प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै

काठमाडौं : सङ्घीय संसद्का बैठकमा अवरोध जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिने तयारी गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संसद्मा नाराबाजी जारी राखेको छ।

काँग्रेसको अवरोधका कारण सरकारले १ जेठमा सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम टेबुल नै भएको छैन। राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्ताव पनि अलपत्र परेको छ।

संसद्मा सरकार र सत्तापक्ष सांसदहरू मुठभेडमा उत्रिरहँदा प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने तयारी गरेका हुन्। सत्तारुढ जनता समाजवादी पार्टी नेपालले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने तयारी गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ जेठमा विश्वासको मत लिने प्रस्ताव कार्यसूचीमा राखिदिन सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ। जसपा नेपालले ३१ वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। अशोक राई नेतृत्वमा जसपा पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

१२ सांसद रहेको जसपा नेपाल फुटेर ७ सांसद राई नेतृत्वको जसपामा लागेका छन्। संसद्मा अल्पमतमा परेपछि उपप्रधान तथा स्वास्थ्य मन्त्री रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएर समर्थन फिर्ता लिएका हुन्।

सभामुखको विवेकहीन निर्णय, धकेलाधकेल पछि संसद् स्थगित

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मत लिने प्रस्तावमा बहुमत जुटाउन एक सय ३८ सांसदको समर्थन आवश्यक पर्छ। ३० फागुनमा तेस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डसँग उपेन्द्र यादवको जसपा नेपाल बाहिरिँदा एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका १०, राई नेतृत्वको जसपाका सात, नागरिक उन्मुक्तिका ४, आम जनता पार्टीका एक, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलको समर्थन छ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचन पछि एमालेको समर्थनमा १० पुस ०७९ मा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए। पहिलोपटक २६ पुसमा विश्वासको मत लिँदा प्रतिनिधिसभामा दुई सय ६८ सांसदको समर्थन पाएका प्रचण्डले एमालेसँगको सहकार्य तोड्दै काँग्रेससँग गठबन्धन बनाउँदा दोस्रोपटक ६ चैतमा एक सय ७२ सांसदबाट विश्वासको मत पाएका थिए।

गत २१ फागुनमा काँग्रेससँगको सहकार्य तोडेका प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक विश्वासको मत परीक्षण गर्दा एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति, आम जनता पार्टी दुई स्वतन्त्र सांसदले समर्थन गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.