केजरीवालको गिरफ्तारीले बबाल, मोदीलाई भुटानमा मेजमानी

केजरीवालको गिरफ्तारीले बबाल, मोदीलाई भुटानमा मेजमानी

144
SHARES

एजेन्सी : सरकारले विक्री गर्दै आएको मदिरा निजी क्षेत्रलाई दिएर करोडौँ घोटाला गरेको आरोपमा पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल। भारतमा ईडी अर्थात् जाँचबुझ गर्ने निकायले केजरीवाललाई पक्राउ गरेर अनुसन्धान गर्न २८ मार्चसम्मको अनुमति लिएको छ।

उनलाई २८ मार्चमा पुलिस कष्टडीबाट सिधै जिल्ला न्यायालय लगिनेछ। यो ईडी पछिल्ला केही वर्षदेखि मात्रै एक्सनमा उत्रिएको छ। ईडीमाथि सत्तारुढ बीजेपीका नेताहरूलाई चोख्याइरहेको र विपक्षी दलका नेताहरूलाई जेल पुर्‍याइरहेको आरोप समेत लागेको छ।

चुनावको पूर्वसन्ध्यामा सत्तारुढ प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले विपक्षीको मुख थुन्न धमाधम पक्राउ गरेको आरोप लगाएका छन्। आमआदमी, कङ्ग्रेस आइसहित दलहरूको विपक्षी गठबन्धन मोदीको भारतीय जनता पार्टीलाई पराजित गराउने अभियानमा लागिरहँदा केजरीवाल पक्राउ परे।

केजरीवालले जिल्ला न्यायालय परिसरमा भित्र रहे पनि बाहिर रहे पनि आफ्नो जीवन देशका लागि समर्पित गरेको बताए। ‘मेरा जीवन देश के लिए समर्पित है, चाहे अंदर रहूँ या बाहर,’उनले भने।

केजरीवाल पक्राउको विरोधमा दिल्ली, मोहाली, कुरुक्षेत्र, गोवा, अहमदावाद, भुवनेश्वर, नागपुर, राजकोट, कोलकाता, बैंगलुर, जयपुर लगायत ठाउँमा प्रदर्शन नै भएको छ।

कङ्ग्रेस नेता अतुल लोंधे पाटिल विपक्षीसँग डराएको भारतीय जनता पार्टीको षडयन्त्र भएको बताउँछन् भने बीजेपीका प्रवक्ता संबित पात्रा केजरीवालको गिरफ्तारले दिल्लीका जनता खुसीयाली मनाइरहेको बताउँछन्। मोदी विरुद्ध इन्डिया गठबन्धन बनेको छ।

गठबन्धनसँग मोदीको दल बीजेपी डराएर कङ्ग्रेसको बैङ्क खाता रोक्का गर्नेदेखि बहालवाला मुख्यमन्त्रीलाई गिरफ्तार गर्न लागेको आरोप लागेको छ। भ्रष्टाचारलाई मोदी र इन्डिया गठबन्धन आमनेसामने भएका छन्।

मोदीलाई भुटानमा सर्वोच्च सम्मान, शरणार्थीबारे मौन

भारतमा पहिलो चरणको चुनाव १९ अप्रिलबाट सुरु हुँदैछ। २६ अप्रिलमा दोस्रो, ७ मेमा तेस्रो, १३ मेमा चौथो, २९ मेमा पाँचौँ, २५ मेमा छैटौँ र १ जुनमा अन्तिम सातौँ चरणको चुनाव हुने मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन्।

सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री नियुक्त मोदीको दोस्रो कार्यकाल सकिन लागेको छ। उनी तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न चुनावी रणनीतिमा लागेका छन्। मतदान सुरु हुनु एक महिना अघि मोदीले भुटानको औपचारिक भ्रमण गरेका छन्।

मोदीले बिहीबार भुटान जाने तालिका बनाएका थिए। तर, मौसमको कारण देखाउँदै मोदीले बुधवार बेलुकी मात्रै भ्रमण स्थगित गरेका थिए। भ्रमण स्थगित गरेको भोलिपल्ट बिहीबार दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ परे। केजरीवालको गिरफ्तारीले भारतभर हङ्गामा भइरहँदा मोदी भने शुक्रवार भुटान पुगे।

केजरीवाल गिरफ्तारीको विरोधमा भएका प्रदर्शन रोक्न ठाउँठाउँका सडक बन्द गरिए। कुरुक्षेत्र, जयपुरमा प्रहरीले लाठी चार्ज नै गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। केजरीवाल भ्रष्टाचारको विरोध गरेर चुनाव जित्दै आएका थिए।

उनले केन्द्र सरकारको नेतृत्व गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने उद्घोष गर्दै आएका थिए। उनैलाई गिरफ्तारी गरेर मोदी इन्डिया गठबन्धनको शक्ति तहसनहस बनाउने अभियानमा लागेको आरोप समेत लागिरहेको छ।

भारतभर राजनीतिक बबाल मच्चाएर प्रधानमन्त्री मोदी भुटानको मेजमानी व्यस्त बनेका छन्। पहिलो पटक प्रधानमन्त्री बन्दा पहिलो विदेश यात्रा भुटानको गरेका मोदी चुनावको एक महिना अघि भुटान जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समाचार शेयर गर्नुहोस्
144
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.