कैलाश सिरोहिया पक्राउ पर्नुको ६ आधार

कैलाश सिरोहिया पक्राउ पर्नुको ६ आधार

काठमाडौं : नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता किर्तेमा पक्राउ गरेको जनाएको छ। सिरोहियालाई काठमाडौँको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यकक्षबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहोरियालाई पक्राउ गर्नुको ६ आधार रहेको उल्लेख गरेको छ। सिरोहोरियालाई नागरिकता किर्तेमा पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन भएको र लोकतन्त्र नै खतरामा परेका अभिव्यक्तिहरू सार्वजनिक भइरहँदा प्रहरीले विज्ञप्ति निकालेर पक्राउ गर्नुको ६ आधार रहेको उल्लेख गरेको हो।

सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएका थिए। तर नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु तेलीको नाउँमा जारी भएको देखिएको प्रहरीले उल्लेख गरेको छ।

सिरोहियाले पाएको वंशजको नागरिकताका विषयमा पनि प्रश्न उठेको छ। उनका पिता घाँसीराम सिरोहिया अङ्गीकृत नागरिक थिए। तत्कालीन कानुनअनुसार सिरोहियाले वंशजको नागरिकता लिन उनको क्राइटएरिया नपुग्ने प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका अनुसार प्राप्त जबाफमा बालिग रेकर्डमा विदेशी बाबु आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया) को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र (नाम प्रस्ट नभएको) कैलाश प्रसाद सिरोहियाको नागरिकता भने जन्मसिद्ध नेपाली रहेको देखिएको छ।

नागरिकता किर्ते प्रकरणमा पक्राउ परे सिरोहिया, मिडिया क्षेत्रलाई आतङ्कित बनाएको टिप्पणी

कैलाश सिरोहियाविरुद्ध गत वैशाख १६ गते नागरिकतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएको भोलिपल्ट सिरोहियाले विज्ञप्ति जारी गर्दै खण्डन गरेका थिए। २०१९ सालमा जन्मिएका सिरोहियाले उमेर नपुग्दै २०३४ सालमै कसरी नागरिकता लिए भन्ने प्रश्न उठ्यो। त्यसबेला नागरिकता लिने उमेर हद १८ वर्ष थियो।

२०३४ सालमा आफूले नागरिकता लिएको र त्यसको दुई वर्षपछि नागरिकता लिएका व्यक्तिको नम्बर मिल्नुमा आफ्नो कुनै दोष नरहेको सिरोहियाले दाबी गरेका थिए।

सिरोहियाले नागरिकताको प्रतिलिपि लिँदा जिल्ला प्रशासन कार्यालय धनुषाको रेकर्ड पुस्तिका (ढड्डा) मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको उल्लेख छ। जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको र उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको प्रहरीले निकालेको विज्ञप्तिमा लेखिएको छ।

सोही ब्यहोराको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्म मिति २०१९/०८/२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अङ्कको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएका उमेर र अन्य अङ्कहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्म मिति थपी किर्ते गरेको देखिएको छ।

सिरोहियाले प्रथम पटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६/०५/२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७/०६/२९ मा प्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्म मिति २०१९/०८/२९ लेखेको पाइएकोले उमेर, जन्म मिति र नागरिकताको जारी मितिबीच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकोले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको छ।

सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले निकालेको विज्ञप्तिमा लेखिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.