।’

मैले डी–ट्रान्जिसनपछि धेरै साथीहरू गुमाए–उनले थपे‘केहीले मलाई ट्रान्सफोबिक भएको ठान्थे। म अब हरेक मान्छे प्रामाणिक रूपमा बाँचोस् र आफूप्रति सत्य होस् भन्ने चाहन्छु।’

यात्रा र सङ्घर्ष संस्मरण

लन्डनले आफ्नो यात्राको संस्मरण समेत निकालेका छन्। उनले आफ्नो नयाँ संस्मरण ‘‘डिट्रान्जिसनः ए मेमोयर’ मा रूप परिवर्तनको यात्रा र सङ्घर्षको वर्णन गरेका छन्। कसरी एक व्यक्तिको आत्म–पहिचान र विचलनसँगको सङ्घर्षले लैङ्गिक विचारधारा आन्दोलनको आधारशिलालाई चुनौती दिन्छ’ भन्ने बारेमा उनले लेखेका छन्।

संस्मरणले ट्रान्स विचारधारा र लैङ्गिक पहिचानको मुद्दाको मूल कारणको खोजीसँगै युवाहरूको बढ्दो सङ्ख्यालाई सङ्क्रमणतर्फ धकेलिरहेका सामाजिक सञ्जाल, शिक्षा प्रणाली, मिडिया र अन्य कारकहरूको दबाबलाई समेत सम्बोधन गरेको छ।

‘मलाई आशा छ कि मेरो पुस्तकले आफ्नो पहिचानको लागि सङ्घर्ष गरिरहेका धेरै युवाहरू, सल्लाह र मार्गदर्शन चाहिने आमाबाबु र उनीहरूलाई जीवनमा कहिल्यै आशा नछाड्न प्रोत्साहित र मद्दत गर्दछ’ लन्डनले इन्स्टाग्राममा लेखे।

उनी लिङ्ग परिवर्तनलाई सामान्य बनाउने शिक्षा प्रणालीका लागि विद्यालय र आफ्नो डिस्फोरियाका लागि अमेरिकी स्कुललाई दोषी मान्दछन्। लन्डनले अमेरिकी संस्कृतिले लैङ्गिकतालाई लिएर युद्ध गरिरहेको र विद्यालयहरूले मानिसलाई यस विषयमा भ्रम छरेको भन्दै आलोचना गरेका छन्।

यसबीच बेलायतले नाबालिगहरूका लागि यौवन अवरुद्ध गर्नेहरूमाथि प्रतिबन्ध लगाएको छ। जेन्डर म्याडनेशका लेखक लन्डनले यौवनको प्रभावलाई ढिला गर्न प्रयोग गरिने प्यूबर्टी ब्लकर्स माथिको प्रतिबन्ध बालबालिकामाथि थोपर्नु सही नभएको फक्स न्युजलाई बताएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.