संसद् अधिवेशन अन्त्य

संसद्को विरोधबाट लामिछाने मुक्त, सरकार भागेको काँग्रेसको टिप्पणी

संसद्को विरोधबाट लामिछाने मुक्त, सरकार भागेको काँग्रेसको टिप्पणी

काठमाडौं : अवरोधकैबीच प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ। सम्भावित कार्यसूचीमा राखिएका प्रस्तावहरू हटाएर अनुपस्थित सांसदको बिदा स्वीकृत गर्ने प्रस्ताव मात्रै वाचन गराउने सहमति गरेर सुरु भएको अन्तिम बैठकमा काँग्रेस, राप्रपासहित विपक्षी दलले उठेर विरोध जनाए।

कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति भए पनि विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरे जङ्गिए। सभामुख घिमिरेले गलत परिपाटीको विकास नगर्न अनुरोध नै गर्नु पर्‍यो।

गत माघ २ गतेदेखि सुरु भएको संसद् अधिवेशन यसअघि एमाले र गठबन्धन फेरिएपछि काँग्रेसको अवरोध महत्त्वपूर्ण विधेयक पारित नै नगरी अन्त्य हुन पुगेको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको माग छल्न सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।

संसद्को अन्तिम बैठक : कार्यसूचीबाट गृहमन्त्री लामिछाने आउट

लामिछानेमाथि छानबिन गर्न समिति गठन गर्दा सरकार नै धरापमा पर्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन्। सरकारको सिफारिसमा अधिवेशन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको पत्र सभामुख घिमिरेले वाचन गरेर सुनाए।

संसद् अधिवेशन अन्त्य भएसँगै अब गृहमन्त्री लामिछाने काँग्रेसको संसदीय विरोधबाट तत्कालका लागि मुक्त भएका छन्। माघ २ गते सुरु भएको अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन्।

सभामुख घिमिरेले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गरे।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा तीन जना सांसद लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भए। नेपाली काँग्रेस, नेकपा एमाले र जनमत पार्टीका एक/एक सांसद १० भन्दा बढी बैठकमा अनुपस्थित भएका हुन्।

सबैभन्दा बढी काँग्रेस सांसद मनोरमा शेरचन १३ वटा बैठकमा अनुपस्थित भइन। शेरचनले आफ्नो थेरापी चलिरहेका कारण बैठकमा उपस्थित हुन नसकेको जानकारी संसद् सचिवालयमा गराएकी थिइन। एमालेका सांसद वसन्त कुमार नेम्वाङ उपचारको लागि भन्दै १२ बैठकमा उपस्थित भएनन्।

आमा र श्रीमान्को उपचारमा भारत जानुपर्ने कारण देखाउँदै जनमत पार्टीका सांसद सोनु मुर्मुपनि गत फागुन १४ गतेदेखि चैत ७ गतेसम्मको बैठकमा लगातार अनुपस्थित हुनुभएको सभामुख घिमिरेले जानकारी गराए। हिउँदे अधिवेशन २३ दिनमा ८१ घण्टा ५५ मिनेट बसेर अन्त्य गरिएको छ।

नेपाली काँग्रेसले सरकार संसद्बाट भागेको बताएको छ। काँग्रेससहितका विपक्षी दलहरूले आमनागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका थिए।

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत संलग्न रहेको भन्दै काँग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको थियो।

सरकारले सदनमा बहुसङ्ख्यक सदस्यहरूले उठाएको विषयबारे गम्भीर र सार्थक संवाद गरी निष्कर्षमा पुग्नु पर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसद्बाट भाग्ने काम गरेको काँग्रेसको आरोप छ।

सरकारले संसदीय अभ्यासमा आघात गर्ने र प्रकारात्मकले संसदीय व्यवस्थालाई कमजोर बनाउने हर्कत गरेको काँग्रेसको आरोप छ। काँग्रेसले सरकारको अपरिपक्वता, गैरजिम्मेवारी र तानाशाही प्रवृत्ति देखिएको टिप्पणी समेत गरेको छ। सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको काँग्रेसले घोर भर्त्सना र निन्दा गरेको छ।

नेकपा एमालेले भने संसदीय अभ्यासको बर्खिलाप गरेको काँग्रेसको आरोप उसैतिर फर्काइदिएको छ। अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप लगाए। काँग्रेसले संसद् चल्न नदिएपछि हिउँदे अधिवेशन अन्त्य गरिएको ओलीले सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading