सभामुखको विवेकहीन निर्णय, धकेलाधकेल पछि संसद् स्थगित

सभामुखको विवेकहीन निर्णय, धकेलाधकेल पछि संसद् स्थगित

काठमाडौं : सभामुख देवराज घिमिरेले विवेकहीन निर्णय लिँदा संसद् बैठकमा कुटाकुट हुने अवस्था सिर्जना भएको छ।

प्रतिपक्षी दल काँग्रेसको नारावाजीकाबीच सहकारी अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने सभामुख घिमिरेको विवेकहीन निर्णयले संसद् बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरुबीच कुटाकुट हुने अवस्था सिर्जना भएको हो। 

सरकारको अझ एमाले अध्यक्ष केपी शर्मा ओलीको इशारामा सभामुखले प्रमुख प्रतिपक्षी दल काँग्रेसलाई पेलेर अघि बढ्न खोजेपछि हात हालाहालको अवस्था आएको हो। काँग्रेसले यसअघि राख्दै आएको माग सम्बोधन गर्न सरकार तयार नभए पछि सभामुख घिमिरेले अवरोधकै बीच गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए। 

सभामुखले काँग्रेसको नाराबाजी चलिरहँदा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए लगत्तै गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए। लामिछाने रोष्ट्रममा जान खोज्दा काँग्रेसका सांसदहरूले रोके। लामिछानेलाई रोष्ट्रममा पुर्‍याउन एमाले अध्यक्ष ओली आफैँ जुरुक्क  उठेर काँग्रेस सांसदहरूको अवरोध पन्छाउन खोज्दा हात हालाहालको अवस्था सिर्जना भयो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गृहमन्त्रीलाई रोष्ट्रममा जान इशारा गरेपछि काँग्रेस उपसभापति धनराज गुरुङ आक्रोशित हुँदै सवालजवाफमा उत्रिए। ओलीलाई गुरुङको प्रतिकार देखेपछि प्रमुख सचेतक महेश बर्तौला प्रतिरोध गर्न पुगे। जति बेलासम्म काँग्रेस सांसदले सत्तापक्षको रोह घेराबन्दी गरिसकेका थिए। 

प्रतिनिधि सभाको यो दृश्य नेपालको संसदीय इतिहासमा लज्जाको रूपमा दर्ज हुने टिप्पणी भएको छ। सत्तापक्षका दलका नेता, प्रमुख सचेतक र सभाकै उपसभामुख नाराबाजी गरिरहेका सांसदसँग नोकझोंकमा उत्रिए।

ओली र प्रधानमन्त्री प्रचण्डसँग काँग्रेस सांसद भिड्न खोजे पछि सभामुखले गृहमन्त्री लामिछानेलाई आसनग्रहण गर्न भनेर कार्यसूची हटाएर बैठक शुक्रवार बिहान ११ बजेसम्मका लागि स्थगित गरे। सभामुख घिमिरेले तत्कालै निर्णय सच्याउँदा ठुलो दुर्घटना भने टरेको छ।  

सभामुख घिमिरेले पटक पटकको प्रयास असफल भए पछि कार्यसूची अघि बढाएका थिए। हात हालाहालको स्थिति भएपछि स्थगित भएको संसद्को बिहीबारको बैठकलाई एमालेले संसदीय इतिहासमा कालो दिन भनेको छ भने काँग्रेसले एमाले अध्यक्ष ओली यूथ फोर्स र वाइसियलको अध्यक्ष जसरी प्रस्तुत हुँदा मुठभेडको अवस्था आएको बताएको छ। 

लोकतान्त्रिक पार्टी काँग्रेसले अराजनीतिक, अलोकतान्त्रिक, असंसदीय, अधिनायकवादी चरित्र र अमर्यादित व्यवहार देखाएको आरोप सत्तारुढ एमाले सांसद रघुजी पन्तले लगाए। काँग्रेसले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि दुर्व्यवहार गरेको आरोप उनले लगाए।  

एमाले प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेसले दादागिरी देखाएको टिप्पणी गरे। सत्ताबाट बाहिरिएको काँग्रेस मात्तिएर उपसभामुख इन्दिरा राना र पार्टी नेता ओलीमाथि असंसदीय व्यवहार प्रदर्शन गरेको आरोप उनले लगाए। 

