चौधरीले दिए साढे तीन घण्टा बयान, रविले झोक फेरेको गुनासो

चौधरीले दिए साढे तीन घण्टा बयान, रविले झोक फेरेको गुनासो

काठमाडौं : अर्बपतिको नामले चिनिएका विनोद चौधरीले झन्डै साढे ३ घण्टा बयान दिएका छन्। सरकारी वकिलको कार्यालयमा बिहान ७ बजेदेखि सुरु भएको चौधरीको बयान साढे ३ घण्टा चलेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले बयानका लागि बोलाए पछि चौधरी आत्तिँदै एकाबिहानै सरकारी वकिलको कार्यालय पुगेका थिए। मौखिक रूपमा जानकारी पाउने बित्तिकै बयान दिन पुगेको चौधरीले बताए।

सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बिहान सबेरै बयानका लागि चौधरी उपस्थित भएको जानकारी दिए। ‘उहाँ बिहान सबेरै आउनु भएको थियो, ७ बजेतिर होला,’सहन्यायाधिवक्ता श्रेष्ठले पहिचानसँग भने,‘सात बजेदेखि नै बयान सुरु भएको हो, १०/साढे १० तिर बयान सकेर निस्कनु भयो।’

बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा किर्ते गरी ठगी गरेको आरोप लागेका चौधरीको बयान सकिएको छ। ‘बयान सकिएको छ,’उनले भने,‘अब अरू प्रक्रिया अगाडि बढ्छ होला।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिनाबारे अनुसन्धान गर्न आइतबार मात्रै सीआइबीलाई निर्देशन दिएका थिए। सीआइबीले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई बुधवार नेपाली काँग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी सहितको पत्र पठाएको थियो।

सांसदमाथि अनुसन्धान भइरहेको जानकारी सीआइबीले संसदीय इतिहासमा पहिलो पटक गराएको हो। बिहीबारदेखि १० दिनसम्म संसद् बैठक स्थगित भएको छ। सभामुख, राजनीतिक दलका प्रमुख सचेतकहरू जेनेभा अघिल्लो दिन सीआइबीको पत्र संसद् पुग्नुलाई थप रहस्यका रूपमा समेत हेरिएको छ।

सीआइबीले चौधरीमाथि अनुसन्धान गरेको पत्र पुग्नुलाई कतिपयले गृहमन्त्री लामिछानेको प्रचारबाजीका रूपमा समेत लिएका छन्। बिहीबार बयान दिएका चौधरीले स्टन्टबाजी भएको प्रतिक्रिया दिएका छन्।

सहकारी ठगीमा मुछिएका लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै काँग्रेसले संसद् र सडकमा विरोध जनाइरहँदा चौधरीलाई पक्राउ गर्ने गरी नै संसद्मा पत्र पुगेको आशङ्का समेत व्यक्त भएका छन्।

बयान दिँदैमा कोही पनि व्यक्ति दोषी भइहाल्ने भने होइन। राज्यका निकायमा उपस्थित भएर बयान दिँदैमा कसैले अपराध नै करार पनि गर्दैन। तर, चौधरीले भने शक्तिको दम्भ प्रदर्शन गरेका छन्। उनी कार्यालय खुल्नु अगाडि नै बोलाउने बित्तिकै सरकारी कार्यालयमा पुगेर कार्यालय सुरु हुने समयमा बाहिरिएका छन्।

काँग्रेस सांसद विनोद चौधरीसँग एकाबिहानै बयान

बयान दिएर बाहिरिएपछि प्रतिक्रिया दिँदै चौधरीले आफ्नो भाइ अरुण चौधरी पक्राउ पर्दा संसद्मा आवाज उठाएको स्मरण गराए। अरुणलाई दुई दिन बयान लिएर रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश नै दिएको थियो। काँग्रेस संसदीय दलको बैठकमा चौधरीले भाइ पक्राउ पर्नुको कारण खुलाएका थिए।
आफूमाथिको अनुसन्धानको हल्ला हुने बित्तिकै चौधरीले प्रतिनिधिसभा बैठकको रोष्टममा उभिएर प्रस्ट पार्ने प्रयास गरेका थिए।

संसद् जनताको आवाज बोल्ने थलोको रूपमा परिचित भए पनि चौधरीले आफ्नै कुरा सुनाउँदै आउनु परेको छ। सत्ता गठबन्धनबाट चौधरी आबद्ध काँग्रेस बाहिरिएको छ। गृह प्रशासनको बागडोर रविले सम्हालेका छन्। काँग्रेसले रविको राजीनामा मागेकाले झोक फेरेको आरोप समेत चौधरीले लगाए।

उनले आफूलाई जिम्मेवार व्यक्ति भन्दै अनुसन्धानलाई सहयोग गर्न उपस्थित भएको बताए। ‘४२ वर्ष अगाडि बाँसबारी जस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ एउटा पब्लिक प्राइभेट पार्टरशिपको एउटा उत्कृष्ट मोडलको रूपमा खडा गरिएको नवीनतम सोचलाई जुन किसिमले राजनीतिकरण गरियो, त्यो अत्यन्तै दुख लाग्दो छ,’चौधरीले भने,‘४२ वर्ष अगाडिको बाँसबारीको जग्गाको मूल्य कति नै पर्थ्यो होला भन्ने सबैले बुझेका छन् नेपालमै पनि।’

बयान दिन बोलाउनुलाई चौधरीले निजी क्षेत्रमाथिको आक्रमणको रूपमा समेत अर्थ्याएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसंघको अध्यक्ष भैसकेका चौधरीले आफूमाथिको अनुसन्धानलाई विकृत मानसिकताको उपज बाहेक केही नभएको टिप्पणी समेत गरे।

चौधरीको पञ्चायतकालमा दरबारसँग सम्बन्ध थियो। बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा कुनै पनि राजनीतिक दलमा टाँसिन नगएका उनी पहिलो संविधान सभामा नेकपा एमालेको समानुपातिक कोटामा सभासद् बने। २०६४ सालमा एमालेको कोटाबाट सभासद् बनेका चौधरी २०७४ मा काँग्रेस प्रवेश गरे। समानुपातिक प्रणालीको मधेसी कोटामा संसद् छिरे।

चौधरी व्यवसायी मध्येमा चतुर मानिन्छन्। पारिवारिक व्यावसायिक विरासतको यात्रालाई फोब्स अर्बपति सूचीमा पुर्‍याएका चौधरीमाथि राजनीतिक प्रभाव मार्फत राज्यस्रोतको दोहन गरेको आरोप लागेको छ।

तर, उनले यो आरोपलाई सिधै अस्वीकार गर्छन्। ‘मैले कहिले पनि दलगत राजनीतिको पक्षमा गलत प्रवृत्तिलाई कहिल्यै पनि प्रश्रय दिइन,’चौधरीले बयान दिएर निस्किएपछि भने,‘दलहरूका आपसी मतभेदमा कहिल्यै सरिक भइन,तर आज भने उद्यमीलाई, उद्योगलाई राजनीतिकरण गर्ने, एउटा लगानीकर्ता र ट्याक्सपेयरलाई राजनीतिकरण गर्ने प्रस्टसँग देखियो।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading