प्रहरीको ६ आरोपमा सिरोहियाको १० प्रतिवाद

प्रहरीको ६ आरोपमा सिरोहियाको १० प्रतिवाद

तस्बिर : कान्तिपुर

काठमाडौं : नागरिकता किर्ते गरेको कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूमाथि लागेको आरोपको प्रतिवाद गरेका छन्। आधिकारिक बयान सुरु हुनै लाग्दा सिरोहियाले कानुन व्यवसायीमार्फत आफूमाथि लागेको आरोपको १० बुँदामा प्रतिवाद गरेका हुन्।

कसैको प्रतिशोध र इसारामा इन्द्रजितप्रसाद महतोले जाहेरी दिएको दाबी सिरोहियाले गरेका छन्। गृहमन्त्री रवि लामिछाने र रास्वपा सांसद मनीष झासँग एउटै टेबलमा बसेर छलफल गरिरहेको फोटो सार्वजनिक भएपछि मात्र उनलाई देखेको सिरोहियाको पहिलो प्रतिवाद छ।

उनले आफूसँग दुई–तीन थरी नागरिकता बनाएको हल्ला गरेर जनसमुदायलाई भ्रमित पारिएको भनेका छन्। तर प्रहरी र सरकारी वकिलले आफूमाथि यस्तो आरोप नलगाएको सिरोहियाको दोस्रो प्रतिवाद छ।

आफूले प्राप्त गरेको नागरिकता सुरक्षित राखेर सदुपयोग गर्ने आफ्नो दायित्व भएको बताउँदै उनले राज्यका अभिलेखमा पहुँच भएका कसैको लापरबाही वा दुर्नियतले सरकारी अभिलेख (ढड्डा) तलमाथि हुन्छन् भने त्यसको सम्पूर्ण दायित्व सम्बन्धित निकायले लिनुपर्ने जिकिर सिरोहियाले तेस्रो प्रतिवादमा गरेका छन्।

उनले नागरिकतामा नम्बर राख्ने क्षेत्राधिकार आफ्नो नभएको बताउँदै चौथो प्रतिवादमा भनेका छन्,‘अरू कसैको नम्बरसँग मिलेको छ भने त्यसको जबाफदेही म होइन। मेरो नागरिकता प्रमाणित गर्ने अधिकारीको हस्ताक्षर र मिति छैन भन्ने हल्ला गरिएको छ, सबै विवरण मेरो नागरिकतामा छन्।’

कैलाश सिरोहिया पक्राउ पर्नुको ६ आधार

सिरोहियोले वंशजको नागरिकता प्राप्त गरेको जवाफ कानुन र सरकारले दिन सक्ने पाँचौँ प्रतिवाद गरेका छन्। ‘म पिताजीले नागरिकता प्राप्त गरेपछि जन्मिएकाले वंशजको नागरिक हुँ, पिताजीले नागरिकता प्राप्त गर्नुअघि र पछि जन्मिएका सन्तानको नागरिकताको प्रकार पनि कानुनअनुसार फरक भएको होला, जसको जवाफ कानुन र सरकारले दिन सक्छ’उनले प्रतिवाद गरेका छन्।

उनले नागरिकताको जन्म मिति फरक भएकोबारे छैटौँ प्रतिवादमा भनेका छन्,‘२०१९ साल मङ्सिर २९ मा मेरो जन्म भएको हो, २०३६ भदौ २५ मा नागरिकता लिएको हुँ, उमेर कति लेखियो भन्ने अधिकार प्राप्त अधिकारीले जान्ने विषय हो, मेरो इच्छा र रोजाइले लेखाउन पाउने विषय होइन।’

उनले गरेका १० प्रतिवादमा पत्र काटेर बोलाएको भए नागरिकता बोकेर आफैँ उपस्थित हुने जिकिर गरेका छन्। सञ्चारमाध्यमको कार्यालयमा हतियारधारी प्रहरी परिचालन गरेर पक्राउ गरिनु राज्यशक्तिको दुरुपयोग भएको सिरोहियाले उल्लेख गरेका छन्।

सिरोहियाका कानुन व्यवसायीले जनकपुरमा सार्वजनिक गरेको वक्तव्यको संक्षिप्त अंश :

१.कसैको प्रतिशोध र इसारामा इन्द्रजितप्रसाद महतोले जाहेरी दिएका हुन् भन्ने मेरो दाबी छ, गृहमन्त्री लामिछाने र रास्वपा सांसद मनीष झासँग एउटै टेबलमा बसेर छलफल गरिरहेको फोटो सार्वजनिक भएपछि मात्र उनलाई मैले देखेको हुँ।

२.मैले एउटा मात्र नागरिकता लिएको छु, दुई–तीन थरी नागरिकता बनाएको हल्ला गरेर जनसमुदायलाई भ्रमित पारिएको छ तर प्रहरी र सरकारी वकिलले ममाथि यस्तो आरोप लगाएका छैनन्।

३.मैले प्राप्त गरेको नागरिकता सुरक्षित राखेर सदुपयोग गर्ने मेरो दायित्व हो । राज्यका अभिलेखमा पहुँच भएका कसैको लापरबाही वा दुर्नियतले सरकारी अभिलेख (ढड्डा) तलमाथि हुन्छन् भने त्यसको सम्पूर्ण दायित्व सम्बन्धित निकायले लिनुपर्छ।

४.नागरिकतामा नम्बर राख्ने क्षेत्राधिकार मेरो होइन, अरू कसैको नम्बरसँग मिलेको छ भने त्यसको जबाफदेही म होइन । मेरो नागरिकता प्रमाणित गर्ने अधिकारीको हस्ताक्षर र मिति छैन भन्ने हल्ला गरिएको छ, सबै विवरण मेरो नागरिकतामा छन्।

५.म पिताजीले नागरिकता प्राप्त गरेपछि जन्मिएकाले वंशजको नागरिक हुँ, पिताजीले नागरिकता प्राप्त गर्नुअघि र पछि जन्मिएका सन्तानको नागरिकताको प्रकार पनि कानुनअनुसार फरक भएको होला, जसको जवाफ कानुन र सरकारले दिन सक्छ।

६.२०१९ साल मङ्सिर २९ मा मेरो जन्म भएको हो, २०३६ भदौ २५ मा नागरिकता लिएको हुँ, उमेर कति लेखियो भन्ने अधिकार प्राप्त अधिकारीले जान्ने विषय हो, मेरो इच्छा र रोजाइले लेखाउन पाउने विषय होइन।

७.मेरो नागरिकतामा फाँटवालाले उमेर १८ वर्ष लेखेकामा प्रमाणित गर्ने अधिकारीले कोष्ठभित्र २०१९/०८/२९ भनेर थप स्पष्ट पारेका रहेछन्, थपिएको अक्षरलाई दुवैतिर हस्ताक्षरले बन्द गरिएको छ, जसमा रातो मसी प्रयोग भएको छ । फोटोकपी पाएका केही व्यक्तिले हस्ताक्षरलाई केरमेट भनी प्रचार गरेका छन्।

८.पत्र काटेर बोलाएको भए म नागरिकता बोकेर आफैँ उपस्थित हुने थिएँ, एक्कासि म अध्यक्ष रहेको सञ्चारमाध्यमको कार्यालयमा हतियारधारी प्रहरी परिचालन गरेर पक्राउ गरिएको छ, यो राज्यशक्तिको चरण दुरुपयोग हो।

९.यो कैलाश सिरोहियाको नागरिकताको विवाद हुँदै होइन, गृहमन्त्री रवि लामिछानेको दोहोरो नागरिकता, दुई देशका पासपोर्ट र सर्वसाधारणले गाँस कटाएर सहकारीमा बचत गरेको रकम हिनामिनाको समाचारमाथिको प्रतिशोध मात्र हो।

१०.राहदानी दुरुपयोग अनुसन्धानको विषय गृह मन्त्रालयअन्तर्गत पर्छ तर दुई देशका राहदानी बोकेर हिँडेका लामिछाने यो देशको गृहमन्त्री भएका छन् र सार्वभौम नागरिकलाई तर्साउने प्रयास गरिरहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.