काँग्रेस उपसभापति गुरुङ सत्तापक्षको राहेमा पुगेर उपसभामुखको कुर्सीमा बसेका थिए। एमालेका सचिव योगेश भट्टराईले संसदीय इतिहासको कालो दिन भनेका छन्। 

रास्वपाका सह प्रवक्ता मनिस झाले काँग्रेस उपसभापति धनराज गुरुङ उपसभामुखको कुर्सीमा बसेर असंसदीय व्यवहार प्रस्तुत गरेको आरोप लगाए। त्यतिमात्र होइन चर्को स्वरमा कराउने काँग्रेसलाई नबोल्नुस् भन्दा ओलीमाथि हमलाको प्रयास भएको उनले सुनाए। आफ्ना पार्टी अध्यक्ष लामिछानेमाथि पनि धकेलाधकेल हुन सक्ने स्थिति देखेपछि आफूहरू नजिकै गएर उभिएको उनले बताए। 

सरकारकी प्रवक्ता रेखा शर्माले प्रतिपक्षी काँग्रेस सत्तापक्षको रोहमा प्रवेश गर्न मिल्छ? भनेर सोधेकी छन्। 

काँग्रेसले सत्तापक्षको आरोपको खण्डन गरेको छ। महामन्त्री गगनकुमार थापाले संसद्‌भित्र अप्रिय स्थिति सिर्जना भएको र त्यसको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताए।

प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सभामुखका कारण संसद्‌भित्र त्यो स्थिति सिर्जना भएको बताए। उनले संसद्‌मा जबरजस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गराएको बताए। उनले सभामुख आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको बताए।

‘आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेन्चमा रहेका प्रायः सबै दलका माननीयहरू आज उठ्नुभएको अवस्था थियो। प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्‌भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरू उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीन वटा पार्टीका अध्यक्षहरूसँग परामर्श गरेर आएर जे जति कुरा सदनभित्र गराउन निर्देशन दिइयो। हुबहु त्यसको पालना गरेको देखियो,’उनले भने,’आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो‚ यसको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ।’

प्रतिपक्षीले अवरोध गरेका बेला संसद् नचल्ने परम्पराको खिल्ली उडाएर सभामुख अघि बढेको प्रवक्ता प्रकाशसरण महतले बताए। प्रतिपक्ष दलले वेल घेरेर नाराबाजी गरिरहेका बेला सत्तापक्षका नेताको आदेशअनुसार सभामुखले कार्यसूची अघि बढाउन खोजे पछि प्रतिकार गरेको जवाफ उनले दिए।  

पूर्वप्रधानमन्त्रीमाथि आक्रमणको प्रयास गरेको आरोप झुटो भएको भन्दै महतले काँग्रेस मर्यादित पार्टी भएको बताए।  

एमालेले तरुण दल र नेविसंघको आन्दोलन जस्तो संसद् बनाउन खोजेको आरोप लगाए पछि काँग्रेस सांसद रामहरि खतिवडाले यूथ फोर्स र वाइसियलको अध्यक्ष जस्तो भएर पूर्वप्रधानमन्त्री ओली प्रस्तुत हुँदा मुठभेड निम्तिएको जवाफ दिए। 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिचार सिद्धान्त र नीतिले काम नगरेपछि मुठभेडकोे स्थिति आउने प्रतिक्रिया दिए। 
 

सहकारीको प्रकरणमा गृहमन्त्री लामिछाने केन्द्रित समिति गठन गर्न सरकार तयार भएको छैन। माओवादी सांसद माधव सापकोटाले काँग्रेस बिहान भएको सहमतिबाट पछि हट्दा संसद्मा मुठभेड निम्तिएकोले माफी माग्नुपर्ने माग गरे।  

राष्ट्रियसभाको बैठकमा पनि काँग्रेसले अवरोध गरेको छ। साढे ४ बजेलाई सारिएको बैठक १२ मिनेटपछि सुरु भए पनि काँग्रेसको अवरोधका कारण अघि बढ्न सकेन। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.